पोखरामा सरकारी विकासको नमुना, नाला खनेर फेरी पुरीयो

पोखरा, २४ जेठ /नेपालमा आर्थिक वर्ष साउनबाट शुरु हुन्छ । असार नजिकिँदै गर्दा आर्थिक बर्षको अन्त्यतिर अधिकांश निर्माणका कामको ठेक्का लाग्छ, यो पूरानै रोग हो ।

एकसाता अघि पोखराको पृथ्वीचोक वरिपरी नाला खनियो । संघीय कार्यान्वयन इकाईले हाल भैरहेको नाला सार्नका लागि सरस्वती निर्माण सेवालाई ४२ लाख रुपैयाँमा ठेक्का दियो । कोरिडोर सुधार शीर्षकबाट सडक डिभिजन कार्यालयसँगको समन्वयमा काम गरिएको इकाईका प्रमुख नारायण भण्डारीले बताए । तर नाला खनेर नसकिँदै भोलीपल्टै पुरिएको छ ।

‘सडक डिभिजनसँग सल्लाह गरेरै नाली खनिएको हो । अहिले मापदण्ड पुगेन भन्नुभयो । त्यसैले पुरेका हौं,’ उनले भने, ‘अब अर्को ठाउँबाट काम गरौंला ।’ नाला खन्न र पुर्न मात्रै ठेकेदारले ४ लाख हाराहरीमा खर्च भैसकेको दावी गरेका छन् । अहिले सम्मको खर्च कार्यालयको विविध शीर्षकबाट मिलान गराउने भण्डारीले बताए ।

‘काम थाल्ने बेलामा अहिले भैरहेको ठाउँबाट नाला बनाउन भन्नुभयो । खनेर सकेपछि मापदण्ड पुगेन भनेर रोक्नुभयो । डिभिजन कार्यालयकै निर्देशनपछि त्यत्तिकै पुरिएको हो,’ इञ्जिनियर सूर्य बरालले भने, ‘अनावश्यक ठाउँमा पैसा खर्च भयो ।’

‘डिभिजन सडक कार्यालयका प्रमुख हरिकुमार पोखरेलले मापदण्ड नपुगेपछि काम रोकेको बताए । राजमार्गमा हेर्ने सडकले हो । संघीय कार्यान्वयन इकाईको खातामा पैसा रहेछ । काम गर्छु भन्नुभयो । रोक्ने कुरा भएन,’ उनले भने, ‘तर पैसा छ भन्दैमा जता पायो उतै खनेर त भएन नि । सेण्टरलाईनबाट १५ मिटर न्यूनतम मापदण्ड हुनुपर्छ । अहिले २ मिटर सारेर काम छैन ।’

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा पोखरादेखि मुग्लीनसम्मको सडक ४ लेनको बन्दैछ । शहरी क्षेत्रमा ६ लेनको सडक सहित ड्रेन निर्माण गरिनेछ । तर केही सरकारी कार्यालयहरुले आँफुखुशी टेण्डर निकालेर सडक विस्तार र स्तरोन्नतीको काम गरिरहेका छन् । मुस्ताङचोक देखि राष्ट्रबैंक चोकमा पनि सडक डिभिजनसँग समन्वय नै नगरि काम भैरहेको पोखरेलले बताए ।

डिभिजन सडक कार्यालयले पनि चाउथेमा ४ लेनभित्रै पर्ने गरि स्वागत गेट निर्माण गर्दैछ । चाउथे र छोरेपाटनमा सूचना बोर्ड सहितको स्वागत गेट बनाउन ३० लाख विनियोजन भएको डिभिजन सडक पोखराले जनाएको छ । कार्यालय प्रमुख पोखरेलले चाहीँ एडीवीसँग सल्लाह गरेरै गेट बनाउन लागेको बताए ।

‘सूचना बोर्ड सडकमा नभै नहुने कुरा हो । धेरै पहिले बनाईसक्नुपथ्र्यो,’ उनले भने, ‘आवश्यक्ताको महशुस गरेर नै बजेट छुट्याईएको हो ।’ २ बर्षअघि पनि सडक डिभिजनले बुद्धचोक र अमरसिंह चोक क्षेत्रमा ड्रेन (नाला) बनाएको थियो । त्यतिबेला बनाईएको ड्रेन अहिले सडक विस्तार गर्दा भत्काएर सारिएको छ ।

कमेन्टहरु
Loading...