पोखरामा लाइट हेलिकप्टरको ‘ट्याक्सी’ सेवा सुरू, कति भाडा दर सहित

पोखरा, २३ असोज/हेलिएयरले लाइट हेलिकप्टरमार्फत पोखरामा व्यवसायिक उडान सुरू गरिसकेको छ। गत साउनमा उडान अनुमति पाएको हेलिएयरले भदौ २२ गतेदेखि व्यवसायिक उडान गरिरहेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोनन लामिछानेका अनुसार अहिले एउटा ‘जेरोकप्टर’ बाट दैनिक ४५ उडान भइरहेको छ। दुवै विमानबाट एकैसमयमा उडान गर्न पर्याप्त पाइलट नभएकाले मिलाएर गरिएको उनले बताए।

‘पाइलटहरूको प्रशिक्षण भइरहेको छ। सकिएपछि छिट्टै दुवै विमान पूर्णरुपमा उडान गर्नेछौं’ उनले भने।

‘अल्ट्रा लाइटको दाजु’ र ‘हेलिकप्टरको भाइ’ भन्न मिल्ने दुइटा ‘लाइट हेलिकप्टर’ फ्रान्सबाट ल्याएर हेलिएयरले पोखरा विमानस्थलबाट व्यवसायिक उडान गरिरहेको हो। यसमा विदेशी पर्यटकहरू निकै आकर्षित छन्। कम्पनीको मुख्य उद्देश्य नै पोखरा तथा हिमाल दृष्यावलोकन गराउनु हो।

‘उडान सेवा सुरू गरेपछि नेपालीभन्दा पनि विदेशी पर्यटकको मुख्य चासो देखिएको छ,’ लामिछानेले भने ‘नेपालीले पनि यसबाट सेवा लिन्छन्। विशेषगरी विदेशी र त्यसमा पनि युरोपियनहरूले बढी चासो देखाइरहेका छन्।’

अल्ट्रा लाइट र हेलिकप्टरभन्दा फरक विशेषता भएको यो हेलिकप्टर सेवा दक्षिण एसियामै पहिलो भएको कम्पनीको भनाइ छ। पेट्रोलबाट चल्ने यो हेलिकप्टरले लगातार तीन घन्टा वा ८ सय किलोमिटर उडान गर्नसक्छ।

कम्पनीले यात्राका विभिन्न प्याकेज ल्याएपनि हाल पोखराको ‘साइट सिन र माउन्टेन फ्लाइट’ मा पर्यटक आकर्षित भएको लामिछाने बताउँछन्।

यसमा चालकसहित दुई जना यात्रा गर्न मिल्छ। जमिनबाट ५०० देखि १२ हजार मिटरसम्मको उचाइमा उड्न सक्ने यो हेलिकप्टरबाट दृश्यावलोकन निकै रोचक हुने कम्पनीको भनाइ छ। झण्डै ३६० डिग्रीमा दृष्य देख्न सकिने यो हेलिकप्टरका यात्रुले सतह नजिकबाट चारैतिर स्पष्ट दृष्यावलोकन गर्न सक्छन्।

लामिछानेका अनुसार अरु हेलिकप्टर वा विमानलाई असर गर्ने हावाहुरी चलेकाबेला पनि लाइटले सजिलै उडान पार गर्न सक्छ।

‘हावाहुरी र अँध्यारोमा पनि उड्न सक्ने विशेषताका कारण यो आपतकालिन उद्धार र यात्रामा बढी प्रचलित छ,’ उनले भने।

आपतकालिन अवस्थामा जहाँजस्तो ठाउँमा अवतरण गर्न सकिने यो हेलिकप्टर उड्न भने ९० मिटर खालि ठाउँ चाहिन्छ। सामान्य हावा लागेको स्थानमा भने उक्त खालि ठाउँ नचाहिने प्राइभेट पाइलट समेत रहेका लामिछानेले बताए।

पर्यटकीय गतिविधि बढाउन यो सेवा सुरू गरिए पनि यसबाट सम्भव अन्य सबै सेवा दिन आफूहरु तयार रहेको उनी बताउँछन्।

‘नेपालमा थुप्रै सुन्दर सम्पदा छन्, तर हामीसँग त्यो देखाउने राम्रो पूर्वाधार भएन’ लमिछानेले भने,’ लाइट हेलिकप्टरबाट ३६० डिग्रीको भ्यू देखिने हुनाले अब त्यो आवश्यकता पूरा हुन्छ।’

एक्लै यात्रा गर्न रूचाउनेका लागि हेलिकप्टर चार्टर महँगो पर्ने हुँदा यस्ता यात्रुका निम्ति हेलिएयरको सेवा लाभदायी हुने उनको विश्वास छ।

अबको छ महिनाभित्र नेपाली पाइलट तयार गर्ने लक्ष्य कम्पनीको छ।

कति समय उड्दा कति रुपैयाँ लाग्छ ?

हेलिएयरले हाल पाँचवटा प्याकेज ल्याएको छ। विदेशी र नेपालीको लागि एउटै दर निर्धारण गरेको कम्पनीसँग १५, ३०, ६०, ९० र १२० मिनेटको प्याकेज छ।

पोखरा सहर, साराङकोट, फेवा ताल, विश्वशान्ति स्तुपा, लेकसाइड र रानीवनको दृष्यावलोकन १५ मिनेटको प्याकेजमा छ। यसको भाडा १५ हजार रुपैयाँ तोकिएको छ।

माछापुच्छ्रे हिमाल, अन्नपुर्ण श्रृंखला, सेती नदी, पंचासे गाउँ, गुरुङ गाउँ र अष्ट्रेलियन क्याम्प दृष्यावलोकन हुने पोखरा प्याकेज ३० मिनेटको छ। यसको भाडा २५ हजार रुपैयाँ पर्छ।

माथि उल्लेखित ३० मिनेटको प्याकेजसँगै सिक्लेस गाउँ, अन्नपुर्ण श्रृंखला, क्वाँछे हिमताल, लमजुङ हिमाल, सेती म्याली, मार्डी हिमाल र पोखरा दृष्यावलोकनसहित एक घण्टे प्याकेजको भाडा ४० हजार रुपैयाँ छ।

९० मिनेटको माउन्टेन उडानमा अघिल्ला १५, ३०, ६० मिनेटका सबै प्याकेज एकैपटक समावेश गरिन्छ। यसको भाडा ५५ हजार रुपैयाँ छ।

‘अल्पाइन टुर’ प्याकेज दुई घण्टाको छ। यसमा माउन्टेन उडानसँगै बलेवा एयरपोर्टमा माउन्टेन कफी र आकाशबाट गाउँको दृष्यावलोकन गराइन्छ जसको भाडा ६ सय ९८ अमेरिकी डलर पर्ने कम्पनीले जनाएको छ।

यी सबै भाडा सुरुआती रहेका र पछि यात्रुको प्रतिक्रियासँगै पुनर्विचार हुँदै जाने लामिछानेले जानकारी दिए। साभारः सेतोपाटी डटकमबाट

कमेन्टहरु
Loading...