पोखरामा ट्राफिक लाइट राख्न ‘देउसी भैलो’

पोखरा, ३१ असोज/पोखरा प्रमुख पर्यटकीय शहर मात्र होईन, मुलुककै सबैभन्दा ठूलो महानगरपालिका पनि हो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै अन्तर्राष्ट्रिय शहर उन्मुख पोखरा ‘स्मार्ट सिटी’ बनाउने भरिरहँदा आवश्यक पूर्वाधार तयार हुनुपर्दछ ।

पोखराको प्रमुख समस्या सडक यातायात व्यवस्थापन पनि हो । प्रमुख चोकहरु कतै पनि ट्राफिक लाइट छैन । यसतर्फ ध्यानाकर्षण मात्र होईन, आफै ट्राफिक लाइट राख्न सहयोग गर्ने गरी पोखराका युवाहरु अघि बढेका छन् । विगत देखि नै सामाजिक कार्यहरुमा संलग्न युवाहरु पोखरामा बढ्दो ट्राफिक समस्यालाई न्यूनिकरण गर्न यस वर्षको तिहारमा देउसी भैलो खेल्दैछन् ।

देउसीभैलो खेलेर संकलित सम्पूर्ण रकम उनीहरुले पोखराको ट्राफिक लाइट राख्नका लागि प्रदान गर्नेछन् । यसमा स्थानीय प्रशासनको सहमति पनि लिईसकेका छन् । युवा संजाल नेपाल र फेसबुक समूह ‘वी आर वान’ को संयुक्त आयोजनामा सो कार्यक्रम गर्न लागिएको हो ।

बनभोज, भ्रमणका लागि खेलिने देउसीभैलोमा साथ दिनेहरुले यस्तो विकासमूलक कार्यका लागि खेलिने देउसीभैलोमा झनै साथ पाउने उनीहरुको विश्वास छ । विशेष गरी यातायात, पर्यटन, होटल व्यवसायी लगायत पोखराका अग्रणी संघसंस्थासँग यो टोलीको अपेक्षा छ । आफ्नो घर टोलमा आएका यो देउसीभैलो टोलीलाई सक्दो आर्थिक रकम प्रदान गर्न पनि उनीहरुको आग्रह छ ।

‘पोखरा जस्तो शहरका चोकहरुमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट राख्ने काम सरकारको हो ।’ कार्यक्रम संयोजक सन्दिप सापकोटाले भने– ‘सधैँ सरकारको मुख ताकेर मात्र बस्दा देखिहालिएको छ । बरु हामी नै रचनात्मक तबरले देउसीभैली खेलौं भनेर यसवर्ष ट्राफिक लाइट राख्नका लागि खेल्दैछौं ।’

वी आर वान ग्रुपका संयोजक समेत रहेका इन्जिनियर सूर्य तिमिल्सिनाले पोखराको विकासमा नागरिक सहभागिता पनि उत्तिकै महत्वपूर्ण हुने बताए । ‘पछिल्लो समय चर्चामा आएको स्मार्ट सिटीको लागी त यो झन् अपरिहार्य नै छ्र । व्यवस्थित पोखराको लागि यहाँको ट्राफिक व्यवस्था चुस्त हुनु आवश्यक छ्र ।’ उनले भने– ‘ट्राफिक व्यवस्थापनको लागि यहाँको चोक चोकमा ट्राफिक लाइटको सम्भाव्यता समेत अध्ययन गरेर अघि बढ्नेछौं ।’

यस्तै, मेम्बर रियाज तिमिल्सिनाले एक पटकको देउसीभैलोले ट्राफिक लाइट जस्तो ठूलो लागतको काम गर्न नसकिने भएपनि सुरुवात गर्न दबाब र थोरै सहयोग पनि हुने भएकाले यो निर्णय गरिएको बताए । ‘यसले सकारात्मक सन्देश पनि दिनेछ । सरकारलाई दबाब पनि पुग्नेछ र रचनात्मक कार्यमा देउसीभैलो खेल्न उप्रेरित पनि गर्नेछ ।’ उनले भने ।

संकलित रकम खर्च कटाएर पुरै ट्राफिक लाइट राख्नका लागि खर्च गरिनेछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, सडक बिभाग, महानगरपालिका लगायतका सरकारी संयन्त्रसँग समन्वय गरेर अघि बढिने जनाइएको छ ।

कमेन्टहरु
Loading...