पोखरा विजयपुर पुलमा चेकिङगर्दा घुस मागेको आरोपमा दुई ट्राफिक पक्राउ

रञ्जन अधिकारी
पोखरा, २७ जेठ /पोखराको बिजयपुर पुलमा चेकिङ गर्दा घुस मागेको आरोपमा दुई ट्राफिक जवान पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत ट्राफिक जवानहरु हरिश्चन्द्र रिमाल र मोहनसिंह बिकमाथि घुस मागेको आरोप लागेको हो ।

चेकिङका क्रममा घुस मागेपछि चालकको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको कास्की ट्राफिकले जनाएको छ । रिमाल र बिक समेतको ड्युटी आइतबार दिउँसो पोखराको विजयपुर खोला पुलमा थियो ।

पुलको अवस्थाका कारण हेभीवेट गाडीहरु त्यहाँ आवत जावत गर्न मिल्दैन । त्यसैले, ट्राफिक प्रहरी पुलमा बस्ने गर्छ । चेकिङ प्रयोजन भन्दा पनि त्यहाँ गाडी आवतजावत सामान्य बनाउन ट्राफिक खटाइने गरेको छ । उनीहरुले चेकिङमै उत्रेर पैसा मागेको आरोप लागेको हो ।

विहान १० देखि दिउँसो २ बजेसम्म ड्युटी परेका जवानद्वयले कलेज पढ्ने विद्यार्थीसँग पैसा लिन खोजेको उजुरी परेको हो । त्यसबारे गुनासो भएपछि उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम लगिएको हो । ‘उनीहरुसँग बयान भएको छैन ।

पैसा लिए नलिएको बारे आज उनीहरुले भन्लान् ।’ कास्की ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले भने – ‘यदि घुस मागेकै प्रमाणित भए नियमानुसार कारबाही हुन्छ । अहिले वडा कार्यालय बैदामकै हिरासतमा छन् ।’

वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक विजय भण्डारीले दुई जनालाई नियन्त्रणमा राख्न वडा पठाएको पुष्टि गर्दै अहिले आफ्नो कार्यालयमा रहेको र उनीहरुसँगको बयान तथा अनुसन्धानपछि घुस लिए नलिएको बारे पुष्टि हुने बताए । गण्डक न्युजबाट

कमेन्टहरु
Loading...