पोखरा १६ घोरकुना पुलको शिलान्यास

पोखरा, ५ असोज/ पोखरा महानगरपालिका वडा नम्बर १६ को तुम्के घोरकुना खोलामा पक्की पुल बन्ने भएको छ । पोखरा महानगरपालिकाले साविक अर्मला गाविसको घोरकना खोलामा पुल निर्माण गर्न लागेको हो । मोटेरेबल पुलको आइतबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे ।

कार्यक्रमका बोल्दै मुख्यमन्त्री गुरुङले विकासको चरण सुरु भएको बताए । उनले राजनीतिक अधिकार प्राप्त भइसकेकाले अब विकासलाई गति दिन तीन वटै सरकार लागि परेको बताए । विकास निर्माणको काम गर्दा सत्ता पक्ष र प्रतिपक्ष नहुने भन्दै सबैलाई समेटेर विकासमा फड्को मार्नु नै अहिलेको आवश्यकता भएको बताए ।

कार्यक्रममा प्रदेश सांसद विन्दकुमार थापाले सरकारको रचनात्मक काम र विकासमा सदैव सहयोग गर्ने बताए । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले काममा गुणस्तर कायम गर्न कुनै सम्झौता हुने बताए । पुल निर्माणलाई त्यहाँका स्थानीय बासिन्दाको आर्थिक उपार्जनसँग जोडेर हेर्नुपर्ने बताए । जनताले तिरको करबाट नै महानगरले पुल निर्माण गर्न लागेकाले पुल निर्माणमा निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरे ।

पूर्व सांसद सोमनाथ अधिकारी प्यासीले पुल निर्माणले त्यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । पोखरा महानगरपालिकाका इन्जिनियर धु्रव भट्टराईले २०७७ साल मंसिर ८ गते निर्माण सक्ने गरी महानगरले फेवा पिएलजेभी पोखरासँग सम्झौता गरेको बताए । उनका अनुसार महानगरले पुल निर्माणको अनुमानित लागत ४ करोड ६५ लाख गरेकोमा निर्माण कम्पनीले उक्त रकममा २१ प्रतिशत घटेर ३ करोड ३० लाखमा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । पुल २५ मिटर लम्बाइ र ५ मिटर चौडाइको हुनेछ ।

कार्यक्रममा निर्माण कम्पनीका प्रेम पहारीले पुललाई समयमै निर्माण गरीसक्ने प्रतिवद्धता व्यक्त गरे । पुल निर्माणपछि घोरकुना, अर्मलाकोट लगायतका ठाउँका स्थानीयबासी लाभाम्वित हुनेछन् । पोखरा महानगर वडा नम्बर १६ का अध्यक्ष जीवनप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद अचार्यले बोलेका थिए ।

कमेन्टहरु
Loading...