सञ्चार जगत अनुसन्धानमुलक हुनुपर्छ – मुख्यमन्त्री गुरुङ, उत्कृष्ट सम्मानीत

पोखरा, ७ फागुन /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले सञ्चार जगत अनुसन्धानमुलक हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सवका अवसरमा रासस गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित ʿमुलुकको सङ्घीय संरचनामा राससको भूमिकाʾ विषयक अन्तरक्रिया एवम् सम्मान कार्यक्रममा उहाँले समाचार राजनीतिक र मनोरञ्जनात्मक मात्र नभई बर्तमान परिप्रेक्ष्यमा जनताका आवाजलाई मुखरित गर्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकारले आफ्नै सञ्चार नीति बनाउने तयारी गरेको उल्लेख गर्दै उहाँले राष्ट्रिय एकताका लागि योगदान गर्ने भूमिकाको आवश्यकता औंल्याउनुभयो । परिवर्तित संरचना अनुसार प्रदेश सरकार विकासको जग बसाउने काममा लागेको स्पष्ट पार्दै मुख्य मन्त्री गुरुङले भन्नुभयो, “२०४७ सालदेखि ०७४ सालसम्म भएको विकास यस सरकारले पाँच वर्षमा नै पूरा गरेर देखाउने छ ।”

राससका पूर्वअध्यक्ष कोमलनाथ बरालले लिथो मेसिनबाट सुरु राससको समाचार सेवा अहिले कम्प्युटर युगमा प्रवेश गरेको प्रसङ्ग उल्लेख गर्दै रासस ʿसमाचारको बैंङ्कʾको रुपमा स्थापित रहेको बताउनुभयो । विश्वका अधिकांश मुलुकमा समाचार समिति रहेको उल्लेख गर्दै उहाँले राससले राज्यको आधिकारिक धारणाका साथै राष्ट्रिय एवम् अन्तराष्ट्रिय महत्वको विषयमा सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै आएको चर्चा गर्नुभयो ।

उहाँले सङ्घीय प्रणालीमा मुलुक गईसके पछि आगामी दिनमा केन्द्रीय कार्यालयको मातहतमा रहने प्रादेशिक समाचार समितिको स्थापना हनुपर्ने र यसका लागि प्रदेश सरकारलाई लगानी गर्न आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला संयन्त्र सदस्य दामोदर बैरागीले समाचारको ʿमूलʾ रासस भएको बताउँदै समाचारहरू समाज र उत्पादनलाई योगदान दिने किसिमका हुनुपर्ने धारणा राख्नुभयो ।

प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतिकले सञ्चार क्षेत्रमा राससको महत्वपूर्ण योगदान रहेको बताउँदै समय सापेक्ष गुणस्तरीय समाचार सेवाको आवश्यकता औंल्याउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले रासस खोजमुलक समाचार तर्फ केन्द्रित बन्नुपर्ने सुझाव दिनुभयो ।

रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका पूर्वप्रमुख नारायण कार्कीले रासससँगका अनुभव स्मरण गर्दै ग्रामीण एवम् विकट वस्तीका समाचारमा जोड दिनुपर्ने बताउनुभयो । स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले राससका समाचार अनाधिकृत प्रयोग एवम् तोडमोड गर्ने प्रबृत्ति देखिएको बताउँदै यस तर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेलले राससलाई मानवीय रुचि र चासोका विषयमा पनि केन्द्रित हुनुपर्ने आवश्यकता माथि प्रकाश पार्नुभयो । सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष स्मिता अधिकारी र क्रियाशिल महिला पत्रकार सञ्जाल कास्की अध्यक्ष सरिता तिमल्सिना(पगेनी)ले राससलाई आगामी दिनमा अझै महिला मैत्री बनाउनुपर्ने सुझाव दिनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले रासस राष्ट्रको धरोहर भएको प्रसङ्ग उल्लेख गर्दै समाचारमा राससको स्रोत नखुलाउने प्रबृत्तिलाई निरुत्साहित पार्नुपर्ने बताउनुभयो । गोरखापत्र संस्थानका पूर्वसञ्चालक सदस्य नवराज सुवेदीले रासस राजनीतिक समाचारतर्फ भन्दा समसामयिक जीवनका समाचारतर्फ केन्द्रित बन्नुपर्ने बताउनुभयो ।

रासस गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख प्रभाषचन्द्र झाको सभापतित्व एवम् उपसमाचारदाता वासुदेव पौडेलको सञ्चालनमा रहेको कार्याक्रममा सञ्चार केन्द्र पोखराका प्रमुख तुलसीप्रसाद आचार्य, कर्मचारी सञ्चय कोष पोखराका प्रमुख दिलिप पौडेल, रेडियो नेपाल गण्डकी प्रदेश प्रशारण केन्द्र पोखराका निमित्त प्रमुख खेम सारु मगर, टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेल लगायतले राससको महत्व माथि प्रकास पार्नुभएको थियो ।

सञ्चारकर्मी सम्मान

सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले विभिन्न विधामा उत्कृष्ट सञ्चारकर्मीलाई नगद तथा प्रशंसापत्रबाट सम्मान गर्नुभयो ।

सम्मानित हुनेहरूमा उत्कृष्ट आलेखतर्फ रासस गण्डकी प्रदेश कार्यालयका उप समाचारदाता वासुदेव पौडेल र मुस्ताङका स्थानीय समाचारदाता निरज थकाली हुनुहुन्छ ।

त्यस्तै उत्कृष्ट स्थानीय समाचारदाताबाट पुरस्कृत हुनेमा पर्वतका लक्ष्मीप्रसाद सापकोटा हुनुहुन्छ भने उत्कृष्ट तस्वीर तर्फ तनहुका कृष्ण न्यौपाने हुनुहुन्छ ।

कमेन्टहरु
Loading...