नेपाल फोटो पत्रकार महासंघ गण्डकीको अध्यक्षमा राम गुरुङ

पोखरा, २० फागुन/नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेश तदर्थ समिति अध्यक्षमा राम गुरुङ निर्विरोध चयन भएका छन् ।

पोखरामा सोमबार भएको फोटो पत्रकारको भेलाले कास्कीका राम गुरुङको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समिति उपाध्यक्षमा मञ्जुल शाक्य (बागलुङ), सचिवमा कृष्णमणि बराल (कास्की), कोषाध्यक्षमा ओम लामा (कास्की), सहसचिवमा मिलन दराईँ (तनहुँ), सदस्यमा अमर बानियाँ (म्याग्दी), नवीन लामिछाने (मनाङ) छन् । रिक्त २ सदस्य पछि मनोनीत हुनेछन् ।

उद्घाटन समारोहमा बोल्दै नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेले बढ्दो प्रविधिका कारण व्यावसायिक फोटो पत्रकारको चुनौती बढ्दै गएको बताए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष सागर श्रेष्ठ, महासचिव हरि रेग्मी, नेपाल फोटो पत्रकार महासंघ कास्कीका अध्यक्ष इन्द्रप्रसाद पौडेल, नेपाल प्रेस युनियका सचिव एवं महासंघ सल्लाहकार प्रदीप पौडेल, महासंघ कास्की सचिव दुर्गाप्रसाद पौडेल लगायतले फोटो पत्रकारिताको बारेमा बोलेका थिए ।

यसैबीच, नेपाल फोटो पत्रकार महासंघले चैत २८ देखि काठमाडौंमा ‘प्रिन्टिङ फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’ आयोजना गर्न लागिएको सो अवसरमा जानकारी दिइयो ।

३ दिनसम्म काठमाडांै टुँडिखेलमा हुने एक्स्पोमा छिमेकी राष्ट्रको समेत सहभागिता रहनेछ । प्रदर्शनीमा दर्शक रोजाईमा परेका उत्कृष्ट १० फोटोलाई नगद पुरस्कार साथै विश्वचर्चित ब्राण्डका क्यामेरा तथा उपकरणबाट सम्मानित गरिने जनाइएको छ ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेल, नेपाल मुद्रक उद्योग महासंघका केन्द्रीय सदस्य जीवन गोर्खाली, केन्द्रीय सदस्य गोविन्द रेग्मी, गण्डकी प्रदेश अध्यक्ष महेन्द्र बजिमय, प्रदेश सचिव बसन्त बास्तोला, कास्की जिल्ला अध्यक्ष पदम श्रेष्ठ लगायतले एक्स्पोले पत्रकार र व्यवसायीबीच सम्बन्ध नजिक बनाउने विश्वास व्यक्त गरे ।

कमेन्टहरु
Loading...