पोखरामा ५० वटा होटल सञ्चालनको तयारीमा

सुरेन्द्र पौडेल
पोखरा, ११ असार /पर्यटकीय शहर पोखरामा होटल उद्योगमा लगानी थपिदै गएको छ । होटल व्यवसायप्रति निजीक्षेत्रको आकर्षण बढेसँगै पोखरामा धमाधम ठूला होटलमा लगानी बढेको हो । विश्वभर पर्यटकीय शहरका रूपमा पहिचान बनाउन सफल पोखरामा पछिल्लो एक वर्षको अवधिमा करीब ५० होटल थपिएका छन् ।

सानादेखि पाँचतारे होटलसम्म थपिने क्रममा रहेको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले बताए । ‘पोखरामा अहिले होटलमा लगानी निकै बढेको छ,’ उनले भने, ‘पोखरामा आगामी दशैंसम्म करीब ५० वटा होटल थपिन्छन् ।’ अघिल्लो वर्ष करीब ३० वटा पर्यटक स्तरका होटल थपिएको उनले जानकारी दिए । पोखरा तथा आसपासका क्षेत्रमा हाल करीब ६ सय ५० होटल सञ्चालनमा रहेको उनले बताए । ‘सङ्घमा आबद्ध होटलमात्र ४ सय छन्,’ उनले भने, ‘सङ्घमा आबद्ध नभएका होटल पनि प्रशस्त छन् ।’

पोखरामा थपिने नयाँ होटल प्रायः २५ वटा कोठाभन्दा बढी क्षमता छन् । अधिकांश होटल पोखराको लेकसाइड क्षेत्रमा निर्माण भइरहेका छन् । केही होटल बेगनासताल, रूपाकोट, सराङकोट, नौडाँडा, कन्दनीडाँडा, पुम्दीभुम्दी, धम्पुसलगायत क्षेत्रमा निर्माण भइरहेको तुलाचनले बताए । साना पर्यटकस्तरीय होटलमा पनि कम्तीमा १० करोड रुपैयाँसम्म लगानी हुने गरेको व्यवसायीको अनुभव छ । ‘ठूला होटलमा १ अर्ब रुपैयाँभन्दा धेरै लगानी पनि भइरहेको छ,’ अध्यक्ष तुलाचनले भने ।

पोखरामा होटलबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ५० हजारभन्दा बढीले रोजगारी पाइरहेको व्यवसायी बताउँछन् । पोखरामा होटलको सङ्ख्याभन्दा पनि स्तरीय होटल थपिनुपर्ने बताउँछन् माउण्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराई । पोखरामा क्षेत्रीयस्तरको अन्तरराष्ट्रिय होटल बन्ने प्रक्रिया अगाडि बढेकाले पनि होटल क्षेत्रमा लगानी बढेको भट्टराईको अनुमान छ । ‘पोखरामा अन्तरराष्ट्रिय विमानस्थल बन्ने भएपछि पर्यटन क्षेत्रमा लगानी बढेको हो,’ उनले भने, ‘विमानस्थल बनेपछि पर्यटक बढ्ने आशामा लगानी बढेको देखिन्छ ।’

पोखराका होटलमा अहिले १६ हजारभन्दा बढी बेड सङ्ख्या रहेको अध्यक्ष तुलाचनले बताए । ‘यही वर्षमा २ हजार ५ सय बेड बढ्ने हाम्रो अनुमान छ,’ उनले भने । पोखरामा लगानीका लागि सम्भावित भएको क्षेत्र भएकाले पर्यटन उद्योगमा लगानी बढेको उनले बताए । वित्तीय संस्थाले पनि पर्यटन क्षेत्रमा चासो देखाएकाले लगानी बढेको तुलाचनले भनाइ छ ।

भूकम्प र नाकाबन्दीका समयमा सुस्ताएको होटल व्यवसायले विस्तारै प्रगति गर्दै गइरहेको व्यवसायी बताउँछन् । भूकम्पअगाडिको तुलनामा चाइनिज पर्यटकको सङ्ख्यामा कमी आए पनि भातरीय पर्यटकको सङ्ख्यामा सुधार आएको तुलाचनले बताए । पोखराका होटलले नेपालको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको व्यवसायीहरु बताउँछन् । यहाँका होटल व्यवसायीले पर्यटकलाई पोखरा भित्र्याउन सञ्चालन गरेको ‘जाउँ है पोखरा’, ‘चलिए पोखरा’लगायतका अभियानले पनि पर्यटन प्रवद्र्धन गरिरहेको पश्चिमाञ्चल होटल सङ्घका निवर्तमान अध्यक्ष भरतराज पराजुली बताउँछन् । निजीक्षेत्रबाट पोखराको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगे पनि सरकार उदासीन भएको व्यवसायीको आरोप छ ।

 

कमेन्टहरु
Loading...