एक वर्षमा १५ करोडको विकास निर्माण

पोखरा, ९ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर २७ मा आर्थिक वर्ष २०७४÷०७५ मा करिब १५ करोडको विकास निर्माणको काम भएको छ ।गत आर्थिक वर्षमा वडामा करिब ५ किमी सडक पीच र एक किमी ढलान बाटो निर्माण, ७ किमी नाला निर्माण लगायतको काम भएको छ ।

उक्त काम गर्न उपभोक्ताले करिब ६ करोड रुपैयाँ जनसहभागिता जुटाएका छन् । वडामा निर्माण गरिएका ३ वटा पक्की सडकको शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे । रिठ्ठेपानीस्थिते भण्डारी टोलदेखि छत्रे ढुंगा सडक, छत्रेढुंगोदखि ईश्वर मार्ग सडक र सुन्दरी प्लट मार्ग सडकको जिसीले उद्घाटन गरेका हुन् ।

प्रमुख जिसीले बाल उद्यान र र्पाकको पनि शुक्रबार उद्घाटन गरे । आफ्नो टोल आफै बनाउँ कार्यक्रम अन्तर्गत महानगरको ५० प्रतिशत र जनसहभागिता ५० प्रतिशत गरेर १३ वटा योजना सम्पन्न भएको वडाध्यक्ष पूर्णकुमार गुरुङले जानकारी दिए ।

वडा नम्बर २७ का इन्जिनियर रविचन्द्र घिमिरेका अनुसार ५० प्रतिसत जनताको सहभागिता रहेका ती योजनामा कुल ९ करोड ६२ लाख ९३ हजार खर्च भएको छ । वडा स्तरीय ३९ वटा योजना सबै सम्पन्न भएको र ती योजनामा १ करोड ३० लाख खर्च भएकोमा महानगरको १ करोड १० लाख र २० लाख जनसहभागिता जुटाएका हुन् ।

महानगर स्तरीय १४ वटा योजनामा १३ वटा सम्पन्न भएको र ती योजनामा १ करोड ८२ लाख ६० हजार खर्च भएको घिमिरेले जानकारी दिए ।

यसैबिच

योजना सम्पन्न गर्न विशेष योगदान गरेका र विकास निर्माणमा सक्रिय गरी २९ जनालाई वडा कार्यालयले शुक्रबार सम्मान गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख जिसीले २७ नम्बर वडाले गरेको काम प्रशंसा गर्न लायक रहेको बताए ।

उनले विकास निर्माणको काम गर्दा गुणस्तरमा सम्झौता गर्न नहुने बताए । १० लाख सम्मको योजना वडामा सम्झौता हुने भएकाले अब महानगरको कार्यालय पुग्न नपर्ने बताए । जनतालाई साथमा लिएर विकास र पूर्वाधारको काम गर्न महानगर लागि परेको उनको भनाइ छ ।

जिसीले वडा नम्बर २७ मा सम्पन्न भएका योजनाहरुको निरीक्षण समेत गरेका थिए । वडाध्यक्ष गुरुङले वडालाई नमुना बनाउन आफू लागि परेको बताए । सुन्दर प्लट मार्ग काले पत्र सडक निर्माण समितिका अध्यक्ष क्याप्टेन गणेशप्रसाद गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा समाजसेवी धनबहादुर गुरुङ, वडा सचिव लीलामणि भण्डारीले वडाको गतिविधिको बारेमा बोलेका थिए । इन्जिनियर घिमिरेले आर्थिक वर्ष २०७५÷०७६ को लागि पनि ६० प्रतिसत योजनाको सम्झौता भइसकेको जानकारी दिए ।

कमेन्टहरु
Loading...