पोखरा महोत्सव मंगलबार देखि, तयारी अन्तिम पुरा

३ करोडको व्यवसाय गर्ने लक्ष्य
पोखरा, २९ पौष/पोखरामा आयोजना गरिएको चौथौ पोखरा महोत्सवको तयारी पुरा भएको छ । पोखराको अमरसिंह चौरमा युनाईटेड क्लबले आयोजना गरेको महोत्सवको मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरिने भएको छ । यस पटक महोत्सवको मुख्य आकर्षण अष्ट्रिज प्रदर्शनी रहेको छ । करिव ३ करोडको व्यवसाय गर्ने लक्ष्य राखिएको महोत्सव सम्पन्न गर्न ४७ लाख ३६ हजार खर्च लाग्ने र ६३ लाख ६३ हजार आम्दानी हुने आयोजकको अनुमान छ । झण्डै दुई लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य रहेको क्लबका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक हिमालय बख्रेलले जानकारी दिए ।

पोखरा महोत्सवको बारेमा जानकारी दिदै
पोखरा महोत्सवको बारेमा जानकारी दिदै

महोत्सवबाट भएको आम्दानी विगतका वर्षहरुमा जस्तै २५÷२५ प्रतिशत शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्वनका लागि खर्च गरिने बताइएको छ । महोत्सवमा विभिन्न उत्पादनका करिव २ सय ओटा स्ट्रल रहने अर्थ तथा स्ट्रल संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सवमा रहने सवै स्टलहरु बुकिङ भइसकेको श्रेष्ठले बताए । महोत्सवको आकर्षणमा विविध मनोरञ्जनात्मक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी, बाल उद्यान, जनावर प्रदर्शनी, पप कन्सर्ट, पर्यटकीय स्थलको जानकारी, झाँकी प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी र बिक्री रहेका छन् । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रबद्र्वनको उद्देश्यले महोत्सव आयोजना गरिन लागिएको प्रचार–प्रसार उपसमितिका संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

क्लबले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयमा छात्रवृत्ति, स्वास्थ्यको क्षेत्रमा आयुर्वेद स्वास्थ्य शिविर, खेलकुदतर्फ खेलको प्रर्बद्वन गर्न ग्रामीण क्षेत्रमा सहयोग गर्ने तथा पर्यटनतर्फ पोखरा उपत्यकामा चिडियाखाना निर्माणका लागि पहल गर्दै आएको छ । चिडियाखाना निर्माणका लागि जिल्ला विकास समिति कास्कीसँग समन्वय गरी हिमालय बैंक अमरसिंह चोकमा खाता खोली क्लबका अध्यक्ष र स्थानीय विकास अधिकारीको संयुक्त दस्तखतमा छ लाख रुपैयाँको कोष समेत स्थापना भइसकेको छ । चिडियाखानाका लागि जिल्ला विकास समिति कास्कीले पनि १५ लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।

कमेन्टहरु
Loading...