पोखरा महानगरद्वारा पार्किङ शुल्क उठाउन सम्झौताको लागि कम्पनीलाई आह्वान

पोखरा, १९ कार्तिक/ पोखरा महानगरपालिकाले १३ महिनापछि फेरी पार्किङ शुल्क उठाउने ठेक्का सम्झौताको तयारीमा छ । महानगरपालिकाले आन्तरिक स्रोत बढाउने योजनासहित निजी कम्पनीलाई ठेक्का सम्झौता गर्दै पार्किङ शुल्क उठाउने जिम्मेवारी दिने तयारीमा छ ।

महानगरपालिकाले पोखरा–८ स्थित सुस्मिता कन्ट्रक्सनलाई जिम्मेवारी दिने गरी सम्झौताको लागि पत्रचार गरिसकेको छ । ‘कन्ट्रक्सनलाई सम्झौताको लागि एकहप्ता म्याद राखेर पत्रचार गरिसकेका छौं ।’ पोखरा महानगरपालिका राजस्व शाखा प्रमुख छवि शर्माले भने–‘दुईवर्षको लागि सम्झौता हुने छ ।’ सम्झौताको लागि पत्राचार गरेसँगै महानगरपालिकाले ५० प्रतिशत अग्रिम भुक्तानी र ५० प्रतिशत भने बैंक ग्यारेन्टी माग गरेको शाखा प्रमुख शर्माले सुनाए ।

‘अग्रिम भुक्तानी र बैंक ग्यारेन्टीसहित सम्झौता गरेपछि कम्पनीले पार्किङ शुल्क उठाउन पाउने छ ।’ उनको भनाई थियो । चर्को विरोध भएपछि महानगरपालिकाले १३ महिनासम्म पार्किङ शुल्क उठाएको थिएन् । टेण्डर विना नै सम्झौता गरेको भन्दै अन्तरिक विरोध समेत भएको थियो । पार्किङको लागि महानगरपालिकाले छुट्टैस्थल भने बनाएको छैन् ।

पार्किङस्थल नहुदाँ सर्वसाधारणले सवारी साधनलाई सडक किनारमै पार्किङ गर्दै आएका छन् । दोहोरो सवारी पार्किङले सडक समेत साँघुरो हुदैं गएको छ । सम्झौता भएको अवस्थामा कम्पनीले पोखरा महानगरपालिकाको ३३ वटै वडामा उठाउन सक्ने उनको भनाई थियो ।

कम्पनीलाई महानगरपालिकाले शुल्क उठाउन दुई वर्षे सम्झौता गर्ने छ । सम्झौता वापत कम्पनीले महागरपालिकालाई ३ करोड ३० लाख रुपैयाँ बुझाउने पर्ने छ । अग्रिम पेश्की स्वरुप कम्पनीले सम्झौताको ५० प्रतिशत अर्थात १ करोड ६५ लाख रुपैयाँ बुझाउनुपर्ने छ । त्यसपछि ५० प्रतिशत भने बैंक ग्यारेन्टी देखाउनुपर्ने महानगरपालिकाले जनाएको छ । ‘अहिले सडकको दुवै किनारमा अव्यवस्थित रुपमा दोहोरो पार्किङ छ’ उनले भने–‘दोहोरो पार्किङलाई व्यवस्थित गर्दै अब एक साईडमा मात्रै पार्किङ गर्न दिईने गरी व्यवस्थित गरिने छ ।’

मोटरसाइकल
मोटर साइकल

महानगरपालिकाले कम्पनीलाई पार्किङ शुल्कको लागि सवारी साधन अनुसार उठाउनुपर्ने निर्देशन समेत गरेको छ । मोटरसाईकल, निजी सवारी साधन र भाडाका सवारी साधनको छुट्टछुट्टै पार्किङ शुल्क तय गरिएको छ । राजस्व शाखा प्रमुख शर्माका अनुसार व्यस्त बजार क्षेत्रमा मोटरसाईकललाई १० रुपैयाँ, जिप, भ्यान लगायतका हल्का सवारीलाई प्रतिघण्टा १५ रुपैयाँ, मझौला सवारी साधनलाई प्रति घण्टा २० रुपैयाँ, ठुला सवारी साधन ट्रक लगायतलाई प्रतिघण्टा ३० रुपैयाँ निर्धारण गरेको छ ।

