Ganthan News Pokhara
All news from Pokhara & around

पोखराका एक सय बर्ष पुरानो धाराको संरक्षण भएन

पोखराका एक बर्ष पुराना धारा छ पानी छैन
0

पोखरा, २५ असार/बिक्रम संवत १९७६ शालमा जुद्धशम्शेर राणा श्री ३ थिए । त्यती बेला पश्चिमको कमाण्ड बबरशमशेर राणाले सम्हालेका थिए । उनि पोखरामा बस्थे । बिक्रम संवत् १९६२ सालमा जन्मेका उनका छोरा बालशम्शेरको १९७६ सालमा अशामयिक निधन भयो ।

छोराका निधनमा शोकमा रहेका बबरशम्शेरले पोखरामा त्यतीब बेला खानेपानीको दुःख हटाउन १९७६ सालमै धारा बनाउन निर्णयमा पुगे । पोखराको मेथलाङ डाँडाको धारापानीमा टंकी खनाए । पोखराको त्यती बेलाका मुख्य बजार क्षेत्रमा २१ स्थानमा धारा ठड्याएर पानी झारे ।

बिक्रम संवत १९७७ मा धारा निर्माण सम्पन्न गरि धाराबाट स्थानीयले पानी खाने अवसर पाएको पोखरा भैरवटोलका ९० वर्षिय जगतबहादुर ताम्राकारले बताए । पोखराको त्यतीबेलाको मुख्य बजार भैरवटोल, बगर, तेस्रापट्टी, पालीखेचोक, रानीपौवा, सिमलचौर, पस्याङ लगायतका १७ स्थानमा धारा बनाएर पानी वितरण गरेको उनले सुनाए ।

२०३६ साल सम्म यही धाराको पानी खाएको उनि सम्झन्छन् । पछि भोटी खोला र मर्दीबाट पानीको लाईन बिस्तार भएपछि यो धाराको चलन हराउँदै गएको उनले बताए ।

बबरशम्शेरले बेलायतबाट किटका धारा मगाएर धारा ठड्याएको बगालेटोल सुन्दरमार्गका उत्तम उलकले सुनाए । यस धारामा शहरमा आगोलागि भयो भने पानी पम्प गरेर तान्न मिल्ने प्रविधि समेत रहेको छ । त्यती बेला पनि आगोलागि भएमा पानी तान्न मिल्ने गरि धारा निर्माण भए पनि यसको भने कहिल्यौ प्रयोग नभएको उनले सम्झीए ।

पोखराका एक बर्ष पुराना धारा छ पानी छैन
पोखराका एक बर्ष पुराना धारा छ पानी छैन

धारा संगै चौपायाकालागि पानी जम्मा हुने ढुङ्गाको कुण्ड थियो । त्यती बेला चौपायाको तिर्खा मेटाउन पनि यस्तो व्यवस्था गर्न ठाउँ ठाउँमा पोखरी पनि हुन्थ्यो । अहिले भने अतिक्रमणमा परेर पोखरी देख्नै मुस्कील छ ।

सय वर्ष पुराना बेलायती शैलीका यि धारा अझै पनि उतिकै बलीया छन् । यस्ता एतिहासिक महत्वका प्राचिन धाराको शंरक्षण गरि अझै पनि बटुवाहरुलाई पानी पिउने व्यवस्था गर्नु पर्ने स्थानीय वासिन्दा तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए ।

त्यती बेलाको समाज निकै धार्मिक थियो । सामाजिक काम धर्म संग जोडिएर हुन्थ्यो । पाटी, पौवा, धारो, कुँवा निर्माण हुन्थ्यो । अहिले भने नेपाली परम्परा, संस्कृति र नेपाली पन नै हराउँदै गएको ताम्राकार बताउँछन् ।

अरु सम्बन्धित खबरहरु