प्याराग्लाइडिङ दुर्घटना हुदा फेवातालमा डुबेर एकको मृत्यु

सागर राज तिमिल्सिना
पोखरा, ५ असार /प्याराग्लाइडिङ दुर्घटना हुदा पोखरा सोमबार एक जनाको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगर पालिका ३३ का प्रभात सुवेदीको प्याराग्लाइडिङ दुर्घटना भई फेवातालमा डुबेर मृत्यु भएको हो ।

ब्लु स्काई फ्लाईङ स्कुल मार्फत तीन दिने सेफ्टी कोर्षमा सहभागी उनले अन्तिम दिनको अन्तिम उडानमा ज्यान गएको हो । सराङकोटबाट उडान भरेर आपतकालिन अबतरणको अभ्यासका क्रममा तालमा खसेको उनले तत्काल मृत्यु भएको हो । सुवेदी बाबा फ्लाईङ स्कुलमा प्याराग्लाईडिङ प्रशिक्षण पुरा गरी सोही स्कुलको सिफारिसको आधारमा ब्लु स्काई फ्लाईङ स्कुलमा प्रशिक्षण लिदै थिए ।

तत्काल उद्धार गरे सुवेदीलाई पोखराको मेट्रोसिटी अस्पतालमा लगेपनि अस्पताल नपुग्दै बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको शव पोष्टमार्टका लागि पश्चिमाञ्चल अस्पतालमा राखिएको छ । केहि महिना पहिले पनि प्याराग्लाइडिङ सिक्ने क्रममा एक जनाको ज्यान गएको थियो ।

तीन दिने कोर्ष अन्तर्गत कुल ९ वटा फ्लाइट पुर्याउनुपर्ने हुन्छ नवौ फ्लाइटको क्रममा उनी दुर्घटनामा परेका हुन् । अभ्यासका क्रममा सुवेदीले सेफ्टी प्यारासुट फालेर झर्नुपर्ने थियो तर पहिल्यै ब्याल्क आउट भए पछि दुर्घटना भएको एक पाइलले भने ।

यो कोर्ष अन्तर्गत प्याराग्लाइडिङ उडानको क्रममा आकाशमा भईपरी आउने आपतकालिन अबस्थामा कसरी सुरक्षित अबतरण गराउने भन्ने प्रशिक्षण दिइन्छ । जस अनुसार सराङकोटबाट उडान भरेर विचमा पुगेपछि आपतकालिन अबस्थाका पूर्व आकलन गरी सोही अनुसार ग्लाइडरको सन्तुलन आफैले बिगार्ने काम गरिन्छ । त्यसपछि आपतकालिन अबतरणको लागि प्यारासुट खोलेर तालमा अबतरण गराइन्छ ।

यो अभ्यासका क्रममा तालमा मोटरबोट, र्याफ्टिङ डुङ्गा र कायक तथा उद्धारकर्मी पहिल्यै तैनाथ हुन्छन् । ग्लाइडरको सन्तुलन विगारेपछि प्यारासुट फाल्न ढिलाई भएका कारण उनी एक्कासी तालमा खसेको प्रहरीले जानकारी दिएको छ ।

 

 

कमेन्टहरु
Loading...