पोखरा उद्योग वाणिज्य संघ ः बूढो रुखको छहारी खोज्दै उम्मेदवारहरु !

गन्थन व्यूरो
पोखरा, ६ साउन /कुनै बेला पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पहुँचवाला व्यक्ति मानिन्थ्यो । प्रशासनिक निकायसँगको दिनहुँको उठबस, चन्दा, दान–दातब्य दिन सक्ने हैसियत र निजी क्षेत्रको प्रतिनिधीको रुपमा अध्यक्ष शक्तिशाली हुनु अस्वभाविक पनि थिएन । प्रशासनिक निकायले केही सहयोग माग्नु प¥यो भने त्यहीँ पुग्नुपथ्र्यो । संघको आम्दानी पनि राम्रै थियो । प्रशासनका मान्छे नजिक भएपछि व्यापारीका सामान्य समस्याहरु पनि तत्काल सुल्झन्थे । संघले अहिले भन्दै आएको बस्तुगत संघहरु थिएनन् र भएकाहरु पनि क्रियाशिल थिएनन् ।

अहिले समय बदलिएको छ । विभिन्न व्यवसायिक संघ÷संगठनहरु बलियो बनेका छन् । पोखरा बस व्यवसायी समिति, ट्याक्सी व्यवसाय समिति जस्ता दिनमै लाखौँ आम्दानी गर्ने देखि हार्डवयर एसोसियसन जस्ता आफ्नै हैसियत भएका संस्थाहरु यहाँ क्रियाशिल रहेका छन् । उनीहरुको वार्षिक बजेट पोखरा उद्योग वाणिज्य संघकै हाराहारीमा छ । पैसा भएपछि प्रशासन रिझाउने हैसियत बन्ने नै भयो ! होटल संघ, टान,रेवानलगायतका संस्थाहरुको पनि कमका छैनन् ।

पोखरा उद्योग वाणिज्य संघ
पोखरा उद्योग वाणिज्य संघ

नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य समेत रहेको पोखराको केन्द्रमा पनि राम्रै पहुँच थियो । संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी त्यही हैसियतकै भरमा महासंघको अध्यक्ष बन्न पुगेका थिए । उनीभन्दा अगाडि उपाध्यक्ष र विभिन्न उपसमितिमा पुग्नेहरु र पछि उपाध्यक्ष हुँदै अध्यक्षको उम्मेदवार बन्न पुगेका आजाद श्रेष्ठलाई हेर्ने हो भने पोखराको भाउ राजधानीमा पनि चर्को थियो ।

पोखराको शैक्षिक विकासको लागि संघले सक्दो सहयोग गरेकै थियो । संघको दस्ताबेजहरु भन्छन्–२० को दशकमा संघले आफ्नो सचिवालयको जग्गा करिब १३ हजारमा किनेको थियो भने सोही वर्ष बालमन्दिर बनाउन १ लाख ११ हजारभन्दा बढी खर्च गरेको थियो । महेन्द्रपुल, पोखरा विश्वविद्यालय लगायतका भौतिक संरचना बनाउने कामको अगुवाइ पनि संघले नै गरेको थियो । पोखरालाई शिक्षा , स्वास्थ्य र पर्यटनको सहरको नारा दिने संघले नै एयरपोर्ट लगायतका विकासे नारा पनि घन्काउँथ्यो । यो मानेमा संघ सामाजिक संस्था पनि बन्न पुगेको थियो ।

नेपालमै पहिलो पटक संस्थागत रुपले मेला र महोत्सव आयोजना गरेर राष्ट्रिय वाहवाही बटुल्दा संघले आम्दानी पनि गर्न भ्याएको थियो । अर्कोतर्फ नेपालकै निजी क्षेत्रले पहिलो पटक एक अन्तर्राष्ट्रिय संस्था( एचडब्लु के माइन्ज जर्मनी ) सँग साझेदारी कार्यक्रम संचालन गरी सो सञ्जाललाई विभिन्न ६ वटा उद्योग वाणिज्य संघमा पनि पु¥याएको थियो । ‘त्यो बेलाको संघको साम्राज्य पोखरादेखि नेपालगञ्जसम्म फैलिएको थियो, प्रशासनिक निकायहरु संघका अध्यक्ष भनेपछि आदर गर्थे र डराउँथे, महासंघमा पनि पोखराको भाउ अर्कै थियो’, पोखरा उद्योग वाणिज्य संघका एक पूर्व अध्यक्षले एक सार्वजनिक कार्यक्रममा भनेका थिए,‘अहिले त्यो बेलाको कुरा सम्झेर के गर्नु ? कुनै दिन पोखरा उद्योग वाणिज्य संघ कुनै लायन्स वा रोटरी क्लवको हैसियतमा पुग्छ कि भन्ने चिन्ता पो छ मलाई ।’

उनको भाषामा भन्दा यतिबेला संघ अवनतिको बाटोमा हिँडेको छ । संघको नेतृत्वको सामाजिक हैसियत छैन । संघमा पुगेर हैसियत बनाउनेहरुको बोलबाला छ । बौद्धिकताको कमी, बदलिँदो परिस्थितिको उचित विश्लेषण गर्ने ल्याकतको अभाव तथा आफ्नो कुनै नविन परियोजना नहुँदा संघ थलिएको बुढो बाघको हैसियतमा पुगेको छ । संघले आयोजना गर्ने ब्यापार मेला अहिले क्लवले गर्न थालेका छन् । आजाद श्रेष्ठ बाहिरिएपछि पोखरा महासंघसँग पनि टाढिएको जस्तो देखिएको छ । महासंघको नेतृत्वको लागि अगाडि बढ्ने हैसियतका व्यक्ति पोखरा उद्योग वाणिज्य संघसँग नभएको समेत उनले ठोकुवा गरे । एचडब्लुके माइञ्ज जर्मनीको बिदाईपछि त्यहाँ कुनै परियोजना पनि छैन ।

