गण्डकी प्रदेशका १९० होमस्टेलाई १०/१० लाख

गण्डकी प्रदेश सरकारले १९० सामुदायिक होमस्टेका लागि १०/१० लाख अनुदान सहयोग दिने भएको छ । प्रदेश सरकारले तीन सय गाउँमा होमस्टे (घरबास) सञ्चालन गर्ने नीति लिए अनुसार पहिलो चरणमा १०/१० लाख अनुदान सहयोग दिने भएको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले होमस्टे सञ्चालन कार्यविधि बनाएसँगै अनुदान दिन गरिएको शुक्रबार सम्झौता गरेको छ । पत्र सामुदायिक होमस्टे सञ्चालकलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हस्तान्तरण गरे । आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले गाउँका सामुदायिक होमस्टेलाई १० लाख रुपैयाँको दरले सहयोग गर्न लागेको हो ।

पहिलो चरणमा पूर्वाधार निमार्णका लागि अनुदान रकम ४० प्रतिशत सामुदायिक होमस्टेको खातामा रकम जम्मा गर्ने पर्यटन मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लाका पछि परेका ग्रामीण बस्तीहरुमा होमस्टे सञ्चालन गरि रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले आन्तरिक भ्रमण वर्ष २०१९ सँगै होमस्टे कार्यक्रमको सहयोगकालागि अनुदान कार्यक्रम अघि सारको बताए ।

सरकारले होमस्टे चलाउन प्रदान गर्ने अनुदानको रकम होमस्टे सञ्चालन तथा प्रवद्धनसँगै सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन, सार्वजनिक सभागृह, प्रदर्शनीस्थलमा अनुदानको रकम व्यवस्थापन समितिले खर्च गर्न पाउने गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले बताए । कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लामा ११० वटा मुख्य पर्यटन गन्तब्य स्थलका बारेमा जानकारी गराइएका थिए ।

कमेन्टहरु
Loading...