पोखरामै झल्कीयो पाल्पाली दरबार

पोखरा, ५ माघ /शनिबार पोखरामा पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५ हुदैछ । पाल्पाली समाज पोखराले स्थापनाको रजतजयन्ती अवसरमा पोखरा सभागृहमा ऐतिहासिक रुपमा सो कार्यक्रम गर्दैछ । कार्यक्रमको लागि पोखरा सभागृहको मूलद्वारलाई पाल्पा दरबारको झल्को दिने गरी सजाइएको छ ।

दर्शक हल प्रवेश गर्दा पाल्पा पुगेको अनुभूति गर्नेछन् । पोखरा सभागृह हल परिसरमा पाल्पाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीयस्थलको श्रव्यदृश्य सामग्रीमार्फत झलक प्रदर्शन गरिनेछ । पाल्पाको पहिचान दिने पाल्पाली करुवा, ढाकाको स्टल राखिनेछ भने चुकाउनी, हाँसको छोयला, बटुक लगायत खानाका परिकार पस्किने तयारी छ ।

सर्वसाधारण हल परिसरमा निःशुल्क प्रवेश गरी विभिन्न सामान खरिद गर्नुका साथै पाल्पाली स्वाद चाख्न सक्ने व्यवस्था मिलाइएको समाजका सल्लाहकार चिरञ्जीवी श्रेष्ठले जानकारी दिए । हलभित्र पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम हुनेछ । हललाई पाल्पाली मूलढोका र रानीमहलको झल्को दिने गरी सजाइएको छ । कार्यक्रममा पाल्पाली चर्चित कलाकारको विभिन्न प्रस्तुति तथा पाल्पा जिल्लाको मौलिक संस्कृतिको रुपमा रहेका वालन, कौरा, सोरठी (मारुनी), बालन नृत्य प्रदर्शन गरिनेछ ।

साथै, पाल्पाली कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याएकोमा नेपाल सरकार मन्त्रिपरिषद् पूर्व अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अभिनन्दन गरिनुका साथै पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना, महानायक राजेश हमाल, कलाकार नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री पंगेनी, इन्द्र जिसीलाई सम्मान गरिनेछ । यस्तै उनीहरुसहित पाल्पाली कलाकार नवीन पौडेल, जमुना राना, शान्ति डोटेल, दुर्गाराज पाण्डेको सांगीतिक प्रस्तुति रहने कार्यक्रम संयोजक अनन्त अधिकारीले जनाए ।

कार्यक्रम आफैमा मिनी पाल्पा हुने हुँदा यसले पाल्पाको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने अपेक्षा लिइएको समाजका अध्यक्ष कुलप्रसाद घिमिरे बताउँछन् । यसैबीच, कार्यक्रमपछि साँझ पाल्पाका २ नगरपालिका र ८ गाउँपालिकाका प्रमुख लगायतका जनप्रतिनिधिसँंग बृहत् छलफल कार्यक्रम तय गरिएको छ ।

बिहान साढे ११ बजे सुरु हुने कार्यक्रममा सांगीतिक कार्यक्रम अवलोकनका लागि भने टिकट काट्नुपर्नेछ । कार्यक्रमको शीर्ष प्रायोजन सिटिजन फर्निचर ट्रेड लिंक प्रालिले गरेको छ । सहप्रायोजन एलजी डिजिटल साउण्ड एण्ड भिजन हो भने बैंकिङ पार्टर सिद्धार्थ बंैक, मिडिया पार्टर आदर्श समाज, समाधान दैनिक, फेवा टिभी र पोखरा एमएम हुन् । होटल पार्टर होटल टुलिप पोखरा र प्रिन्टिङ पार्टनर रोजिना प्रिन्टिङ प्रेस रहेका छन् । २०५१ सालमै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पाल्पाली समाज यस क्षेत्रकै सबैभन्दा पुरानो समाज रहेको संस्थापक सचिव लोकनाथ काफ्लेले बताए ।

कमेन्टहरु
Loading...