पोखरा प्रिमियर लिगको फाईनल एकले अर्कोलाई हराउने रणनितीमा चितवन र पोखरा पल्टन

पोखरा, १९ कात्तिक/ तेस्रो फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगिताको रुपमा पोखराबाट स्थापित पहिलो संस्करण नमस्ते पोखरा प्रिमियर लिगले मंगलबार विधिवत रुपमा विट मार्दै छ ।

सर्वाधिक राशीको फ्रेन्चाईज क्रिकेटको उपाधिको लागि घरेलु टोली पोखरा पल्टन र नेपाली क्रिकेटको राष्ट्रिय टोलीको कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राईनोज बीच प्रतिस्पर्धा हुदैैं छ । पोखरा पल्टन र चितवन राईनोजले फाईनलमा स्थान बनाउन हुलास काठमाडौं रोयल्सलाई पराजित गरेका थिए ।

पोखराले लिग चरणको अन्तिम खेलमा काठमाडौंलाई पराजित गर्दै शीर्षस्थान लिदैं फाईनल प्रवेश गर्दा चितवन राईनोजले भने इलिमिनेटोर खेलमा पराजित गरेर फाईनल पक्का गरेको थियो । दुवै टोली फाईनलसम्म आईपुग्दा विदेशी खेलाडीको प्रदर्शन भने लोभलाग्दो रह्यो । नेपाली क्रिकेटरको औषत प्रदर्शन देखियो । पोखराले फाईनलको यात्रा तय गर्दा युएईका तिब्र गतिका बलर मोहम्मद नाभेदको भूमिका महत्वपूर्ण रह्यो ।

उनलै काठमाडौंसँगको लिगको अन्तिम खेलमा तीन छक्का प्रहार गर्दै खेललाई यु टर्न गराएका थिए । त्यसभन्दा अघिल्ला खेलमा भने भारतीय खेलाडी रवि इन्दर सिंहको इनिङ्स महत्वपूर्ण रह्यो । लिग चरणका दुई खेलमा पराजित हुदैं कमब्याक गरेको चितवनले पनि विदेशी खेलाडीकै भरमा पोखरा प्रिमियर लिगको उपाधि यात्रासम्म आईपुग्यो ।

सन्नी पटेलको घातक बलिङ र उनको व्याटबाट निस्किएको रनले चितवनलाई फाईनलमा उभ्याईदिएको हो । फाईनल भन्दा अघिसम्मको स्थितिलाई नियाल्दा काठमाडौं रोयल्सका विदेशी खेलाडी गौरभ तोमार ६ म्याच ९६ इनिङ्समा सर्वाधिक २१२ रन बटुल्दै शीर्षस्थानमा छन् । उनले एकैखेलमा ९५ रन हिर्काएका थिए ।

फाईनल खेलसम्म

आउदाँ पोखरा पल्टनका कप्तान (मार्की खेलाडी) शरद भेषवाकर र चितवन राईनोजका कप्तान (मार्की खेलाडी) पारस खड्काको प्रदर्शन दर्शकको अपेक्षा भन्दा धेरै टाढा क्षितिजमा छ । उपाधिको लागि दुवैले आफनो व्याटिङ क्रेजलाई फर्काउने आशा, विश्वास र भरोसा दर्शक । पारस खड्काको व्याटिङ हेर्ने हो भने बुटवल ब्लाष्टर्ससँग केवल १० रनमा आउट भएका थिए ।

विराटनगर टाईटन्ससँग ७ रन र काठमाडौं रोयल्ससँग २ रनमै पभेलियन फर्किएका थिए । उनी भन्दा अगाडि पोखरा पल्टनका कप्तान भेषवाकर छन ।
उपाधि जित्नेमा दुवै टोली आशावादी र विश्वस्त छन् । लयमा फर्किएको चितवनले फाईनलमा लय दोहोर्याउने रणनीति बुन्ने छ । पोखराले पनि लिग चरणमै हराउँदै फाईनलसम्मको यात्रा तय गर्दा उपाधि जित्नेमा अझ बढी विस्वस्त छ । पोखरा पल्टनका कप्तान शरद भेषवाकरले लिग चरणमा चितवन राईनोजलाई पराजित गरेकोले फाईनलमा पनि हराउने दावी गरे । ‘हाम्रो उद्देश्य नै पोखरा पल्टनलाई पोखराकै मैदानमा उपाधि दिलाउने हो ।’ उनले भने–‘त्यही रणनीति अनुसार खेल्छौं ।’

