जग्गा भाडामा लिएर पोखराको दुई ठाउँ स–शुल्क पार्किङ

पोखरा, ६ असार/पोखरामा पार्किङको समस्या छ । पार्किङ नपाउँदा सर्वसाधारण एकातिर सवारी साधन राखेर गन्तव्यसम्म पुग्नुपर्ने बाध्यता छ । महानगरपालिकाले सवारी पार्किङ व्यवस्थित गर्ने सार्वजनिक सूचना नै गरेपनि पहलकदमी नै हुन सकेको छैन् ।

सवारी पार्किङले आक्रान्त बनिरहँदा निजी कम्पनीले पोखराको दुई ठाँउमा स–शुल्क पार्किङको व्यवस्था गरेको छ । पोखरामा पार्किङको लागि कम्पनी नै दर्ता गरी स–शुल्क शुरु गरिएको यो पहिलो हो ।

बढ्दो सवारी साधनले सडक साँघुरिदैं गएको अवस्थामा सडकमै दोहोरो पार्किङ हुने प्रवृत्ति छ । दैनिक जसो सवारी साधन बढ्ने क्रमले विकराल बन्दै गएको अवस्थामा फिस्टेल प्रि पेड पार्किङ कम्पनीले स–शुल्क पार्किङ सेवा शुरु गरेको हो । कम्पनीले पोखरा–४ गैह्रपाटनस्थित फिस्टेल हस्पिटलसँगै रहेको खुल्ला क्षेत्रलाई पार्किङस्थलको रुपमा शुरु गरिएको जनाएको छ ।

‘पोखरामै पहिलो पटक कम्पनी नै दर्ता गरेर शुल्क लिएर पार्किङ शुरु गरिएको छ ।’ कम्पनीका प्रबन्ध निर्देशक सन्तोष पराजुलीले भने–‘यो सँगै केही हप्ताभित्रै पोखराको न्युरोडमा पनि पार्किङ सेवा शुरु गर्ने तयारीमा छौं ।’ वर्षदिन अघि पोखरा महानगरपालिका आफैंले सडकमा सवारी पार्किङ गरेवापत आफैंले शुल्क लिदैं आएको थियो । सडकमै पार्किङ गरेर शुल्क उठाउन नहुने भन्दै आवाज उठ्न थालेपछि सवारी पार्किङ शुल्क उठाउन रोक लगाइएको थियो ।

एकातिर ट्राफिक समस्या छ अर्को तिर जरिवाना तिर्नुपर्ने बाध्यता समेत छ । सवारी साधन नै पार्किङ गर्न नपाउने परिपाटीले सर्वसाधारण आजित छन् । महानगरपालिकाले सडकमै सवारी पार्किङ गर्न रोक लगाउने जनाएको छ । सडकमै पार्किङ गरिदाँ यातायात आवतजावतमा सहज नहुने भन्दै सडकमै पार्किङ प्रवृत्ति अन्त्य गर्नुपर्ने आवाज महानगरपालिकामा उठिरहेको छ ।

त्यस्तो अवस्थामा कम्पनीले शुरु गरेको सेवाले केही राहत भने पक्कै मिल्ने अनुमान गरिएको छ । कम्पनीले मोटरसाईकलको प्रति घण्टा २० रुपैयाँ तय गरेको छ । रात बास बस्ने गरी राखिएको अवस्थामा १०० रुपैयाँ लिने तोकिएको छ । चार पाङ्ग्रे सवारीको हकमा भने प्रतिघण्टा ५० रुपैयाँ लिईने उनले बताए । ‘कार रातबासको लागि पार्किङ गरिए २०० रुपैयाँ लिइन्छ ।’ उनले भने ।

हस्पिटलसँगै जोडिएको ठाँउमा क्षेत्रफल भने कम छ । झण्डै एक रोपनी क्षेत्रफलमा व्यवसायिक स–शुल्क पार्किङ शुरु गरिएको छ । उनका अनुसार हामीले सेवा मात्रै नभई आन्तरिक राजस्व कार्यालयमै दर्ता गरेर राज्यलाई वार्षिक कर बुझाउँछौं ।

पार्किङ विशेष गरी फिस्टेल हस्पिटलमा आउने विरामीका आफन्तलाई सहज होस भन्ने उद्देश्य राखिएको छ । प्रबन्ध निर्देशक पराजुलीले पार्किङस्थलमा पार्किङ गरिएको सवारी साधनधनीले पार्किङ शुल्क तिरेको बिल देखाए हस्पिटलसँगै रहेको ताल बाराही फार्मेसीमा औषधी खरीद गर्दा ५ प्रतिशत छुट समेत उपलब्ध गराउने उनले सुनाए ।

कम्पनीले पोखरा महानगरपालिकाको कार्यालय अगाडि न्युरोड क्षेत्रमा दुई रोपनी क्षेत्रफलमा पार्किङ सेवा शुरु गर्ने अन्तिम तयारी गरेको छ । ‘न्युरोडमा जमिन सम्याइएको छ ।’ उनले भने–‘बढीमा डेढासाताभित्रमा सेवा गर्छौ ।’ कम्पनीले पोखराकै दुई ठाँउमा स–शुल्क पार्किङ सेवा शुरुले अन्य पार्किङ गर्ने व्यवसायीलाई समेत टेवा पुग्ने विश्वास छ । पोखराका अन्य केही ठाँउमा पनि स–शुल्क पार्किङ गरिन्छ ।

कमेन्टहरु
Loading...