‘पोखरा आगोले जलेर क्षणभरमै सकियो’

पोखरा, १ बैशाख /कुरा त्यो समयको हो । २००६ साल चैत २९ गते मंगलबार । विन्ध्यावासिनी मन्दिरमा होम तयारी थियो । सारा गाउँले मन्दिरमा भेला भएका थिए ।

होमनको काम भैरहेको थियो । पुजारी, पण्डित, ब्राह्मणहरु धेरै थिए । एक्कासी आँधी चल्यो । हावा हुरीको भुमरी चल्यो । आँपको हाँगो भाँचिएर होमन कुण्डमा पर्यो ।

ब्राह्मणहरुले रुद्री गरेको ठाउँमा बोका काटेछन् । भोग दिएछन् । धर्म विपरित काम गरेकोले अनिष्ट भएको भन्छन् सबै । होमन कुण्डमा आँपको हाँगो परेपछि त्यहाँबाट आगो उछिट्टिएर गाउँमा पस्यो । दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म आगो दन्किरह्यो । विन्ध्यावासिनीबाट छिरेको आगोले पोखराको चिप्लेढुंगासम्मको घर सखाप बनायो ।

खरले छाएका घर त बाँकी हुने कुरै भएन । ढुंगाले छाएका घर पनि सग्लो रहेन । गणेश टोलका केही ढुंगाका छाना भएका र गैह्रापाटनका ४ वटा घर जोगिए । बाँकी सबै घर राख भएर सकियो । सबैको रुवाबासी थियो । आगो निभाउने कोही भएन । त्यसो त खानेपानीको समस्या भएको ठाउँमा आगो निभाउने पानी पाउने कुरा पनि भएन ।

वरीपरी जम्मा खानेपानीका १२ धारा थिए । धारापानी भन्ने ठाउँबाट धारामा पुर्याईन्थ्यो । बगरचोक, विन्ध्यावासीनी, नालाको मुख, गैह्रापाटन, बगालेटोल, पालिखेचोक, रानीपौवा र पूरानो धारामा धारा थिए । १९७४ सालमा पोखराका बडाहाकिमका छोरा बाल शमसेरको निधन भएका कारण छोराको सम्झनामा उनका बाबुले धारा जोडिदिएका थिए ।

त्यसअघि त्यहाँका मान्छेहरु याम्दीखोलामा पानी लिन पुग्थे । सेती नदीको पानी बोकेर ल्याउँथे । घर जलेपछि सरकारले अनुदान दियो, घरको अवस्था हेरेर । ८ सयदेखि १४ सय सम्म अनुदान पाए । काठ सजिलै पाईन्थ्यो । वन विभाग थिएन । मुखियाले अनुमति दिएपछि काठ काट्न पाईन्थ्यो । मैले पनि ८ सय रुपैयाँ पाएँ । सुरुमा आफन्त आएर सहयोग गरे । पछि घर बनाउने बेलामा ५ सय रुपैयाँ खर्च भयो । बाँकी ३ सय रुपैयाँ जोगियो ।

त्यो बेला पनि २ सय भन्दा बढी घर जलेको हुनुपर्छ । सानै थिएँ, ठ्याक्कै सम्झना भएन । तर बस्ती बाक्लो थियो । कुनैपनि घर बाँकी रहेन ।

पोखराका बासिन्दा लक्ष्मीप्रसाद बास्तोलासँगको कुराकानीमा आधारित साभारः डिएनए डटकम

कमेन्टहरु
Loading...