पोखराको फुटबल स्टेडियम बनाउने कम्पनीद्वारा स्थलगत निरिक्षणमा

पोखरा, २४ पुस/ ‘हामीले सर्भे गरेपछि काम शुरु गर्छौ । सर्भे मंगलबार या बुधबार हुन्छ ।’ पोखरा रंगशालास्थित फुटबल स्टेडियम निर्माणको जिम्मा पाएको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का पदाधिकारीले सोमबार विहान स्थलगत निरिक्षण गरेपछि भने–‘फुटबल मैदान वरिपरीको झाडी फाड्छौं । सर्भे गरेर सकेपछि कामको रफ्तार हुने छ ।’

फुटबल मैदानको चारैतिर निरिक्षण गरेपछि एम. ए कन्ट्रक्सनका सञ्चालक हरिकुमार न्यौपानेले तोकिएकै समयभित्र विना अडचन काम पुरा गर्ने स्पष्ट पारे । ‘केही अप्ठ्यारा परिस्थति नआउन काम शुरु गर्नुभन्दा पुर्व नै सहमति हुनुपर्छ । त्यसै अनुसार काम गर्ने हो । भोलि काम गर्दै गएपछि यसो गर्ने र उसो गर्ने भन्दा काममा बाधा अडचन आउन सक्छ ।’ उनले जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समिति एवं राष्ट्रिय खेलकुद परिषदका कर्मचारीसँगको छलफलमा भने । पुर्वाधारको काम शुरु गरेपछि समस्या नआउने गरी काम गर्नुपर्नेमा उनको भनाई थियो ।

राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता लगत्तै कम्पनीको टोली पोखरा आईपुगेको हो । पोखरामा आउँदो माघ १५ गतेदेखि हुने मनकामना केवलकार कप फुटबल प्रतियोगितालाई भने असर नपर्ने गरी काम गर्ने बताइएको छ । ‘कुनै प्रतियोगिताको नाममा पुर्वाधार निर्माणको काम भने रोकिनु र ढिला हुनु हुदैन् । हाम्रो पहिलो प्राथमिकता र महत्वको विषय बस्तु जे हो त्यसैलाई अगाडि बढाउनुपर्छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले भने ।

भारतीय कम्पनी ग्रेट स्पोर्टसका प्राविधिक सिद्धान्त परदेशी समेत पोखरा रंगशाला आईपुगेर बस्तुगत अध्ययन गरेका छन् । ‘भविष्यलाई हेरेर काम गर्नुपर्छ । त्यसैले अहिले नै केही कुराहरुलाई टुग्याउन जरुरी छ ।’ उनले भने । कम्पनीले टर्फ खेल मैदान, सिन्थेटिक ट्रयाक र स्टिल स्ट्रक्चर हुने जनाएको छ । भारतीय प्राविधिक सिद्धान्तका अनुसार टर्फ मैदान अमेरिकाबाट आउने छ । सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट आउने छ । प्यारापिटसहितको फुटबल मैदान बनाउन कम्पनीलाई १० महिनाको समयावधि छ । ‘काम भन्दा पहिला निर्णय हुनु महत्वपूर्ण हुन्छ । निर्णय नहुदाँ काममा समस्या आउन सक्छ ।’ भारतीय प्राविधिक सिद्धान्तको भनाई थियो ।

पोखरामा अन्तराष्ट्रियस्तरको फुटबल मैदान बनाउन चार देशको चासो

कम्पनीको प्राविधिक टोलीले सर्भे सकेपछि भईरहेको मैदानलाई थप उचाईमा लैजाने वा पुरानै अवस्थामा पानीको निकासलाई व्यवस्थित गर्ने भन्ने महत्वपूर्ण पाटो रहने छ । पोखरामा अत्याधिक पानी पर्ने भएकोले पनि पानीको निकास सहज हुनुपर्नेमा विशेष ध्यानदिनुपर्ने कम्पनीका सञ्चालक न्यौपानेले बताए । उनले प्रशिक्षण मैदान र प्रतियोगिता गरिने मैदानलाई लक्षित गरी एउटै अफिसियल ब्लकले जोड्ने अभिव्यक्ति दिए । कालोपत्रे सडकलाई माथिल्लो क्षेत्रबाट ल्याउने स्पष्ट पारे ।

मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने उल्लेख छ । मैदान टर्फ अथवा प्राकृतिक हुनुपर्ने उल्लेख छ । एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक हुनुपर्ने उल्लेख छ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनुपर्ने टेण्डरमा खुलाइएको थियो । टर्फ मैदानको आयु १५ देखि २० वर्षको हुने छ । खास गरी प्राकृतिक मैदानमा मर्मत सम्भार खर्च वर्षेनी लाग्ने हुदाँ पोखरामा टर्फ मैदान नै उपयुक्त हुने कम्पनीको ठहर छ ।

प्यारापिट केवल २० हजार दर्शक क्षमताको हुने छ । ‘दर्शक क्षमता २० हजारमा १० प्रतिशत माईनस÷प्लस छ । तर भविष्यलाई हेरेर विस्तार गर्न सकिने गरी निर्माण गर्नुपर्छ ।’ कम्पनीका सञ्चालक न्यौपानले भने–‘फाउण्डेशन नै त्यही अनुसार तयार गर्नुपर्छ ।’ उनले रात्रीकालिन प्रतियोगिताको लागि समेत आवश्यक पर्ने लाईटको व्यवस्था गर्ने विषयमा पहिले नै छलफल हुनुपर्नेमा जोड दिए । उनका अनुसार लाईटको लागि पोल हाल्ने वा रुफटपमा राख्ने भन्ने निर्णय हुनुपर्छ ।

नयाँ भौतिक संरचना निर्माण गर्ने उद्देश्यसहित १३ महिना अघि ती मैदानको पुर्व पश्चिम रहेका दुई प्यारापिट भत्काईएको थियो । राष्ट्रिय खेलकुद परिषदले भने फुटबल स्टेडियमको लागि आवश्यक बजेटमध्ये ५३ करोड समेत विनियोजन गरिसकेको छ । मैदानको लागि १ अर्ब ७३ करोड ५५ लाख खर्च हुने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले १ अर्ब २० करोड ५५ लाख रुपैयाँको उपलब्ध गराउने सुनिश्चितता गरेको थियो ।

कमेन्टहरु
Loading...