पोखरा महानगरलाई सय वर्ष थेग्ने मापदण्ड बनाउन सुझाव

पोखरा, १६ कात्तिक/ पोखरालाई व्यवस्थित र सुन्दर बनाउनुका साथै अबको सय वर्ष थेग्ने भवन तथा पूर्वाधार निर्माण मापदण्ड बनाउन महानगरपालिकालाई सांसदहरुले सुझाव दिएका छन् ।

विज्ञ समूह गठन गरी पोखरा महानगरपालिकाले तयार गरेको भवन तथा पूर्वाधार निमार्ण सम्बन्धी मापदण्ड २०७५ बारे सुझाव लिन आयोजित छलफलमा सांसदहरुले पोखराको सौन्दर्य नबिग्रने गरी मापदण्ड बनाउनुपर्ने सुझाव दिएका हुन् । दीर्घकालीन सोच राखेर महानगरले काम गर्नुपर्ने सुझाव उनीहरुको छ ।

छलफलमा सांसदहरुले कार्यान्वयन गर्न सकिने र दूरगामी महत्व राख्ने मापदण्ड बनाउन सुझाव दिएका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य वृन्दा राना मगरले पोखराको भौगोलिक अवस्थालाई हेरेर भौतिक संरचना निर्माण गर्नुपर्ने बताइन् । सार्वजनिक जग्गाको संरक्षण गर्दै हचुवाको भरमा नभइ दीर्घकाललाई ध्यान दिएर भवन तथा पूर्वाधार निर्मणको मापदण्ड बनाउनुपर्ने बताइन् ।

सांसद कृष्णबहादुर थापाले भवन र पूर्वाधार निर्माणको मापदण्ड बनाउँदा एक इन्च पनि सम्झौता नगरी पोखराको भविश्यलाई हेरेर बनाउनुपर्ने बताए । पुरानो पोखराका नगरबासी, ३१ सालपछि पोखरामा थपिएका वडाबासी, साविक लेखनाथवासी र गाउँबाट सिधै महानगर बासी भएका गरी चार किसिमका बासिन्दा भएकाले त्यसलाई ध्यानदिए महानगरले काम गर्नुपर्ने उनले बताए । सांसद मित्रकुमारी गुरुङ सुवेदीले निजी घरको मापदण्डलाई वैज्ञानिक बनाइनुपर्ने बताइन् ।

सांसद प्रभा कोइरालाले

अबको एक सय वर्षलाई थेग्ने गरी मापदण्ड बनाउन सुझाव दिइन् । सडकको मापदण्ड बनाउँदा कन्झुस्याईं गर्न नहुने र पार्किङको समस्यालाई समाधान गर्न घर बनाउँदा अन्डरग्राउन्ड पार्किङलाई अनिवार्य गर्नुपर्ने सुझाव उनको छ ।सांसद राजीव पहारीले सहरीकरणलाई व्यवस्थित गर्नेगरी मापदण्ड बनाउनुपर्ने बताए । समय सापेक्ष पोखराको सौन्दर्य नबिग्रने गरी भवन निर्माण सम्बन्धी मापदण्ड बनाउन पहारीले सुझाए । उनले प्राकृतिक स्रोत साधनको जथाभावी दोहन भएको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।

सांसद पुष्पा केसी भण्डारीले ताल तथा जलाधार क्षेत्रमा बाटो बन्दा त्यसले समस्या ल्याएको बताउँदै त्यसलाई रोक्नुपर्ने बताइन् । सांसद रामजी बराल जीवनले वैज्ञानिक मापदण्ड बनाई पच्न सक्ने कठोर भएर कार्यान्वयनमा लैजान महानगरलाई सुझाव दिए । बनाइएको मापदण्ड लागू गर्न सकिन्छ कि सकिँदैन त्यसलाई पनि ख्याल गर्न उनले सुझाव दिए । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विज्ञ समूहले तयार पारेको मापदण्डका बारेमा सरोकारवाला निकायसँग राय सुझाव लिएर नै त्यसलाई कार्यान्वयन तहमा लैजानका लागि सांसदसँग छलफल गरिएको बताए ।

‘अपनत्व सबैले लिनुपर्छ,’ प्रमुख जिसील भने,‘ सबैको राय सुझावलाई समेटेर भवन तथा पूर्वाधार निर्माण मापदण्डलाई महानगरले कार्यान्वयनमा लैजान्छ ।’ कात्तिक महिना भरी मापदण्डमा घनिभूत छलफल गरेर मंसिरको कार्यपालिका बैठकबाट पारित गराइ कार्यान्वयनमा लैजान तयारी महानगरले गरेको उनले जानकारी दिए । महानगरपालिकाले प्राध्यापक डाक्टर भरतराज पहारीको संयोजकत्वमा गठन गरेको मापदण्ड निर्धारण सुझाव समितिले भवन तथा पूर्वाधार निर्माण सम्बन्धी मापदण्ड २०७५ तयार पारेको हो ।

पोखराको भौगोलिक अवस्थालाई ध्यानमा राखेर, विगतका मापदण्ड सम्बन्धीका प्रतिवेदनलाई समेत अध्ययन गरी वैज्ञानिक ढंगबाट नै मापदण्ड तयार पारिएको मापदण्ड निर्धारण सुझाव समितिका सदस्य सचिव तथा महानगरका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले बताए । छलफलमा मापदण्ड निर्धारण सुझाव समितिका संयोजक पहारीले मापदण्ड बारे आफ्नो प्रस्तुति राखेका थिए भने महानगरका प्रमुख जिसीको अध्यक्षता कार्यक्रम भएको थियो ।

कमेन्टहरु
Loading...