भएको बालश्रम न्यूनिकरण कार्यक्रम आफ्नै तालले चलेको त छ तर त्यसले मात्र संघको गरीमा धान्ने अवस्था छैन । आम्दानीको स्रोतहरु खुम्चँदै गएका छन् । व्यापारीभित्रै रहेको बौद्धिक जमातले संघप्रति भरोसा गर्न छाडेको छ । आनन्दराज मुल्मी, अशोक पालिखेको पालामा संघको जुन शान थियो त्यो अहिले अलिकति पनि छैन । एचडब्लु के माइन्जका तत्कालीन परियोजना प्रमुख राइनर कुवेराले पूर्व अध्यक्ष अशोक पाखिलेमार्फत पोखराकै विद्यालयहरुमा छात्रवृत्ति प्रदान गरेका छन् तर संघसँग उनको खासै साइनो छैन ।

‘समय र परिस्थितिको आँकलन गर्दै अनि अर्काको कुरा सुनेर आफ्नो विचार बनाउने हैसियत भएका व्यक्तिहरु भन्दा पनि भीडको कुरा सुन्ने तथा लोलोपोतो राख्ने व्यक्तिहरु हावी हुँदै जाने हो भने बचेखुचेको शाख पनि रहँदैन’–एक पूर्व सदस्यले भने,‘सार्वजनिक मञ्चहरुमा संघको प्रतिनिधित्व र प्रस्तुति कमजोर हुँदै गएको छ, कतिपय ठाउँमा त अंग्रेजी लगायतका भाषागत कुराहरुमा समेत कमजोरी देखिएको छ । ’ उनले यस्तो गुनासो गरिरहँदा संघमा भने नेतृत्वको होडबाजी सुरु भएको छ ।

पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि ६ जना आकांक्षी
पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि ६ जना आकांक्षी

भदौको अन्तिम साता नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा आधा दर्जन अध्यक्षको आकांक्षी देखिएको एक साधारण सदस्यले बताएका छन् । वर्तमान प्रथम उपाध्यक्ष देव क्षेत्री, पूर्व महासचिव नारायण कोइराला, पूर्व उपाध्यक्ष ईश्वर कर्माचार्य, कार्यसमिति सदस्य विश्वशंकर पालिखे र हीरा भट्टराई एवं पूर्व कार्यसमिति सदस्य धनिराम बराल चुनावी मैदानमा ओर्लने तयारीमा छन् । उनीहरुमध्ये केहीले दौड छाडे पनि यो पटकको चुनाव द्धिपक्षीय भीडन्तमा टुंगिने सम्भावना छैन । अझ, यो पटकको चुनावमा राजनीतिक पार्टीहरुको भूमिका पनि बढ्ने देखिएको छ । खासगरी काँग्रेस समर्थक व्यापारीहरुको बोलबाला रहेको संघमा यो पटक एमालेले पनि आफ्नो दरिलो हैसियत देखाउन कम्मर कसेर लाग्ने देखिएको छ ।

एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संघको कास्की भेलाको क्रममा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले संघको यो पटकको चुनावमा एमालेको प्यानल नै आउने उद्घोष नै गरेका थिए । जातीयताको नारा समेत यो चुनावमा लाग्न सक्ने आँकलन गरिएको छ । नेवारहरुको निरन्तरको नेतृत्वप्रति असन्तुष्ट रहेका केही व्यक्तिहरु सो अभियानमा लागेको अनुमान गरिएको छ । अध्यक्षमा धेरै उम्मेदवार भएकोले यो पटकको चुनाव व्यक्तिगत चिनजान र पहुँचले समेत तय गर्न सक्नेछ । पहिला दुई समूहबीच हुने गरेको चुनाव त्रिपक्षीय बन्यो भने अन्यथा मान्ने अवस्था छैन ।

चुनाव आउन समय बाँकी छ । आन्तरिक भेला र सल्लाहहरु चलेकै छन् । बरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष मीनरा काफ्ले र महासचिव रवीन्द्रबहादुर प्रजुको चर्चा छ । महासचिवमा दामु अधिकारीले उम्मेदवारी घोषणा नै गरेका छन् । अघिल्लो वर्ष संघको विधान संशोधन भएपछि अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिवमा प्रत्यक्ष निर्वाचन हुँदैछ । अहिले कार्यसमितिमा रहेका अधिकांशहरुले आफू माथिल्लो तहमा जान खोजेका छन् । यस मानेमा विन्दु कोइराला, सीता गुरुङ, अर्जुन पोखरेलहरुले पनि पदमा आंकाक्षा देखाएका छन् । संघका एक पूर्व कार्यसमिति सदस्यको नजरमा भने यो चुनावले कुनै व्यक्तिलाई अध्यक्षको कुर्चीमा पु¥याउने भए पनि त्यसले साधारण सदस्यलाई खासै केही फरक नपार्ने बताउँछन् । ‘केही गर्छु भन्ने भिजनरी व्यक्ति नआएसम्म नयाँ नेतृत्वको कुनै अर्थ छैन’, उनले भने, ‘नयाँ व्यक्तिको फोटो झुड्याउँदैमा सदस्यले केही पाउने हैनन् ।’

कमेन्टहरु
Loading...