पोखरा महानगर वडा ७ मै राजश्व संकलन सुरु

पोखरा, २८ साउन/ पोखरा महानगरपालिका वडा नम्बर ७ मा राजश्व र कर संकलन कार्य सुरु भएको छ । राजश्व तथा कर संकलन कार्यको शुभारम्भ महानगरका मेयर मानबहादुर जिसीले गरे ।

सोमबार वडा कार्यालय पुगेका पहिलो करदाता पोखरा—५ मालेपाटनका चन्द्रबहादुर गुरुङले तिरेको करको रसिद काटेर कार्यक्रम शुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै मेयर मानबहादुर जिसीले महानगरबाट प्रदान गरिने सेवा, सुविधाको बारेमा सेवाग्रही पनि चनाखो हुनुपर्ने बताए ।

महानगरले प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएर ३३ वटै वडाबाट राजश्व र कर संकलनको लागि काम थालनी भएको बताए । प्रविधिको कारणले आफूसँग भएको सम्पत्ति कति छ ?जहाँबाट पनि हेरेर कर तिर्ने व्यवस्था महानगरले मिलाउने उनको भनाइ छ ।

महानगरले कर बढाएको नभइ मालपोत कार्यालयले सम्पत्तिको मूल्यांकन बढाएकाले विगत भन्दा केही बढी कर तिर्नुपरेको उनले स्पस्ट पारे ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल नगरबासीलाई महानगर कार्यालय आउन नपरोस वडाबाटै कर संकलनको काम थालिएको बताए ।

महानगरका राजश्व शाखा प्रमुख छवि शार्मले अहिलेसम्म ४ वटा वडाबाट राजश्व र कर संकलनको काम सुरु भइसकेको आगामी दिनमा क्रमशः ३३ वटै वडाबाट संकलन गरिने बताए । वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार एकीकृत सम्पत्ति कर, घरनक्साको राजश्व लगायत सबै कर वडा कार्यालयबाटै तिर्न सकिने बताए । उनका अनुसार वडा नम्बर १७, ७, २७ र ३० नम्बर वडामा कर र राजश्व बुझाउन सकिने छ ।

कुन वडामा कति राजश्व र कर संकलन भयो त्यो महानगरको राजश्व शाखामा हेर्न सकिने प्रविधि जडान गरिएको जानकारी दिए ।जनुसुकै वडाका बासिन्दाले कुनै पनि वडाबाट कर तिर्न र राजश्व बुझाउन सकिने छ ।

कमेन्टहरु
Loading...