पोखरामा ३ करोड ठगिगरेर फरार महिला काठमाण्डौंबाट पक्राउ

पोखरा, ८ माघ /पोखरा ५० जना भन्दा बढीबाट ३ करोड रुपैयाँ ठग्ने १ महिलालाई कास्की प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानालाई ठगी आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

१ महिनादेखि सम्पर्कविहीन सरीता विरुद्ध माघ १ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पहिलो उजुरी परेको थियो । पहिला सापटी माग्ने अनि रकम नभएको खाताको चेक दिने र कसैकसैलाई पैसा नै नदिएर सरीताले झुक्याउँदै आएको पीडितहरुले बताएका छन् ।

पोखरा महानगरपालिका २६ र २७ का जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुनथापा, चन्द्रबहादुर सुनार, दिलमाया पुन लगायत १० जनाले आपूmहरु सरीताबाट ठगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका उजुरी दिएका थिए ।

उनीहरुले उजुरी दर्ता गरेपछि सरीताविरुद्ध अरु पनि उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । हालसम्म ५० भन्दा बढीले आफूहरु ठगिएको भन्दै प्रहरीसँग नाम टिपाएका छन् । घर, घडेरी चाहिएकालाई मिलाइदिने भन्दै सरीताले रकम लिने गरेको पीडितको गुनासो छ ।

घडेरी किन्ने व्यक्ति खोजिरहेको बेला पोखरा २६ कि दिलमाया पुनको भेट सरीतासँग भयो । सामान्य चिनजानपछि सरीता दिलमायाको घरमा आउजाउ गर्न थालिन् । आउजाउ बढ्न थालेपछि सरीताले दिलमायासँग लेनदेन सुरु गरिन् ।

पहिला ससानो रकम लैजाँदै फिर्ता गर्दै विस्वास जितेपछि सरीताले दिलमायाबाट १ करोड ७० लाख रकम फुत्काइन् । उक्त रकम बराबरको चेक सरीताले दिइन् पनि । तर जुन बैंकको चेक दिएकी थिइन्, उक्त खातमा रकमै थिएन । पटकपटक बैंक जाँदा रकम नसाटिएको र सरीता पनि सम्पर्क्विहीन भएपछि दिलमायाले प्रहरीको साथ मागेकी हुन् ।

लेखनाथ बुढी बजारकी नीरा सुनारले पनि सरीताले १९ लाख रुपैयाँ खाएर भागेको उजुरी दिएकी छन् । लेखनाथकै देवी जिसीले पनि आफ्नो ३ लाख रुपैयाँ फँसेको बताएकी छन् । निकै रवाफका साथ लेखनाथको अर्घौंचोकमा सरीता डेरामा बस्दै आएकी थिइन् । नयाँ मोडलको क्रेटा गाडी, ड्राइभर, घरको काम गर्ने सहयोगीसाथ बसेकी सरीताको ठाँट देखेर नै स्थानीय फसेका हुन् ।

अरु कुनै व्यवसाय नगर्ने उनले अर्घौंचोक आसपासकै व्यक्तिलाई प्रभावमा पारेर ठग्दै आएकी हुन् । ३ करोड रुपैयाँ रकम तिर्न बाँकी रहेको सरीताले प्रहरीसँग स्वीकार गरेकी छन् । व्यवहार बिग्रँदै गएपछि सापटी पनि बढेको र तिर्न नसक्ने अवस्था आएपछि भागेको उनले बताएकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले घटनाको छानबिन भइरहेको बताए । आजको सामाधान दैनिकमा खबर छ ।

कमेन्टहरु
Loading...