पोखरामा मेलम्ची पछिको ठूलो खानेपानी आयोजना बन्दै

पोखरा, २६ जेठ /पोखरामा खानेपानीको क्षेत्रमा अहिलेसम्मकै ठूलो आयोजनाको काम सुरु हुने भएको छ ।

पोखराको मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले खानेपानी सुधार आयोजनाको काम सुरु गर्न लागिएको हो । यो मेलम्चीपछि खानेपानीको क्षेत्रमा सुरु हुन लागेको दोस्रो ठूलो आयोजना हो ।

त्यस्तै यो आयोजना काठमाडौं उपत्यका बाहिर सुरु हुन लागेको पहिलो ठूलो आयोजना हो । तीन वर्षमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्र भित्रका करिब साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने छन् ।

पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न नेपाललाई जापान सरकारले ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिने सम्झौता गरेको हो । सोही सम्झौताअनुसार नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउने भएको हो । पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो ।

जापानले दिएको कूल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाजमा एन्दो कर्पोरेसन कम्पनीले अनुमानित लागत रकमभन्दा ८ दशमलब २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाजमा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा उक्त कामको ठेक्का पाएको हो ।

खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण गरिनेछ। पोखराको फूलबारी, पस्र्याङ र कोलपाटनमा रिजर्भवायर ट्यांकी निर्माण गर्न लागिएको आयोजनाको डेपुटी प्रोजेक्ट म्यानेजर निरन महर्जनले जानकारी दिए ।

कमेन्टहरु
Loading...