पोखराका ९ पार्कहरु व्यायामशालामा

पोखरा, ८ असार/स्वास्थ्य नागरीकको अभियान थालेको पोखरा महानगरपालिकाले असार मसान्तसम्म विभिन्न वडाका पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने तयारी गरेको छ ।

महानगरपालिकाले गत महिना मात्रै लेखनाथको भण्डारढीकस्थित रंगशाला र ताल बाराही मावि स्कुल नजिकैको पार्कमा खुल्ला व्यायामशाला स्थापना गरिसकेको छ । स्थापित व्यायामशालामा विभिन्न ९ प्रकृतिका विभिन्न व्यायामका सामान जडान गरिएको छ ।

महानगरपालिकाले असार मसान्तसम्म विभिन्न ६ वटा ठाँउमा व्यायामशाला निर्माण गर्न सामान पोखरा ल्याईसकेको छ । ‘सामान आईसकेको छ । अब जडान गर्न मात्रै बाँकी छ ।’ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भने–‘यो आर्थिक वर्ष ती जडान गरेपछि नयाँ आर्थिक वर्षमा फेरी माग भएका पार्कहरुमा व्यायामशाला स्थापना गर्ने योजना बनाउने छौं ।’

ल्याइएको सामान वडा नं १२ स्थित सत्य हरिशचन्द्र पार्कमामा ५ थान जडान गरिने छ । धार्मिक गन्तव्यस्थल पोखरा १२ कै भद्रकाली मन्दिर परिसरमा पनि ४ थान सामान जडान गर्ने योजना महानगरपालिकाले बनाएको छ । पोखरा–१४ मनोहर पार्कमा ९ थान व्यायाम गर्ने सामान जडान गरिने उनले सुनाए ।

‘आवश्यकता र माग भएका पार्कहरुमा अहिले सामान उपलब्ध गराउँदै स्वास्थ्य नागरीकको अभियानलाई सार्थकता प्रदान गरिने छ ।’ उनले भने–‘अहिले सबैजसो भेगलाई समेटन्े गरेर सामान जडान गर्ने छौं ।’ साईक्लिङ, वाकिङ मेशिन, सेटअप गर्ने, र झुण्डिएर पेट घटाउने शैलीको व्यायाम गर्न सकिने प्रकृतिका सामान छन् ।

पोखरा–१५ कोलपाटन पार्कमा पनि व्यायामशाला स्थापना गरिने छ । त्यसपछि कास्कीको पर्यटकीय सराङकोटमा शहीद पार्कमा पनि एक सेट व्यायामशालाका समान जडान गर्ने लक्ष्य रहेको छ । ‘साँभ विहान सर्वसाधारणलाई हिड्ने मात्रै नभई शारीरिक व्यायाम गर्नुपर्छ भन्ने सकारात्मक सन्देश पुर्याउने हो ।’ उनको भनाई थियो–‘एक वडा एक खेल मैदानको अभियानसँगै पार्कहरुमा खुल्ला व्यायामशाला प्रभावकारी बन्दै गएको छ ।’

महानगरपालिकाले स्वास्थ्य नागरीकको अभियानलाई मूर्तरुप दिने उद्देश्यसँगै पोखरा महानगरपालिकाका २१ वटा वडामा व्याडमिन्टन र भलिबल कोर्ट निर्माण कार्य अगाडि बढाएको छ ।

व्यायामशालाको लागि एक सेट सामान जडान गरिने छ । एक सेटमा विभिन्न प्रकृतिका ९ वटा सामान हुन्छन् । सामानको मूल्य साढे दुई लाख रुपैयाँसम्म पर्ने उनले बताए । व्यायामशालाको संरक्षण र सम्बद्र्धनको जिम्मेवारी महानगरपालिको स्थानीय क्लब तथा टोल विकास संस्थालाई सुम्पिएको छ ।

नागरीकको स्वास्थ्य पहिलो आवश्यकता हो । सबै उमेर समूहलाई खेलकुदको आवश्यकता छ । साँझ र विहान हिड्ने मात्रै नभई व्यायाम गर्नुपर्ने ध्येयलाई महानगरपालिकाले पुरा गरिदिएको छ । पोखरा महानगरपालिकाले स्वास्थ्य नागरिकको परिकल्पनासहित चार महिना अघि देखि नै शुरु गरिएको थियो ।

सार्वजनिक जग्गा अधिकांश हडप भईसकेको छ । ठूला पार्कमा बसुन्धरा र कोमागाने पार्क मात्रै छन् । त्यसभन्दा अलि पर पुग्दा हल्लनचोकस्थित क्याम्पिङ चौर छ । सानो पार्कको रुपमा शहीद चोकमा रहेको शहीद पार्क, त्यसपछि बुलौदीको ओरालेमा रहेको पुष्पलाल स्मृति पार्क ।

ड्यामसाईड रहेको पार्क, सृजनाचोकस्थित मेट्रोसिटी अस्पताल अगाडिको पार्क छन् । पस्र्याङमा लायन्स पार्क, अस्पतालचोक रामघाटमा पनि लायन्स पार्क छ । महानगरपालिकाले ती पार्कलाई संरक्षण केहीहदसम्म गर्दै आएको छ । अन्य ठाँउमा पार्क भएपनि संरक्षणविहीन अवस्थामा छन् ।

कमेन्टहरु
Loading...