तुँवालोले ढाक्यो पोखरा, पानी पर्ने सम्भावना

पोखरा, १४ चैत /लामो समयदेखि पोखरामा पानी नपर्दा पोखरा र आसपासका क्षेत्रमा तुवाँलोको प्रभाव बढ्दै गएको छ ।
तुवाँलोका कारण वायुमण्डल धुमिल बनेको छ भने टाढा टाढाका दृश्य हेर्न समेत समस्या हुन थालेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालका अनुसार लामो समयदेखि पानी नपरेको र राम्रोसँग हावा समेत नलागेका कारण पोखरा तथा आसपासको क्षेत्रका हावामा तुवाँलो थपिने क्रम दिनदिनै बढ्दै गएको हो । पानी परेसँगै तुवाँलो फाटेर जाने बताउँदै उनले आज साँझसम्म पश्चिम क्षेत्रमा क्षणिक रुपमा पानी पर्ने सम्भावना भएको जानकारी दिए।

जलवायुमा देखिएको परिवर्तनका कारण पनि पानी नपर्ने, तुवाँलो भरिँदै जाने जस्ता समस्या बढ्न थालेको उनको भनाइ छ । तुवाँलोले वायुमण्डल धमिलो भए पनि प्रदूषण न्यून भएका ठाउँमा त्यसबाट स्वास्थ्यमा भने खासै असर नपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख सागर घिमिरेले जानकारी दिए ।

केही दिनयता बाक्लिँदै गएको तुवाँलोका कारण पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आएका पर्यटक मारमा परेका छन् । तुवाँलोका कारण दैनिक लगभग १५० को सङ्ख्यामा उड्ने गरेका प्यारग्लाइडिङ दुईचार दिनयता लगभग ४० को सङ्ख्यामा मात्र उडेको नेपाल हवाई खेलकुद संस्थाका कावा अध्यक्ष सोभियत बानियाँले जानकारी दिए।

बानियाँका अनुसार तुवाँलोका कारण राम्रोसँग दृश्यावलोकन गर्न नसकिने भएका कारण प्याराग्लाइडिङ उडानमा सहभागी हुने पर्यटकको सङ्ख्या घटेको हो । “छोटो बिदाको समय लिएर घुम्न आएकाहरु बाहेक तुवाँलोको बढिरहेको प्रभावका कारण दृश्यावलोकन गर्न असहज भएकाले अन्य पर्यटक प्याराग्लाइडिङ उडानमा सहभागी भएका छैनन्”, उनले भने। रासस

कमेन्टहरु
Loading...