पोखराको रत्न मन्दिर खुलाउने प्रदेश सरकारको तयारी

पोखरा, ३० साउन/ गण्डकी प्रदेश सरकारले पोखरामा रहेको रत्न मन्दिरलाई संग्रालय बनाएर पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने तयारी गरेको छ । प्रदेश सरकारले पोखराको लेकसाईडमा रहेको रत्न मन्दिर र हिमागृह सर्वसाधारणको लागिग खुल्ला गर्ने तयारी गरेको हो ।

नेपाल ट्रष्ट मातहतमा रहेका रत्न मन्दिर र हिमागृहलाई केन्द्रिय सरकार सँग छलफल गरी पर्यटकका लागि खुल्ला गर्ने तयारी भईरहेको गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए ।

‘हाम्रो प्रदेशको पर्यटकीय केन्द्र फेवाताल किनारको रत्न मन्दिरलाई संग्रहालयको रुपमा विकास गर्ने हाम्रो योजना छ,’ मन्त्री लम्सालले भने, ‘यहाँ संसारभरका पर्यटकलाई नेपालको शासन सत्ताका बारेमा अध्ययन गर्ने र शासकको निजी जीवन हेर्ने एक संग्रहालय बनाई रत्न मन्दिर खुल्ला गर्ने तयारी छ ।’ यसलाई लेक म्युजियम र जैविक विविधता अध्ययन गर्ने स्थल बनाउँदै अन्य पर्यटकीय गतिविधि बढाउन सकिने उनको भनाई छ ।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल
उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल

नेपाल ट्रष्ट सञ्चालक समितिको अध्यक्ष गृहमन्त्री रहने प्रावधान रहेको छ । मन्त्री लम्सालले नेपाल सरकार सँग छलफल गरी रत्न मन्दिरलाई संग्रालयको रुपमा विकास गरी प्रदेश मातहत ल्याउन पहल गरेको बताए । उनले रत्न मन्दिरलाई व्यवस्थापन गरी केही महिना भित्रमानै खुल्ला गरी पर्यटकको आकर्षण बढाउने उल्लेख गरे । रत्न मन्दिर खुलाउने बिषयमा मन्त्री लम्साल र सामाजिक विकास मन्त्री नरदेवी पुनले यसको अवलोकन गरेका थिए ।

पूर्वराज परिवारले विन्टर प्यालेसका रुपमा प्रयोग गर्दै आएको रत्न मन्दिरलाई शाहवंसीय राजतन्त्रको प्रतिकका रुपमा संग्रालय बनाएर सर्वसाधारणका लागि खुल्ला गर्नुपर्ने स्थानियवासीको माग रहदै आएको छ । रत्नमन्दिर पूर्व राजपरिवारका सदस्यहरु पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो ।

रत्न मन्दिरमा यस्तो बन्दै छ सम्पदा तथा जैविक विविधता पार्कराजा स्व. वीरेन्द्र शाहको नाममा रहेको रत्नमन्दिर २०६३ सालको राजनीतिक परिवर्तनसँगै त्यसको एक बर्ष पछि मन्त्रिपरिषद्को निर्णयले नेपाल ट्रष्टको स्वामित्वमा ल्याएको थियो ।

वि.सं. २०१४ सालमा राजा महेन्द्रले आफ्नी कान्छी श्रीमती रत्नको नामबाट पोखरा आउँदा जाँदा बस्न मिल्ने गरी यो दरबारको निर्माण गर्न लगाएका थिए । रत्न मन्दिरलाई हिँउदे दरबारको रुपमा समेत नामाकरण गरिएको थियो ।

महेन्द्रका पालामा बनेको दरबार पछि पुस्तान्तरण हुँदै रत्न मन्दिर राजा विरेन्द्रको नाममा आएको थियो । एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर २०६७ सालदेखि नेपाल ट्रष्टको स्वामित्वमा छ ।

रत्न मन्दिर र हिमागृह कस्तो छ ?

दरबारभित्र के–कस्ता सामान छन् ? नेपाल सरकारको मातहतमा आएको दशक बित्दा पनि आमनागरिक यस दरबारबारे थाहा पाउनबाट वञ्चित छन् । जबकी, काठमाडौँमा नारायणहिटी दरबारलाई उहिल्यै संग्रहालय बनाएर जनताका लागि खुला गरिसकिएको छ ।

राजतन्त्रको अन्त्यसँगै सुरुमा यसलाई नेपाली सेनाको पृतना बनाउने योजना अघि सारिएको थियो । कहिले अतिथि गृह, निजी क्षेत्रलाई भाडामा दिने, जैविक विविधता पार्क, ताल संग्रहालय, पर्यटकीय सूचना केन्द्र बनाउने त कहिले विदेशी संस्थालाई भाडामा दिने, अन्तर्राष्ट्रिय अध्ययन केन्द्र बनाउने पहल पनि भए ।

