पोखराबाट नागरिकता लिने दुई तिब्बती युवती सहित ८ पक्राउ, ६ कर्मचारीलाई कारवाही

28

ईश्वर देवकोटा
पोखरा– झुठो विवरण पेस गरी तिब्बती शरणार्थीलाई नागरिकता दिलाउन सहयोग गरेको आरोपमा प्रहरीले ८ जना पक्राउ गरेको छ । तिब्बती नातीनीहरुलाई छोरी बनाइ जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश गरेको झुठो विवरणमा सनाखत गर्ने पोखरा–१८ सराङकोटका लेखबहादुर थापा, नागरिकता लिने २ युवतीसहित र्सजिमिन मुचुल्कामा दस्तखत गर्ने ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

तिब्बती शरणार्थीसँग विवाह गरेकी छोरीका छोरी (नातिनी) लाई नागरिकता दिलाउन लेखबहादुरले बाबु भएको झुठो विवरण पेस गरेको खुले पछि कास्कीका सिडिओ चक्रबहादुर बुढाले कार्वाही प्रक्रिया अगाडी बढाएका थिए ।

नेपाली आमा र तिब्बती बाबुबाट जन्मिएका सरु थापा मगर र तासी आङ्मो थापा मगरले जेठ २६ र असार ६ गते जिल्ला प्रशासन कास्कीबाट नागरिकता लिएका थिए । लेखबहादुर थापाका छोरी बनेर सरु थापामगरका नाममा जेठ २६ गते ४६–०१–०७६–२०३९ र तासी आङ्मो थापामगरका नाममा असार ६ गते ४६–०१–०७६–०१६३३ नम्बरका दुई नागरिकता जारी भएका छन् ।
सरुले २७ वर्ष र तासी २६ वर्षको उमेरमा नागरिकता लिएका हुन् । कागजका आधारमा ती दिदीबहिनीको उमेरमा ७ महिनाको अन्तर छ ।

सर्जमिन मुचुल्कामा दस्तखत गर्ने पोखरा १८ सराङकोट नै बस्ने बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर समेत प्रहरी हिरासतमा छन्। जिल्ला प्रशासन कास्कीले गरेको अनुसन्धानपछि ८ जना पक्राउ परेको सिडिओ बुढाले जानकारी दिए।

उनीहरु विरुद्ध मुद्दा चलान गरी थप कारवाही अघि बढाउन पक्राउ गरेको प्रजिअ बुढाले बताए। ‘लेखबहादुरले २ जनालाई आफ्नो छोरी भएको दाबी गर्छन् तर उनीहरु उनको छोरी होइनन् भन्ने स्पष्ट भयो,’ उनले भने, ‘वडामा पहिले वास्तविक बाबुको नाम र पछि हजुरबुबा अर्थात् लेखबहादुरको नाम उल्लेख भएको जन्मदर्ता भेटिएको छ।’

लेखबहादुरकी १ छोरी तिब्बतीयन नागरिकसँग विवाह गरेको र उनीहरुका २ छोरीलाई वंशजका आधारमा नागरिकता दिलाउन लेखबहादुरले झुठो विवरण पेश गरेको खुल्ल आएको हो।

विद्यालयको अभिलेखमा समेत उनीहरुको वास्तविक बाबुको नाम उल्लेख भएको प्रजिअ बुढाले बताए। ‘विद्यालयमा भर्ना गर्दा वास्तविक बाबुको नाम तर नागरिकता लिन पेश गर्दाको सर्टि्फिकेटमा लेखबहादुरको नाम छ,’ उनले भने, ‘प्रशासनको अनुसन्धानपछि ती २ युवती लेखबहादुरको छोरी होइन भन्ने कुरा पुष्टि भएको छ ।’

नागरिकता उपलब्ध गराउने कार्यमा संलग्न पाइएका नागरिकता फाँटका ४ जना र पोखरा १८ वडा कार्यालयका २ जनालाई समेत विभागीय कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ। प्रजिअ बुढाले भने, ‘वडाका कर्मचारीले २ पटक जन्मदर्ता गरेका छन्। २ पटकमा फरकफरक बाबुको नाम छ। १ पटक वास्तविक बाबुको नाम छ र अर्कोपटक हजुरबुबा अर्थात् लेखबहादुरको नाम छ।’

झुटा विवरण पेस गरी नागरिकता लिएको भन्दै ‘राष्ट्रप्रेमी नेपाली समूह’ले अख्यितार पोखरा कार्यालय, जिल्ला प्रशासन लगायतका निकायमा उजुरी दिएको थियो।

उजुरीपश्चात्त विषय बाहिरिएपछि सिडिओ बुढाले अनुसन्धान थालेका हुन्। अनुसन्धान सुरु गर्दा नै दुवैले लिएको नागरिकता प्रशासनले जफत गरिसकेको छ। ती २ युवतीले राहदानी भने बनाउन नभ्याएको सिडिओ बुढाले बताए।

नागरिकता दिँदा सबै प्रक्रिया प्रमाण पुगेको भए पनि केही शंकास्पद गतिविधिका आधारमा प्रशासनले केरकार सुरु गरेको थियो। २६÷२७ वर्ष पुगेपछि नागरिकता लिन आउनु, दिदी बहिनीको जन्मान्तर ७ महिनामा मात्र हुनु लगायत शंकाका आधारमा आधारमा प्रशासनले थप प्रमाण जुटाउँदै निश्कर्षमा पुगेको हो। लेखबहादुरले बयानका क्रममा उनीहरु आफ्ना छोरी भएको बताए पनि तर उनका छोराले भने उनीहरु आफ्ना बहिनी नभई भान्जी भएको बताएका छन्।

के हुन्छ सजाय ?

नागरिकता ऐन, २०६३ अनुसार कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता लिएमा १ वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि १ लाखरुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । झुठो विवरण पेस गरी लिएको नागरिकता रद्द हुने कानुनी प्रावधान छ।

झुठो विवरणका आधारमा विदेशीलाई नागरिकता दिलाउन सनाखत वा सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ। प्रचलित ऐन विपरित त्यस्ता व्यक्तिलाई नागरिकता दिलाउने कार्यमा संलग्न कर्मचारीलाई भने विभागिय कारबाही हुने व्यवस्था छ ।
देश सञ्चार डटकमबाट साभार

https://deshsanchar.com/2019/08/10/234499/?fbclid=IwAR18bAWKcNVtO_MRrZMNzMGZA94b1_upcV75tzxUEEoHpbxdGTXseKGRfSA