पोखरामा १३ खेलमैदान बनाउन १ करोड ३५ लाख रुपैयाँ

पोखरा, १ चैत/राष्ट्रिय खेलकुद परिषदले पोखरा महानगरपालिका , माछापुच्छ«े तथा अन्नपुर्ण गाउँपालिकाका विभिन्न खेलमैदानको लागि १ करोड ३५ लाख रुपैयाँ बजेट निकासा गरेको छ ।

परिषदले विभिन्न १३ वटा खेलमैदानको लागि ५ देखि १५ लाखरुपैयाँसम्म बजेट छुट्टाइएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीमा प्राप्त परिपत्र अनुसार पोखराको पुरानो टुडिखेल खेल मैदान निर्माण र पोखरा महानगरपालिका १९ स्थित महेन्द्र मावि खेल मैदान निर्माण गर्न १५÷१५ लाख रुपैयाँ विनियोजन भएको छ ।

‘१३ वटा खेलमैदान निर्माणको लागि बजेट विनियोजन भएको पत्र प्राप्त भएको छ ।’ जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘यो आर्थिक वर्षभित्रमा काम सक्ने गरी परिषदले पठाएको छ, त्यसै अनुसार हामीले तोकिएको स्थलको अध्ययन एवं अनुगमन गर्ने छौं ।’ उनका अनुसार छुट्टिएको बजेट अनुसार सम्बन्धीत खेल मैदानको स्थलगत अध्ययन गरेर स्थानीय उपभोक्ता निर्माण समिति निर्माण गरी समितिले लागत इष्टिमेट गरेसँगै बजेट निकासा गरिने छ ।

परिषदले माछापुच्छ«े गााउँपालिका २ स्थित गैरखोर खेल मैदान निर्माणको लागि १० लाख रुपैयाँ छुट्टाइएको छ । अन्नपुर्ण गाउँपालिका–४ बहादुरे माविको खेल मैदान निर्माण गर्न १० लाख, पोखरा टुडिखेल खेल मैदानको लागि १५ लाख, दिव्यदृष्टि युवा क्लब खेलमैदान निर्माण हेमजालाई १० लाख, बेगनास खेल मैदान निर्माण गर्न १० लाख, अन्नपुर्ण गाँउपालिका ६ स्थित ढावा सेभेन ए साईड फुटबल मैदान निर्माण गर्न १० लाख रुपैयाँ निकासा गरिएको छ ।

यसैगरी मालेपाटन खेल निर्माणको लागि १० लाख, पुम्दीभुम्दीस्थित शुक्र मावि खेल मैदानको लागि १० लाख, महेन्द्रमावि खेल मैदान निर्माण गर्न १५ लाख, माछापुच्छ«े ६ स्थित पृथ्वीनारायण माविलाई १० लाख, अन्नपूर्ण–८ बाकोट आधारभूत विद्यालय खेल मैदान बनाउन १० लाख, पोखरा १६ बाटुलेचौरस्थित इण्डोर खेल मैदान निर्माण गर्न १० लाख र पुम्दीभुम्दीस्थित उल्लेरी खेलमैदान निर्माण गर्न ५ लाख रुपैयाँ विनियोजन भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरालले जानकारी दिए ।

उनका अनुसार विद्यालयस्तरीय देखि नै खेलकुदको विकास र विस्तारसँगै खेलाडी उत्पादन गर्ने अभियानलाई सार्थकता प्रदान गर्ने उद्देश्य अनुसार विनियोजन अधिकांश बजेट विद्यालयको खेलकुद मैदान निर्माणको लागि छुट्टाईएको हो । असार मसान्तसम्म विनियोजित बजेटबाट काम फत्ते गर्नुपर्ने जिम्मेवारी भने उपभोक्ता समितिको काँधमा परेको उनको भनाई थियो । ‘एक निर्वाचन क्षेत्र एक खेल मैदानको नीतिलाई अबलम्बन गर्दै बजेट विनियोजन भएको हो ।’ कार्यालय प्रमुख बरालले भने ।

बडहर बोट इण्डोर खेलकुद मैदान उपभोक्ता समितिका सचिव नन्दु शर्मा तिमिल्सिनाले इण्डोर हलको लागि छुट्टाइएको १० लाख रुपैयाँले पर्खाल निर्माण, ढलान लगायतका काम गरिने बताए । सरकारी तथा स्थानीयस्तरको आर्थिक सहयोगबाट समितिले झण्डै १ करोड ५० लाखको लागतमा इण्डोर हल निर्माणलाई टुग्याउने योजना बनाएको छ । सरकारी तबरबाट ३५ लाख रुपैयाँ निकासा भईसकेको छ । स्थानीयस्तरबाट ३० प्रतिशत काम गरिने उनले जानकारी दिए ।

१०१ फिट लम्बाई र ५४ फिट चौडाईको इण्डोर हलमा तीन वटा व्याडमिन्टन कोर्ट बन्ने छ । १० फिटको स्टेज समेत निर्माण गरिएको छ । तीन स्टेपको झण्डै १ सय जना दर्शक अटाउने सिमेन्ट प्यारापिट समेत निर्माण गरिने याजना समितिले बनाएको उनले बताए । उनका अनुसार भईरहेको बास्केटबल कोर्टलाई स्तरोन्नति गरिएको हो । हलको छानो छाउनेदेखि, सिटी बनाउने, पर्खाल निर्माण गर्ने लगायतका काम बाँकी छन् ।

छुट्टाईएको बजेट युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको निर्वाचन क्षेत्रभित्र पर्छन् । पोखरा मालेपाटन खेल मैदानको लागि छुट्टाइएको १० लाख रुपैयाँ बास्केटबल कोर्ट निर्माणमा खर्च गरिने पोखरा महानगरपालिका वडा नं ५ का वडाध्यक्ष धनबहादुर नेपालीले बताए । ‘फुटबल मैदान छ, भलिबल कोर्ट पनि छ । अब परिषदले दिएको बजेट बास्केटबल कोर्टमा निर्माणमा खर्च हुने गरी निर्णय गरिने छ ।’ उनको भनाई थियो । बास्केटबल कोर्ट भने नेपाल भुतपुर्व सैनिक तथा प्रहरी सेवा समितिले निर्माण कार्य शुरु गरेको हो । परिषदले नै उपलब्ध गराएको ४० लाख रुपैयाँले मालेपाटन खेलमैदान संरक्षण्को गर्न तारजाली लगाइएको हो । १५ लाख रुपैयाँको लागतमा भलिबल कोर्ट निर्माण गरिएको छ ।

परिषदले पोखरा महानगरपालिका भण्डारढीक खेलमैदानमा निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हलको लागि दुई वर्षयता कुनैपनि बजेट विनियोजन गरेको छैन् । बजेट विनियोजन नहुदाँ कभर्ड हल जगको फाउण्डेशन मात्रै पुरा भई अलपत्र अवस्थामा छ । परिषदले उपलब्ध गराएको ५० लाख बजेटबाट काम शुरु गरिएको थियो । जुन बजेट फाउण्डेशन निर्माणमै खर्च भएपछि आर्थिक अभावले अहिलेसम्म काम अगाडि बढ्न नसकेको स्थानीय आदर्श युवा क्लब भण्डारढीकले जनाएको छ ।

कमेन्टहरु
Loading...