महानगरका वडाबाट पनि कर लिन सुरु

पोखरा, १३ कात्तिक/ नयाँ कार्यविधि अनुसार पोखरा महानगरपालिकाले वडा कार्यालयबाट पनि कर संकलन सुरु गरेको छ । एकीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश जारी गरेपछि महानगरले सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगरको कार्यालय र वडा कार्यालयबाट कर संकलन सुरु गरेको हो ।

पोखरा महानगरपालिका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार साविक लेखनाथमा पर्ने वडा नम्बर २७, २९,३०, ३१ बाट कर संकलन सुरु भएको छ । वडा नम्बर ५, ६, ७, ८, १०, १३, १५, १७ मा पनि सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर, घरनक्साको राजश्व लगायत सबै कर तिर्न सकिने शर्माले बताए ।

जनुसुकै वडाका बासिन्दाले कुनै पनि वडाबाट कर तिर्न र राजश्व बुझाउन मिल्ने, महानगरको कार्यालय सम्म धाउन नपर्ने र पायक पर्ने वडा कार्यालयमा कर तिर सकिने शर्माको भनाइ छ । शर्माका अनुसार वडा नम्बर १,२,३,४,११ र १६ नम्बर वडामा बुधबारदेखि कर संकलन सुरु हुनेछ ।

‘पहिले नै भएको एकीकृत सम्पत्ति करका केही बुँदा संशोधन गरेर नयाँ कार्यविधि पारित गरेर महानगरले कर संकलन सुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले बताए । असोज ५ गते राजपत्रमा कर सम्बन्धी नयाँ कार्यविधि प्रकाशित भएपछि महानगरले कर संकलन सुरु गरेको हो ।

कमेन्टहरु
Loading...