साझा पार्टी कास्कीमा खनाल, महानगर संयोजकमा गुरुङ

उपनिर्वाचनमा कास्कीमा साझा पार्टी अब्बल ठहरिनेछ ः मिश्र

पोखरा, २८ भदौ /साझा पार्टीले कास्की जिल्ला र पोखरा महानगर संयोजक घोषणा गरेको छ । पार्टीको कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङ चयन भएका छन् ।

शनिबार एक कार्यक्रमका बीच साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश संयोजक महेश भण्डारीले सँयुक्त रुपमा माटोको टिका लगाएर जिल्ला र महानगर संयोजक घोषणा गरेका थिए । ‘सम्बृद्ध र समुन्नत राज्यसँगै लोककल्याणकारी राजनीतिको परिकल्पना गरेर हामीले साझा पार्टीको राजनीति शुरुवात गरेका हौँ । र, यो अभियानमा जोडिन आउनुभएका साथीहरुलाई म विशेष धन्यबाद दिन चाहन्छु ।’

साझा पार्टीका केन्द्रीय संयोजक मिश्रले भने–‘संगठन विस्तारको अभियानमा हामी अगाडि बढिरहेका छौँ । र, वैकल्पिक राजनीति आवश्यक छ भन्ने चाहना राख्ने सम्पूर्णलाई म यो अभियानमा संलग्न हुन आह्वान समेत गर्दछु ।’

साथै उनले कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा साझा पार्टीले यो पटक बलियो उपस्थिती जनाउने बताए । ‘यो उपनिर्वाचनमा कास्कीका जनताले वैकल्पिक शक्तिको रुपमा उदाएको साझा पार्टीलाई जिताएर एउटा गतिलो सन्देश दिनेछन् । र, दुई तिहाईको यो भ्रष्ट सरकारलाई एउटा गतिलो झापड दिनेछन् ।’ उनले भने–‘अझै पनि मेरो या तेरो पार्टी भनेर उही पुरानै दललाई जिताउने हो भने विकास र सम्बृद्धिको बाटोमा देश अगाडि बढ्न सक्दैन । कास्कीका जनताले यो कुरा बुझ्नेछन् भन्ने मेरो विश्वास छ ।’

त्यस्तै साझा पार्टीका गण्डकी संयोजक महेश भण्डारीले कास्की जिल्ला र पोखरा महानगर संयोजकलाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिए । ‘संगठन विस्तारको यो अभियानको क्रममा दुबैजना संयोजक आबद्ध हुनुभएको छ । र, दुबैजनाले पार्टीको हितका लागि नेतृत्वमा रहेर आफूलाई अब्बल साबित गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’ भण्डारीले भने–‘उपनिर्वाचनको छेकोमा कास्कीको जिल्ला र महानगरमा संगठन विस्तार गरिरहँदा सोही अनुरुपको तयारी गर्न पनि म यहाँहरुलाई सुझाव दिन चाहन्छु ।’

साझा पार्टीको जिल्ला संयोजक घोषणा भएसँगै खनालले जिल्लाका सबै गाउँपालिकाहरुमा संगठन विस्तार अभियानलाई तिव्रता दिने बताए । ‘पार्टीको संगठनलाई स्थानियस्तरबाटै बलियो बनाउने कुरा मेरो प्राथमिकता रहनेछ । र, पार्टीले दिएको यो जिम्मेबारीलाई मैले सफलतापूर्वक निभाउन प्रयास गर्नेछु।’ खनालले भने ।

उनले पुराना राजनीतिक दलका क्रियाकलापबाट दिक्क भएर आफूले वैकल्पिक राजनीतिलाई रोज्न परेको बताए । उनले अहिलेको युवापुस्ताले पुराना राजनीतिक दललाई गाली गर्नुको साटो सिस्टम परिवर्तका लागि वैकल्पिक राजनीति गर्न आवश्यक रहेको बताए ।

साझा पार्टीको कास्की जिल्ला संयोजक बनेका खनाल राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् । कानुनको विद्यार्थी समेत रहेका खनाल युवा व्यवसायी पनि हुन् । उनी एक इन्भेष्टमेन्ट कम्पनीका अध्यक्षको रुपमा कार्यरत छन् भने आफ्नै लगानीमा होटल संचालन गरिरहेका छन् । सामाजिक अभियन्ताको रुपमा लामो समयदेखि संलग्न खनालले २५ भन्दा बढि देश भ्रमण गरिसकेका छन् ।

त्यस्तै साझा पार्टीको पोखरा महानगर सँयोजक बनेका गुरुङले नजिकिँदै गरेको उपनिर्वाचन भन्दा अगाडि नै महानगरका प्रत्येक वडामा संगठन विस्तार गरिसक्ने प्रतिबद्धता जनाए । ‘निर्वाचनको क्रममा हाम्रो पार्टीको बलियो उपस्थिती यो क्षेत्रमा हुनेछ । र, उपनिर्वाचनमा पार्टीको प्रभाव छाड्नका लागि प्रत्येक वडामा संगठन विस्तार गर्ने काम तिव्रताका साथ अगाडि बढाउनेछु ।’गुरुङले भने । साझा पार्टी पोखरा महानगरको संयोजक बनेसँगै आफूले ईमान्दारिताको राजनीतिमा जोड दिने प्रतिबद्धता जनाए ।

साझा पार्टीको पोखरा महानगर संयोजक बनेका गुरुङ कान्तिपुर एकेडेमीका प्राचार्य तथा संचालक हुन् । दीप यूनाइटेड क्लबका अध्यक्ष समेत रहेका गुरुङनेशनल प्याब्सनका कास्की जिल्ला सचिवसमेत हुन् । अध्ययन, भ्रमण र समाजसेवामा रुची राख्ने गुरुङ कास्कीको अर्मलामा जन्मिएका हुन् ।

साझा पार्टी कास्की जिल्ला र पोखरा महानगर संयोजक घोषणा कार्यक्रममा पार्टीका संगठन विभाग प्रमुख केशव दाहाल, केन्द्रीय सदस्य विकल शेरचन, शुशीला केसी अधिकारी, पार्टीका केन्द्रीय सदस्य तथा मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, पार्टीका युवा संगठन विभाग प्रमुख अब्दुस मियाँ, प्रदेश नम्बर १ का संयोजक अनिल भेटवाल लगाएतले शुभकामना दिएका थिए ।

त्यस्तै शनिबार भएको कार्यक्रमका बीच पार्टीमा नयाँ सदस्यहरुले पनि आबद्धता जनाएका थिए । पार्टीमा नयाँ सदस्यता लिएका व्यक्तिहरुको तर्फबाट रजनी केसी र एकनारायण न्यौपानेले आफ्नो धारणा राखेका थिए । वैकल्पिक शक्ति अहिलेको आवश्यकता भएको उनीहरुको तर्क थियो । साथै युवापुस्ताले वैकल्पिक राजनीतिलाई मुलधारमा ल्याउन सहयोग गर्नुपर्ने उनीहरुले बताएका थिए । कार्यक्रम साझा पार्टी कास्कीका सदस्य विश्वराज पौडेलले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...