पाँचतारे होटल, अगार्निक गार्डेन, क्लब र टुरिस्ट मार्केट लगायतका विकल्प पनि अघि सारियो । तर, सबै व्यापारिक प्रकृतिका भएकाले स्थानीयले विरोध गरेका थिए ।

वन मन्त्रालयले जर्मनीको नेचुरल हिस्ट्री म्युजियमसँग मिलेर ‘इन्टरनेसनल सेन्टर फर हिमालयन बायोडाइभर्सिटी सेन्टर खोल्ने योजना पनि अघि सारेको थियो । त्यो पनि त्यत्तिकै थन्कियो ।

रत्न मन्दिरमा यस्तो बन्दै छ सम्पदा तथा जैविक विविधता पार्कस्थानीयको एउटै माग छ– रत्न मन्दिरलाई संरक्षण र सम्पदा क्षेत्र घोषणा गरी जैविक विविधता पार्क र संग्रहालय बनाएर जनताका लागि खुला गर्नुपर्छ ।
रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् ।

पुरानै अवस्थामा रहेको यसको सरसफाइलगायत रेखदेखमा केही कर्मचारी खटिएका छन् । प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन पनि छ । बंगला शैलीको रत्न मन्दिरमा बेतका खाटलगायत घरायसी र सजावटका सामान छन् ।

राजा महेन्द्रले भारतबाट ल्याएका पलङलगायत बेतबाट बनाइएका फर्निचरहरू अहिले पनि त्यहीँ छन् । उतिबेला पोखरामा होटल थिएनन् । दरबारले विदेशी पाहुनासमेत यहीँ राख्थ्यो । तालघरमा तत्कालीन राजाहरूले विदेशी पाहुनासँग भेट गर्थे ।

नेपालका लागि विभिन्न देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र चढाउने कार्यक्रम पनि यहीँ हुन्थ्यो । बेलायती महारानी, चीनका राष्ट्रपतिलगायत बसेको रत्न मन्दिरमा बस्ने नेपालका एक मात्र प्रधानमन्त्रीचाहिँ बीपी कोइराला थिए ।

उनी राजा महेन्द्रको पालामा विशिष्ट पाहुना बनेर यहाँ आएका थिए । यसबारे बीपीले आफ्नो आत्मवृत्तान्तमा पनि लेखेका छन् । राजा महेन्द्र भ्रमण क्रममा पोखरा आएका बेला ताल किनारमा बसेपछि ठाउँ मन परेर यहाँ रत्न मन्दिर बनाएका थिए ।

स्थानीयसँग जग्गा किनेर विसं ०१३ मा निर्माण सुरु भएर ०१५ मा रत्न मन्दिरको निर्माण सम्पन भएको हो । १ सय १४ रोपनी क्षेत्रफलमा फैलिएको यहाँ हेलिप्याडसमेत छ ।

०५८ मा राजा वीरेन्द्रको वंशनाश भएपछि यो दरबारमा चहलपहल कम हुँदै गयो । दरबार हत्याकाण्डको रात तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र यहीँ बसेका थिए । राजा भएपछि केही समय यहाँ बसेका उनी दोस्रो जनआन्दोलन ०६२/०६३ का बेला पनि तीन महिना पहिलेदेखि यहीँ बसेका थिए ।

१९ माघ ०६१ को कदमपछि उनले राजा वीरेन्द्र र दरबारका नाममा रहेका अधिकांश दरबार, सम्पत्ति आफ्नो नाममा हक सारेका थिए । तर, रत्न मन्दिर भने वीरेन्द्रकै नाममा रहेकाले नेपाल सरकारको स्वामित्वमा आउन सकेको हो ।

हिमा गृह

हिमागृह
हिमागृह

रत्न मन्दिरभन्दा केही पूर्वमा छ, हिमा गृह । यो पनि नेपाल ट्रस्टको स्वामित्वमा आइसकेको छ । राजा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रमका नाममा हिमा गृह बनेको थियो ।

९ पुस ०३८ मा अधिराजकुमार हिमालयबाट पत्नी प्रिन्सेप शाहलाई उक्त घर उपहार दिइएको थियो । १० कात्तिक ०४६ मा प्रिन्सेपबाट राजा वीरेन्द्रका नाममा हक कायम गरिएको थियो । फेवाताल किनारमै अवस्थित हिमा गृहको क्षेत्रफल १० रोपनी ४ आना छ ।

कमेन्टहरु
Loading...