‘हामीले तोके अनुसार कम्पनीले पार्किङ शुल्क उठाउनुपर्छ ।’ उनको भनाई थियो । उनका अनुसार संस्थागत सवारी साधनको हकमा भने ट्याक्सीको लागि १ हजार र नगरबसको लागि १५ सय रुपैयाँ मासिक रुपमा बुझाउनुपर्ने छ । अन्य क्षेत्रमा भने मोटरसाईकलको १० रुपैयाँ, हल्का र मझौला सवारी साधनलाई क्रमश १५ र २० रुपैयाँ तोकिएको छ ।

पोखराको चिप्लेढुंगा, महेन्द्रपुल, सिदार्थ, न्युरोड, नयाँबजार क्षेत्रमा बढी सवारी साधन पार्किङ हुने गरेका छन् । सरकारी कार्यालय रहेका क्षेत्रमा पनि सवारी साधन बढी पार्किङ हुने गरेका छन् । पोखरामा पछिल्लो समय निजी सवारी साधन दर्ताको क्रम बढ्दै गएको छ । गण्डकी अञ्चल(प्रदेश) यातायात व्यवस्था कार्यालयमा मोटरसाईकल मात्रै झण्डै दुईलाखको हाराहारीमा दर्ता भएका छन् । तीस हजार भन्दा बढी निजी सवारी साधन छन् । ट्याक्सी र माईक्रोबसको संख्या पनि उत्तिकै छ ।

जग्गा भाडामा लिएर निजी क्षेत्रको छुट्टै पार्किङस्थल

पोखराको बजार क्षेत्रको सडक निकै व्यस्त छन् । पार्किङको समस्या छ । पार्किङ नपाउँदा सर्वसाधारण एकातिर सवारी साधन राखेर गन्तव्यसम्म पुग्नुपर्ने बाध्यता छ । सवारी पार्किङले आक्रान्त बनिरहँदा निजी कम्पनीले पोखराको दुई ठाँउमा स–शुल्क पार्किङको व्यवस्था गरेको छ । पोखरामा पार्किङको लागि कम्पनी नै दर्ता गरी स–शुल्क शुरु गरिएको यो पहिलो हो ।

स–शुल्क पार्किङ
स–शुल्क पार्किङ

बढ्दो सवारी साधनले सडक साँघुरिदैं गएको अवस्थामा सडकमै दोहोरो पार्किङ हुने प्रवृत्ति छ । दैनिक जसो सवारी साधन बढ्ने क्रमले विकराल बन्दै गएको अवस्थामा फिस्टेल प्रि पेड पार्किङ कम्पनीले स–शुल्क पार्किङ सेवा शुरु गरेको झण्डै पाँच महिना बित्यो । कम्पनीले पोखरा–४ गैह्रपाटनस्थित फिस्टेल हस्पिटलसँगै रहेको खुल्ला क्षेत्रलाई पार्किङस्थलको रुपमा शुरु गरिएको जनाएको छ । भने पोखरा न्युरोडको दुई ठाउँमा समेत गरेको छ ।

‘पोखरामै पहिलो पटक कम्पनी नै दर्ता गरेर शुल्क लिएर पार्किङ शुरु गरिएको छ ।’ कम्पनीका प्रबन्ध निर्देशक सन्तोष पराजुलीका अनुसार कम्पनीले मोटरसाईकलको प्रति घण्टा २० रुपैयाँ तय गरेको छ । रात बास बस्ने गरी राखिएको अवस्थामा १०० रुपैयाँ लिने तोकिएको छ । चार पाङ्ग्रे सवारीको हकमा भने प्रतिघण्टा ५० रुपैयाँ लिईने उनले बताए । ‘कार रातबासको लागि पार्किङ गरिए २०० रुपैयाँ लिइन्छ ।’ उनले भने ।

ठूला व्यापारिक कम्प्लेक्सले अण्डरग्राउण्ड पार्किङस्थल बनाएका छन् । पोखराको चिप्लेढुंगास्थित टे«ड मलको पार्किङस्थल निजी संस्थाले सञ्चालन गर्दैआएको छ । महेन्द्रपुलस्थिति मोवाईल टावर, सभागृहचोकस्थित मिड टाउन सिनेमा लगायतमा निजी क्षेत्रले पार्किङ शुल्क लिने गरेको छ । केही पार्किङको लागि बनाइएको व्यापारिक कम्प्लेक्सले सवारी पार्किङ नभई अन्य व्यापारिक प्रयोजनको लागि भाडामा दिएका छन् ।

कमेन्टहरु
Loading...