सैनिक आवासीयमा छात्राका लागि पनि आवासीय सुविधाको तयारी

पोखरा, १ भाद्र /सैनिक कल्याणकारी कोषद्वारा पोखराको फुलबारीमा सञ्चालित सैनिक आवासीय महाविद्यालयले छात्राका लागि पनि आवासीय सुविधा दिने तयारी गरेको छ । छात्रहरूका लागि स्थापनाकालदेखि नै आवासीय सुविधा प्रदान गरेको महाविद्यालयले आगामी शैक्षिक सत्रदेखि छात्राका लागि पनि उक्त सुविधा प्रदान गर्ने सुधारात्मक शिक्षण विभाग प्रमुख सन्तोष चिलुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०६१ साल असार २९ गते फूलबारी ब्यारेकको उत्तर तर्फको खाली जमिनमा प्रिफ्याब घरहरू निर्माण गरी कक्षा ४ मा ३ सेक्सनमा १०८ जना विद्यार्थी लिएर महाविद्यालय सुरुवात गरिएको थियो । “छात्राका लागि आवासीय सुविधा नभए पनि पोखरा उपत्यका भित्र न्युनतम शुल्कमा विद्यालय बसको व्यवस्था भने गर्दै आएका छौं,” उहाँले भन्नुभयो, “छात्राहरूको सुविधाका साथै शैक्षिक गुणस्तरीयता, अनुशासित शैक्षिक वातावरण कायम गर्नका लागि छात्रावास बनाउने तयारी गरिएको हो ।”

महाविद्यालयमा कक्षा ६ देखि १२ सम्म हाल एक हजार २८८ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिदै उहाँले त्यस मध्ये ३३ प्रतिशत छात्रा रहेको बताउनुभयो । महाविद्यालयको नियम अनुसार कुल विद्यार्थी मध्ये ६० प्रतिशत नेपाली सेना अन्तर्गतका अधिकृत, पदिक, अन्य दर्जा र वीरगति प्राप्त सैनिकका छोराछोरी पढ्न पाउँछन् भने अन्य सर्वसाधारणका छोराछोरीका लागि ४० प्रतिशत छुट्याइएको छ ।

स्थापनाकालदेखि शैक्षिक गुणस्तरीयता अभिबृद्धिका साथै विद्यार्थीमा सामाजिक, नैतिक एवम् बौद्धिक विकास समेतलाई उच्च प्राथमिकतामा राखेका कारण महाविद्यालयमा अध्ययन गर्न विद्यार्थी तथा अभिभावकको निकै आकर्षण बढेको चिलुवालले जानकारी दिनुभयो । कक्षा ६ र ११ मा नयाँ विद्यार्थी भर्ना लिने गरिएकोमा निर्धारित कोटा भन्दा अत्याधिक संख्यामा विद्यार्थीले प्रवेश परीक्षा दिने गरेका छन् ।

यस शैक्षिक सत्रमा कक्षा ११ को व्यवस्थापन र विज्ञानका लागि निर्धारित १६०(विज्ञान ८०÷ व्यवस्थापन ८०) कोटाका लागि ६०० जना विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । कक्षा ११ र १२ को बोर्डमा उत्कृष्ट नतिजा ल्याउन सफल महाविद्यालयबाट व्यवस्थापन संकायमा स्थापना कालदेखि नै उत्कृष्ट नतिजा ल्याउन सफल बन्दै गएको जानकारी दिदै चिलुवालले कास्की जिल्लामा सर्वोत्कृष्ट अंक ल्याएर जिल्लामा नै सर्वोत्कृष्ट बनेको दावी गर्नुभयो ।

उहाँका अनुसार २०७२÷०७३ देखि विज्ञान संकायको पनि कक्षा सञ्चालन गरेको महाविद्यालयले प्रथम ब्याचमा नै उत्कृष्ट नतिजा ल्याएर कास्की जिल्लामा नै प्रथम स्थान ओगटेका कारण कास्की जेसिज र जर्जजोन शिक्षा प्रतिष्ठानबाट विद्यार्थीहरू सम्मानित बनेका थिए । त्यस्तै इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षामा महाविद्यालयबाट उत्तिर्ण विद्यार्थी सन्दीप दहाल प्रथम पटकमा नै दोस्रो स्थान ओगट्न सफल बन्नुभएको चिलुवालले बताउनुभयो ।

समसामयिक पुस्तक सहितको आकर्षण पुस्तकालय, अत्याधुनिक सुविधासम्पन्न विज्ञान प्रयोगशाला, कक्षाकोठामा अत्याधुनिक प्रविधिको प्रयोग मार्फत अध्यापन, सुविधा सम्पन्न कम्प्युटर ल्याव महाविद्यालयका विशेषता हुन् ।
तालिमप्राप्त प्रशिक्षकद्वारा खेलकुदका छुट्टाछुट्टै विधाको तालिम, नियमित अतिरिक्त क्रियाकलाप, समाजिक जीवनका सफल व्यक्तिसँग समय समयमा अन्तरक्रिया, नियमित सेमिनार, कार्यशाला र विषय विज्ञबाट कक्षा सञ्चालन गर्दै आइएको जनाइएको छ ।

अतिरिक्त क्रियाकलापका क्षेत्रमा ध्यान योगका कक्षा, मनोसामाजिक परामर्श, हाइकिङ, ट्रेकिङ, क्याम्पिङ, शैक्षिक भ्रमण आदिका कारण विद्यार्थीमा अतिरिक्त ज्ञान र अनुभव प्राप्त गर्ने व्यवस्था महाविद्यालयले गरेको चिलुवालले बताउनुभयो ।

कमेन्टहरु
Loading...