चितवन राइनोजका कप्तान पारस खड्काले पनि उपाधि जित्नेमा विश्वस्त रहेको बताए । ‘उपाधि जित्ने नै एक मात्र लक्ष्य हो ।’ उनले भने–‘पोखराको कमजोरीलाई केलाउँदै त्यस्तै रणनीति अख्तियार गर्ने छौं ।’ लिग चरणमा चितवन राईनोज पोखरा पल्टनसँग पाँच विकेटले पराजित भएको थियो । जुन हारको बदला लिने अवसर चितवनलाई फाईनलमा आएर मिलेको छ । चितवनलाई पराजित गर्न भारतीय खेलाडी रवि इन्दर सिंहको व्याटबाट अर्धशतकीय पारीको इनिङ सामेल थियो । अब फाईनलमा भने उनको प्रदर्शन कस्तो हुने हो त्यो भने प्रतिक्षाको विषय छ ।

पोखराको

लागि सिंहसँगै लिगमा मोहम्मद नाभेद पनि बलिङ र व्याटिङमा चलेको छ । विनोद भण्डारी, कप्तान भेषवाकर र युवा खेलाडीको रुपमा रोहितकुमार पौडेल चितवनको लागि घातक बन्न सक्छन् । ललितनाथ राजवंशीको स्पीनले पनि चितवनका व्याट्सम्यानलाई नचाउन सक्ने सम्भावना पनि छ । यता चितवनका सन्नी र स्मित पटेलले पनि आफनो प्रभाव जमाउने सम्भावना उत्तिकै छ ।

शक्ति गौचन, तिब्र गतिका बलर करण केसी र भुवन कार्कीले पोखरा पल्टनलाई भारी पर्न सक्छ । ओपनर तथा मिडल अर्डरको रुपमा रहदै आएका व्याट्सम्यान हरिशंकर साह पनि चितवनका अर्का भरपर्दा व्याट्सम्यान हुन् । मोहम्मद आरिफ शेखमाथि समेत चितवनले विश्वास गर्ने छ ।
चितवन राईनोजका करण केसी उत्कृष्ठ बलरको उपाधि निकट छन् । ६ खेलमा उनले ११ विकेट लिई सकेका छन् । उनी भन्दा पछाडि ललितनाथ राजवंशी छन् । उनले ५ खेलमा ९ विकेट लिएका छन् ।

विराटनगर टाईटन्सका कप्तान सन्दीप लामिछाने पनि ५ खेलमा १० विकेट लिएका छन् । उत्कृष्ठ व्याट्सम्यानको दौडमा विदेशी खेलाडी नै छन् । काठमाडौं रोयल्सका गौरभ तोमार ६ खेलमा २१२ रनसहित शीर्षस्थानमा छन् । उनी भन्दा पछाडि विराटनगर टाईटन्सका मोहम्मद जैद आलम छन् । उनले ४ खेलमा २०९ रन हिर्काएका छन् ।

क्विन्स इभेण्ट म्यानेजेमन्ट प्रा।लिको आयोजना तथा विभिन्न प्रायोजकको प्रायोजन रहेको पोखरा् । प्रिमियर लिगको विजेताले २७ लाख रुपैयाँ पाउने छ । उपविजेताले १० लाख रुपैयाँ पाउने छ । तीन खेलाडी म्यान अफ दि सिरिज, बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले सुजुकी कम्पनीको मोटरसाईकल प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

तीन पोखरेली खेलाडी

पहिलो सस्करणको पोखरा प्रिमियर लिगमा तीन पोखरेली खेलाडी दुई फ्रेन्चाईज टोलीमा समावेश छन् । दुई पोखरा पल्टन र एक बुटवल ब्लाष्टर्ससँग आवद्ध छन् । बुटवल ब्लाष्टर्सबाट खेल्दै आएको विपिन खत्रीले घरेलु क्रिकेट मैदानमा आफनो बलिङ छवि देखाईसकेका छन् । तर पोखरा पल्टनमा रहेका दुई खेलाडी भने बेन्चमै बसेर प्रतियोगिता टुग्याउने सम्भावना बढेको छ । फाईनल समेत उनीहरुले अवसर नभएको अवस्थामा बेन्च बसेर दर्शक बन्दै लिग टुंगिने छ ।

पोखरा पल्टनमा पुर्व राष्ट्रिय खेलाडी दिपेश खत्री र युवा क्रिकेटर सुमन घिमिरे छन् । उनीहरु अक्सनबाट खरीद भएका खेलाडी भने होइनन् । बुटवल ब्लाष्टर्सले विपिन खत्रीलाई भने ३० हजारको बोली लगाएको थियो । दिपेश र सुमनलाई स्थानीय खेलाडी राख्ने पर्ने नियम अनुसार पोखरा पल्टनमा समावेश भएका हुन् । उनीहरुले घरेलु मैदानमा खेल्ने अवसर भने पाईसकेका छैनन् । अर्थात उनीहरुमाथि पल्टनका कप्तान शरद भेषवाकर विश्वस्त बनेर खेल्न लाईन अपमा राख्न सकेका छैनन् ।

कमेन्टहरु
Loading...