प्रदेश प्रमुख कुँवरद्वारा दुर्घटना परेका विद्यार्थीको उद्धार, समय मै अस्पताल पुगेपनि विद्यार्थीको मृत्यु

पोखरा, ६ मंसिर / गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले मोटरसाइकलमा दुर्घटना परेका एक विद्यार्थीको उद्धार गरेका छन् । आज विहीबार बिहान पोखरास्थित विन्ध्यावासिनी मन्दिरको दर्शन गरेर फर्कने क्रममा नालामुखमा मोटरसाइकल दुर्घटनामा परेका माछापुच्छ«े गाउँपालिका वडा नं. ४ का सुवास नेपालीको प्रदेश प्रमुख कुँवरले उद्धार गरेका हुन् ।

‘दुर्घनापछि रक्ताम्य भएका सुवासलाई अस्पताल लैजानुको साटो थुप्रै व्यक्तिहरुले हेरिरहेको र केहीले फोटो खिच्दै गरेको अवस्था देख्दा चित्त दुख्यो’ प्रदेश प्रमुख कुँवरले भने,‘मेरो टिमलाई निर्देशन गरी सुवासलाई तत्काल फिस्टेल अस्पताल पु¥याइयो ।’

प्रमुख कुँवरले दुर्घटना परेर गम्भीर घाइते भएका सुवासलाई बचाउन सकिन्छ कि भन्ने मनसायले स्कटको गाडीमा राखेर हतारहतार अस्पताल लगेको बताए । सुवासलाई फिस्टेल अस्पतालको इमरजेन्सीमा उपचार गरेपछि आइसियुमा राखिएको थियो । आइसियुमा राखिएको केही समयपछि डाक्टरले सुवासको मृत्यु भएको जानकारी दिएका थिए ।

‘उद्धार गरे पनि भर्खरको युवालाई बचाउन सकिएन । बाँचोस् भनेर कामना पनि गरेको थिएँ । तर, उसको निधन भएको सुन्दा साह्रै दुःख लाग्यो’ प्रदेश प्रमुख कुवँरले भने । मृतक सुवास नेपाली राष्ट्रिय उच्च माविमा कक्षा ११ मा अध्ययनरत थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रविन्द्र गुरुङले १९ वर्षिय नेपालीले चलाएको ग १५ प २०१८ नम्बरको मोटरसाइकल बिजुलीको पोलामा ठोक्किएर दुर्घटना हुँदा सुवासको मृत्यु भएको जानकारी दिए ।

प्रदेश प्रमुख कुवँरले भर्खरका युवाले स्पीडमा सवारी चलाउँदा यस्ता दुर्घटना हुने भएकाले सवारी साधन नियन्त्रण बाहिर जाने गरी नचलाउन सबैलाई अनुरोध समेत गरेका छन् ।

कमेन्टहरु
Loading...