पोखराबाट मनाङमा र सिमरामा जहाज उडाने तयारी

पोखरा, ८ पुष/ पोखराबाट मनाङको हुम्डे विमानस्थल र बाराको सिमरामा सिधा जहाज उडान भर्ने भएको छ । गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५÷०७६ को नीति कार्यक्रम मार्फत पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ ।

सोही नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आइतबार गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल सहित छलफलमा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको टोली र स्थानीय तहका जनप्रतिनिधीहरुले माघ दोश्रो सातादेखि पोखरा–सिमरा जहाज उडाउने निर्णय गरेका छन् ।

त्यसै गरि पुष २४ गते मनाङको हुम्डे विमानस्थलमा पोखरादेखि जहाजले उडान भर्नेछ । लामो समयदेखि बन्द रहेको यो विमानस्थललाई नै सञ्चालन गरिने भएको हो । तत्कालको लागि साप्ताहिक रुपमा उडान भर्ने भएता पनि यात्रु भएको खण्डमा भने नियमित सञ्चालन गर्न सकिने मन्त्री लम्सालले जानकारी दिए ।

उता बाराको सिमरा उड्ने जहाजले भने माघ दोश्रो सातादेखि उडान भर्नेछ । दुवै ठाउँका लागि आवश्यक तयारी थालिएको र विमान स्थलको प्राविधिक अवस्थाबारे अध्ययन गर्न प्राधिकरणले केही दिनमै टोली पठाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए ।

२०७१ बैशाख देखि मनाङको एकमात्र हुम्डे विमानस्थलमा कुनै पनि एयरलाइन्सले उडान भरेको छैन । समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा रहेको हुम्डे विमानस्थलमा ०३९ साल असोजबाट निगमले मनाङ–पोखरा र पोखरा–मनाङको उडान भर्न सुरु गरेको थियो ।
सिमरा जितपुरमा भने पोखरादेखि पहिलो पटक जहाज उड्ने छ । उक्त स्थानबाट जहाज उडान भर्न थालेपछी पर्यटकीय तथा व्यापारिक गतिविधी बढ्ने अपेक्षा लिईएको छ ।

उडान सञ्चालन भएपछि प्रदेश सरकारले लिएको पर्यटन सम्बन्धि लक्ष्य पुरा गर्न सहज हुने मन्त्री विकास लम्सालले बताए । गण्डकी प्रदेश सरकारको सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुपनै पर्यटक मैत्री पूर्वाधारको विकास गर्ने काम अगाडी बढिरहेको उनले बताए । अहिले पोखरा विमानस्थलबाट काठमाडौ, जोमसोम, भरतपुर र भैरहवा नियमीत उडान हुदै आएको छ ।

कमेन्टहरु
Loading...