पोखरामा बीच भलिबल प्रतियोगिता शुरु

पोखरा, १ भदौ / पोखरामा शुक्रबार देखी खुल्ला पुरुष बीच भलिबल प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालन प्रतियोगिताको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरे ।

उद्घाटन खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्रले र सिद्धिबक्स गण फुलबारी व्यारेकलाई २–१ को सेटमा हरायो । केन्द्रले १८–२१, २१–१९ र १५–११ ले लिदैं आर्मीमाथि जित निकाल्यो । प्रतियोगितामा २० टिमको सहभागिता रहेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले भलिबलका राष्ट्रिय रेफ्री राजन पौडेललाई भलिबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् । मन्त्री गुरुङले कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारले खेलकुदलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिएको बताए ।

सिंगो गण्डकी प्रदेशकै खेलकुद विकासका लागि प्रदेश सरकारले एकेडेमी, परिषद तथा बहुउद्देश्यीय रंगशाला निर्माणको योजनालाई अघि सारेको मन्त्री गुरुङको भनाई थियो ।

मन्त्री गुरुङले खेलकुद क्षेत्रको नीतिगत र कानूनी समस्याको पहिचान गरी त्यसको निकारकरण गर्न चाहेको प्रष्ट पारे । उनले खेलकुदको माध्यममार्फत गण्डकी प्रदेशलाई सबैभन्दा विशेष महत्वको प्रदेश बनाउन सकिने औंल्याए । बीच भलिबललाई गाउँगाउँमा पु¥याउन सकिने मन्त्री गुरुङको कथन थियो।

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई स्पोर्ट्स सिटिका रुपमा विकास गर्न सकिने बताए । खेलकुद मन्त्रालयमा आफू कार्यरत हुँदा पोखरालाई स्पोर्ट्स सिटिका रुपमा विकास गर्न विज्ञ टोली खटाएको र उक्त विज्ञ टोलीले प्रतिवेदनसमेत बुझाइसकेको सचिव दाहालले उल्लेख गरे ।
नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बीच भलिबलबाट पदक ल्याउने संभावना रहेको बताए ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका गुरुङले एसियाडमा नेपालले बीच भलिबलबाट पदक जित्ने गरी तयारी थालेको औंल्याए ।  कार्यक्रममा खेलकुदको क्षेत्रमा योगदान पु¥याएको भन्दै श्रम मन्त्रालय सचिव महेशप्रसाद दाहाल, नेपाली सेनाका पूर्व उपरथी भिक्टरशंशेर जबरा, नेपाल भलिबल संघका राष्ट्रिय प्रशिक्षक कपिलकिशोर श्रेष्ठ, पत्रकार धन बस्नेत र युवा समाजसेवी महेन्द्रबहादुर गुरुङलाई दोसल्ला ओढाएर कदरपत्रद्धारा सम्मान गरिएको थियो ।

कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक ताराप्रसाद पराजुलीले स्वागत एवं प्रतियोगितबारे प्रकाश र संघका सचिव कुमार गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडी र अनुशासित टिमका लागि समान ५÷५ हजार नगदसहित ट्रफी पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक ताराप्रसाद पहारीले जनाए ।

प्रतियोगिताको लागि नेपाल भलिबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, पश्चिमाञ्चल भलिबल संघ र नेपाल पर्यटन बोर्ड पोखराको सहयोग रहेको छ ।

विकसित मुलुकहरुको प्राय समुन्द्री किनारको बालुवामा २/२ जनाले खेल्ने बीच भलिबल प्रतियोगिता पोखरामा भने चौथो पटक आयोजना गरिएको हो ।

यसभन्दा अघि, पोखरा बैदामको बाराहीघाटस्थित फेवाताल किनारको बीच भलिबल कोर्टमा दुई पटक र बाटुलेचौरमा एक पटक राष्ट्रियस्तरको खुल्ला बीच भलिबल प्रतियोगिताको आयोजना गरिएको कास्की जिल्ला भलिबल संघले जनाएको छ ।

कमेन्टहरु
Loading...