पोखरामा सफल एक्स्पो पोखरा बिहीबारदेखि, तयारी पूरा

पोखरा, १२ मंसिर/ पोखरामा बिहीबार देखि सुरु हुने सफल एक्स्पो पोखरा तथा तेस्रो मोवाइल मेलाको तयारी पुरा भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा विगत वर्षहरुमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिमार्जित रुप ‘सफल एक्स्पो पोखरा’ पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मंसीर २४ गतेसम्म सञ्चालन हुने छ ।

एक्स्पोमा ३ सय स्टल रहने र सम्पूर्ण स्टल बुकिङ भइसकेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए । एक्स्पोमा पोखरासहित सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा सघाउ र्पुयाउनु उनको भनाई छ ।

एक्सपोमा मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकलाका सामग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनहरु, रेष्टुरेण्टहरु रहने पोखरा उद्योग वाणिज्य संघका महासचिब अर्जुन पोख्रेलले जानकारी दिए ।

एक्स्पोमा पहिलोपटक छुट्टै औद्योगिक पेभेलियन राखिने भएको छ । औद्योगिक पेभेलियनमा पोखरा औद्योगिक क्षेत्रका २० वटा उद्योगका स्टल रहने उनले बताए । पोखरा पर्यटन परिषदसँगको सहकार्यमा स्टल राखेर पोखराका पर्यटकीय क्षेत्रहरुको जानकारी, एडभेञ्चर स्पोर्टससँग सम्बन्धित प्याराग्लाईडिङ्ग, बञ्जी जम्प, जीप फ्लयार, क्यानोनिङ, हट बेलुन लगायत बारे जानकारी दिइने उनले बताए ।

त्यस्तै होमस्टेको पनि स्टल रहने उनले उल्लेख गरे । यसैगरी एक्स्पोको अर्को आकर्षण भनेको मोवाइल मेला हो । मोवाइल वितरक संघ गण्डकीसँगको सहकार्यमा छुट्टै मोवाइल पेभेलियन राख्न लागिएको हो ।

मोवाइलका २० स्टल रहने र त्यहाँ मोवाइलका नयाँ नयाँ मोडलहरुको प्रदर्शनी, मोवाइल एक्सचेञ्ज अफर, नयाँ ब्राण्डका मोवाइलको उपलब्धता, मोवाइलको फिचर्स तथा फेसिलिटीबारे जानकारी गराइने मोवाइल बिक्रेता संघ गण्डकीका अध्यक्ष शिवराज पहारीले जानकारी दिए ।

एक्स्पोमा

लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगीतिक कार्यक्रम, लोकनृत्य, रत्यौली, विद्यालय स्तरीय एकल र सामूहिक नृत्य प्रतियोगिता, लोपोन्मुख सांस्कृतिक झाँकी र नाचहरुसहित हास्यव्यङ्ग्य कार्यक्रम हुने छन् ।

एक्स्पोको प्रवेश शुल्क ६० रुपैयाँ तोकिएको छ भने विद्यार्थीलाई ४० रुपैयाँ राखिएको छ । प्रवेश टिकटमा दैनिक पुरस्कार राखिएको छ भने अन्तिममा एक जनालाई बम्पर उपहार हिरो ड्युट स्कुटर प्रदान गरिने उनले बताए । पोखराको औद्योगिक घराना लक्ष्मी समूहको सफल ब्राण्ड टाइटल स्पोन्सर रहेको एक्सपोबाट ९० लाख संकलन गरेर ६० लाख खर्च गरी ३० लाख बचत गर्ने लक्ष्य राखिएको छ ।

सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म
सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म

 

कमेन्टहरु
Loading...