पोखराबाटै बुद्ध एयरले बिदेशमा जहाज उडाउने, सर्वसाधारणलाई शेयर

पोखरा, २१ पुस /बुद्ध एयरले पोखराबाटै अन्तराष्ट्रिय उडानको तयारी थालेको छ । दुईबर्षभित्र निर्माण सम्पन्न हुने तयारी भएको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले पहिलो अन्तराष्ट्रिय फ्लाईट गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।

पोखरामा विदेशी पाहुना सीधै ल्याउन अन्तराष्ट्रिय उडान गर्न लागिएको कम्पनीका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए । उनका अनुसार कम्पनीले ६ महिनाभित्रै आर्थिक काम सकेर बैदेशिक उडानको नयाँ कम्पनी खोल्नेछ । बुद्धले नयाँ कम्पनीको नाम बुद्ध एयर इन्टरनेशनल कम्पनी प्राली राख्ने बताएको छ । अन्तराष्ट्रिय उडानका लागि नयाँ कम्पनी पोखरामै स्थापना हुने उनले सुनाए ।

यसका लागि आवश्यक ठूला विमान खरिदका लागि पनि तयारी सुरु भैसकेको छ । नयाँ कम्पनीमा सर्वसाधारणले पनि शेयर लगानी गर्न मिल्ने जोशीले भनाई छ । बुद्ध एयरले यसअघि नै अन्तराष्ट्रिय उडानको लाइसेन्स (अनुमतिपत्र) लिइसकेको छ ।

अन्तराष्ट्रिय उडानमा भारतको लागि उडान भरिरहेको बुद्धले अन्यत्र देशको लागि प्रक्रिया अघि बढाएको हो । बुद्धले अहिले हप्ताको २ फ्लाइट काठमाडौं–बनारस उडान भरिहेको छ । बुद्धसँगै नेपाली एयरलाइन्स, सिम्रिक एयरलाइन्स लगायत केही कम्पनीले अन्तराष्ट्रिय उडान भर्नका लागि पोखरामा तयारी थालेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

आउँदो माघ महिनापछि बुद्धले नेपाली आकाशमा उडान भर्नका लागि थप दुई वटा जहाज भित्र्याउन लागेको जनाएको छ । हाल एक दर्जन भन्दा बढी जहाजबाट सेवा प्रवाह गरिरहेको बुद्धले पोखरा, भद्रपुर, भैरहवा, जनकपुर, काठमाण्डौं, नेपालगञ्ज सहित भारतको बनारसमा पनि उडान भरिरहेको छ ।

कमेन्टहरु
Loading...