पोखरामा भाइटिका महोत्सवमा पर्यटकको सहभागीता बढ्दो

पोखरा, २४ कात्तिक / पश्चिमाञ्चल होटल संघ पोखराले विगत बर्षहरुमा झैं यसपटक पनि तिहारको अवसरमा शुक्रबार भाइटिका महोत्सव सम्पन गरेको छ ।

पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा यो महोत्सव आयोजना गरिएको हो । रेन्वो चिल्ड्रन होमका छात्राहरुले पर्यटकलाई टीका लगाइदिएका थिए ।

नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबर्द्धन गर्ने उद्धेश्यले १२ औं भाइटिका महोत्सव गरिएको आयोजक संस्थाका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्ने उद्धेश्य समेत महोत्सवले लिएको थियो ।

नेपाली परम्परा अनुसार पर्यटकलाई तिहारको टिका लगाउने, द्यौसी भैलो खेल्ने र सेलरोटी लगायत अन्य परिकार खाने खुवाउने कार्यक्रम महोत्सव अन्तर्गत समेटिएको थियो । विभिन्न १० देशका ६० पर्यटकले टीका ग्रहण गरेका थिए । गत बर्षको ११ औं भाइटिका महोत्सवमा १३ देशका ३५ पर्यटकले टिकामा सहभागिता जनाएका थिए ।

भाइटिका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षहरुका पर्यटकहरु दोहोर्‍याएर समेत टिका लगाउन पोखरा आउन थालेका छन् । भाइटिका महोत्सव पर्यटकका लागि नयाँ पर्यटकीय प्रडक्ट समेत बन्न थालेको महोत्सवका संयोजक एवं संघका कोषाध्यक्ष पार्वती पाण्डेले जानकारी दिइन् । होटल ल्याण्डमार्क र बटरफ्लाई लजले सहयोग गरेको कार्यक्रमको प्रबर्द्धक नेपाल पर्यटन बोर्ड रहेको थियो ।

कमेन्टहरु
Loading...