पोखरामा अण्डरग्राउण्ड पार्किङ बनाउनेलाई राजस्व छुट

पोखरा, ११ असार /महानगरपालिकाले अण्डरग्राउण्ड पार्किङस्थल सहित नक्सा पास गर्दा दस्तुरमा एक तलाको राजस्व छुटको व्यवस्था गरेको छ ।

महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङले आर्थिक वर्ष २०७६/७७ को लागि बजेट सार्वजनिक गर्दै यस्तो व्यवस्था सार्वजनीक गरीन् ।

पछिल्लो समय शहरी क्षेत्रमा पार्किङको समस्या बढ्दै गएपछि महानगरपालिकाले पार्किङको समस्यालाई केही खुकुलो बनाउने नीति अनुसार अण्डरग्राउण्ड पार्किङ गर्ने घरलाई राजस्व छुट दिने योजना बनाएको हो ।

महानगरले भूकम्प पीडितले परिवारले नक्सापास गर्दा एकहजार स्क्वायर फिटको ग्राउण्ड लेभलसम्मको दस्तुर भने शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । पुरातात्विक महत्वका पुराना घरहरु भत्केको स्थानमा साविककै शैली झल्कने गरी भवन निर्माण गरेमा ५० प्रतिशत छुट दिईने छ । पार्किङ भवन बनाएमा शतप्रतिशत राजस्व छुट दिइने उल्लेख गरिएको छ ।

महानगरले करको दायरा विस्तार गर्ने नीति अनुरुप आर्थिक वर्षमा महानगर कर अभियान वर्षको लागि मनाउने उद्देश्यसहित विभिन्न क्षेत्रमा कर उठाउने तयारी गरेको हो ।

महानगरपालिकाले प्रवाह गर्ने सेवासँग सम्पति कर, बहाल कर, व्यवसाय कर, विज्ञापन करलाई एकीकृत रुपमा आवद्ध गरिने उनले सुनाए । महानगरपालिकाले आन्तरिक स्रोतको रुपमा रहेको करको दररेटलाई भने यथावत राखी दायरा बढाउने नीति अबलम्बन गरेको छ ।

कमेन्टहरु
Loading...