राष्ट्रिय औद्योगिक व्यापार मेलामा जर्जजोनलाई सम्मान

पोखरा,१ चैत । पोखराको नयाँ बजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७२ को सोमबार औपचारिक समापन भएको छ । ‘लगानीको सम्वद्र्धन ःउद्योग व्यवसायको प्रवद्र्धन ’ भन्ने नाराका साथ फागुन २१ गतेबाट मेला सुरु भएको थियो । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले प्रतिकुल मौषमका वाबजुद पनि मेला सफल भएको बताएका छन् ।

शिक्षासेवी जर्ज जोन सम्मानित
शिक्षासेवी जर्ज जोन सम्मानित

मेला समापन कार्यक्रमका प्रमुख अतिथी पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइराला रहेका थिए । मेलाको समापन कार्यक्रममा बोल्दै उनले क्रेता र बिक्रेतालाई एउटै थलोमा उभ्याउन तथा आर्थिक गतिविधी चलायनमान बनाउन मेला सफल भएको बताए । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले सबैको सहयोगले मेला सफल भएको बताउँदै यो मेला पोखराको गौरवको रुपमा परिणत भएको धारणा राखे । उनले मेला आर्थिक गतिविधी चलायनमान बनाउन सहयोगी बनेको धारणा राखे ।

शिक्षासेवी तथा कार्यक्रममा सम्मानित व्यक्तित्व जर्ज जोनले पोखरा उद्योग वाणिज्य संघले आफ्नो स्थापनाकालदेखि नै शिक्षा क्षेत्रमा लगानी गर्दै आएको स्मरण गरे । आफू संलग्न भएको सबैजसो शैक्षिक संस्थाहरुमा संघले लगानी गरेको भन्दै उनले धन्यवाद ज्ञापन पनि गरे । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठले आउँदा दिनहरुमा मेलामा अझ सुधार आवश्यक रहेको बताए । अर्का पूर्व अध्यक्ष राजेन्द्रकुमार लालचनले मेला अनुगमनको क्रममा आफूले सुनेका गुनासा र सुझावहरु कार्यान्वयन गरी मेलालाई परिष्कृत गर्नुपर्ने धारणा राखे ।

पोखरा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष मीनराज काफ्लेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन संघका महासचिव रवीन्द्रबहादुर प्रजुले गरेका थिए । करीब १ लाख ५० हजार दर्शकले अवलोकन गरे भने ५ करोडजतिको कारोवार भएको महासचिव प्रजुले जानकारी दिए । मेला र महोत्सवको प्रवर्तक पोखरा उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका नगर विकास समिति, जिल्ला विकास समिति कास्कीको सहयोग ,अर्घाखाँची सिमेण्टको मुख्य प्रायोजन, रुस्लान भोड्काको विशिष्ट प्रायोजन,राष्ट्रिय वाणिज्य बैंक तथा नबिल बैंकको सह प्रायोजन तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा मेला आयोजना गरिएको हो ।

शिक्षासेवी जर्ज जोन सम्मानित

पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेला समापनको अवसरमा शिक्षासेवी जर्ज जोनलाई सम्मान गरेको छ । पोखराको शैक्षिक विकासमा पु¥याएको योगदानको कदरस्वरुप संघले दोसल्ला र ताम्रपत्रसहित उनलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले उनलाई सम्मान गरेका हुन् । भारतमा जन्मेका जोनले पृथ्वीनारायण क्याम्पसको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठको संयोजकत्व तथा कवि तीर्थ श्रेष्ठ र पर्यटन व्यवसायी टीकाराम सापकोटा सदस्य रहेको प्रतिभा छनौट समितिले जोनलाई सम्मानको लागि सिफारिस गरेको थियो ।

कमेन्टहरु
Loading...