पोखरामा डेंगु बढ्दैः १० ट्राफिक प्रहरी सहित ४३९ लाई संक्रमण

पोखरा, १३ भदौ / पोखरामा १० जना ट्राफिक प्रहरी सहित ४ सय ३९ जनामा डेंगू देखिएको छ । यो संक्रमण उपचार गर्न खटिएका अस्पतालका डाक्टर र नर्समा समेत डेंगू भेटिएको छ ।

पोखरा महानगरपालिकाको वडा नम्बर ८ र वडा नम्बर ९ मा डेंगूको संक्रमण बढी देखिएको हो । डेंगू पोथी लामखुट्टेले टोक्दा सर्ने भाइरल संक्रमण हो ।

वडा नम्बर ८ र ९ मा ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीमा लामखुट्टेले टोकेर भाइरल संक्रमण डेंगू देखिए पछि पोखराका विभिन्न अस्पताल र नेपाल प्रहरी अस्पताल काठमाडौंमा समेत उपचार भइरहेको जिल्ला ट्राफिक कार्यलय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए । कास्कीमा ९२ जना ट्राफिक प्रहरी कार्यरत छन् । थप ५ जना पनि लामखुट्टे जन्य भाइरल संक्रमण डेंगूकै सिम्ट्रम देखिएको उनले बताए ।

विभिन्न जिल्लाबाट पोखरा प्रवेश गर्ने पृथ्वीचोक बस पार्क वडा नम्बर ९ मा पर्दछ । वडा नम्बर ९ मा १ सय १८ जनामा लामखुट्टे जन्य भाइरल संक्रमण डेंगू देखिएको जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए । वडा नम्बर ९ सँगै जोडिएको वडा नम्बर ८ मा १ सय ५ जनामा यो संक्रमण देखिएको उनले जानकारी दिए ।

पोखरा महानगरपालिकाको ३३ वडा मध्येमा २७ वटा वडामा लामखुट्टे जन्य भाइरल संक्रमण डेंगू देखिएको उनले बताए । एडिस एजेप्टाई र एब्लो पिक्टस जातको पोथी लामखुट्टेले टोकेको तीन देखि १४ दिनमा डेंगूको लक्षण देखिन्छ ।

वर्षा याममा पानी जम्ने थोत्रा टायर, टिनका बट्टहरु, खाली ड्रम, गमला, फुलदानी, आदिमा पानी जम्दा त्यहा यो फैलाउने लामखुट्टेले फुल पार्ने र यसको संक्रमण झन बढ्ने खतरा हुने भएकोले घर वरपर सरसफाईमा ध्यान दिनु पर्ने बरालले बताए ।

दिउसो टोक्ने कालो रंगको डेंगू फैलाउने लामखुट्टेको जिउँमा सेतो पट्टी हुन्छ । डेंगूको संक्रमण भएमा चिसो लाग्नुको साथै टाउको दुख्ने, ज्वरो आउने, हाड तथा जोर्नी दुख्नु, आँखा दुख्नु, वाकवाकी लाग्नु वान्ता हुनु रगत बग्नु वा रगतको रैश देखिनु लगायतका लक्षण देखिने गर्दछ ।

कमेन्टहरु
Loading...