पोखरामा फोहोर फाल्न सास्ती

श्याम राना
पोखरा, १३ फागुन

घटनाः १
केही समयअघि बेलुकी ८ बजेतिर फोहोरको झोला बोकेर एक युवती न्युरोडमा आइन् । बाटोमा आइपुगेपछि आफूसँग ल्याएको फोहोर छोडेर आएकै बाटो फर्किइन् ।
अलिमाथिपट्टि पनि उस्तै दृश्य देखियो । ४/५ जना गृहणी फोहोरको झोला बोकेर आए । फोहोरको झोला बाटोमै छाडेर उनीहरु फर्किए ।

घटनाः २
गए राति, पृथ्वीचोकमा पनि दुईजना बालबालिका फोहोरको थुप्रोलाई बाटोमा छोडेर गए । ममीबाबाले बाटोमा फोहोर फाल्न पठाएर उनीहरु आएका रहेछन् ।

घटना ः ३
केही समय महानगरपालिकाबाट अनुगमनमा खटिएको टोलीले लेकसाइडका कृष्ण पौडेललाई फोहोर फालिरहेको अवस्थामा भेट्यो । घरधनीले रात परेपछि बाटोमा फाल भनेकाले फोहोर फाल्न आएको उनले सुनाए । सार्वजनिक स्थानमा फोहोर फाले बापत १ हजार रुपैयाँ जरिवाना तिराएर आफूले फालेको फोहोर आफैले उठाउने शर्तमा उनलाई छाडियो ।

यी त केबल प्रतिनिधि घटनामात्र हुन् । पोखरामा रात परेपछि बाटोमा फोहोर फाल्ने क्रम बाक्लिएको छ । सधै जसो व्यस्त भई रहने महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, पृथ्वीचोकमा रातपरेपछि सडकै भरि फोहोर फालेको पाइन्छ । विशेष गरी, डेरा गरी बस्नेका लागि घरधनीले फोहोर व्यवस्थापनका लागि उचित व्यवस्थापन नगरिदिँदा समस्या बढेको छ । एक त डेराको बसाई त्यसमाथि पनि फोहोर बोक्ने गाडि समयमा नआउँने । दीनभर कोठाभन्दा बाहिर रहनु पर्ने भएकाले पनि यस्तो समस्या बढेको हो ।

‘कोठाबाट बिहानै निस्किनु पर्छ फोहोर उठाउँने गाडि ११/१२ बजे आईपुग्छ,’ लमजुङ घर भई न्युरोडमा डेरा गरि बस्दै आएका सागर गुरुङ भन्छन्, ‘अनि कति बेला फाल्नु त फोहोर ?’

सार्वजनिक ठाउँमा फोहोर फाल्न हुँदैन भनेर सबैलाई जानकारी नै नभएको पोखरा महानगरपालिकाकी फोहोर मैला व्यवस्थापन शाखाकी प्रमुख कल्पना बराल स्विकार्छिन् । ‘कतिपयलाई त सार्वजनिक ठाउँमा फोहोर फाल्नु हुँदैन भन्ने नै थाहा नभएर फाल्ने गर्नु भएको छ,’ उनले भनिन्, ‘रेडियो पत्रपत्रिकाबाट यस सम्बन्धि सूचना प्रकाशित गरि रहेका छौं । सबैमा यो सूचना पुग्न नसकेकै हो ।’

महानगरपालिकाले फोहोर मैला उचित व्यवस्थापनका लागि ‘फोहोर मैला व्यवस्थापन नियमावलि २०७४’ पनि बनाएको छ । सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई १ हजार देखि ५ हजार सम्मको जरिवाना तिराउँने व्यवस्था नियमावलिले गरेको छ । तर, त्यति प्रभावकारी भने देखिएको छैन । ‘फोहोर फाल्नु हुँदैन भनेर सम्झाउँने हो,’ फोहोर मैला व्यवस्थापन प्रमुख बरालले भनिन्, ‘त्यो भन्दा ठूलो कारबाही त के गर्न सकिन्छ र ? सम्झाई बुझाई गरेर पठाउँने हो । सचेत गराउँने हो ।’ कतिपयले फोहोर उठाउँन महानगरपालिकालाई पैसा तिर्नु भन्दा बाटोमा फालि सकेपछि महानगरले उठाउँछ भनेर पनि सार्वजनिक स्थानमा फोहोर फाल्ने गरेको उनले सुनाइन् ।

प्राइभेट कम्पनीसँग सहकार्य गरेर महानगरपालिकाले ३३ वटा फोहोर उठाउँन गाडि चलाएको छ । जसमध्ये ४ वटा महानगरका गाडि छन् भने बाँकि प्राइभेट कम्पनीका । प्राइभेट कम्पनीले फोहोर उठाए बापतको २० प्रतिशत रकम महानगरपालिकामा बुझाउँछन् । फोहोर मैला व्यवस्थापनका लागि महानगरले १ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएको छ । कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्नका लागि पनि वडासँग पनि सहकार्य गरेर अघि बढी रहेको फोहोर मैला व्यवस्थापन शाखाकी प्रमुख बरालले जानकारी दिइन् ।

 

कमेन्टहरु
Loading...