दीपक मनाङेलाई सपथ खुवाने बारे आइतबार छलफल

पोखरा, २२ पुस/ मनाङ ख बाट गण्डकीको प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरूङ ‘दीपक मनाङे‘ लाई सपथ खुवाउनेबारे आइतबार छलफल हुने भएको छ । आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल हुन लागेको हो । पुष २३ गते देखी हुने हिऊदे अधिबेशन र दीपक मनाङेको सपथ बारे छलफल हुने छ ।

सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि एक साताअघि मनाङेले आफूलाई सपथ खुवाउन माग गर्दै सभामुख कार्यालयमा निवेदन दिएका थिए । गत बिहीबार गुरुङले निवेदन दिएपछि शुक्रबार यसबारे छलफल गर्न संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिए पनि सबै दलको प्रतिनिधित्व नभएको भन्दै बैठकले औपचारिकता पाएको थिएन ।

पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी गरेको फैसलालाई गएको वैशाखमा सर्वोच्चले सदर गरेपछि मनाङबाट निर्वाचित मनाङे जेल गएका थिए ।

गत वर्ष मंसिरमा भएको चुनावमा मनाङ प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसका उमेद्वार कर्म गुरुङलाई हराउँदै स्वतन्त्र उमेद्वार गुरुङ निर्वाचित भएका थिए ।  यसअघि प्रतिनिधि सभामा कैलाली १ बाट निर्वाचित भएका तर टीकापुर घटनामा संलग्न भएको भन्दै पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई बिहीबार सपथ खुवाइएको थियो।

सम्पादन गरिएको
कमेन्टहरु
Loading...