पोखरामा प्याराग्लाइडिङ दुर्घटना कतै रुखमा अड्किए, कतै विद्युतको तारमा अल्झिए

पोखरा, २१ फागुन /प्याराग्लाइडिङ दुर्घटना भएर एक जना विदेशीको ज्यान गएको २४ घण्टा नपुग्र्दै सोमबार दुईजना विदेशी पाइलट घाइते भएका छन् । अनुमति लिएको भन्दा फरक ठाउँबाट उडान गरेका उनीहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर छ भने अर्का एकजना सामान्य छन् ।

माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एकजना विदेशी प्याराग्लाइडिङ दुर्घटनामा परे । विद्युत तारमा अड्केका ती पाइलटलाई करेन्ट लाग्दा भुईमा झरेका थिए । प्रहरीले दिएको जानकारी अनुसार विद्युतको तारमा छोएर भुईमा बजारिएका उनको गाउँलेले उद्धार गरेका थिए । २० जना जति विदेशी मर्दी हिमाल पदयात्राको हाईक्याम्पबाट उडेका थिए । फरक फरक ठाउँमा विदेशी अवतरण गरेका थिए ।

त्यस्तै अर्का रसीयन पाइलट मादी गाउँपालिका–७ छाचोकमा खसेका छन् । वडा अध्यक्ष लालबहादुर गुरुङका अनुसार ६३ वर्षिय इलगिज यागुदिन भोगटेको रुखमा अडकेका थिए । उनलाई अर्को रुखबाट गएर डोरी बाँधेर स्थानीय विजय खत्री र मनोज लामिछानेले २ घण्टा पछि उद्धार गरेको गुरुङले बताए ।

ती पाइलट कुन ठाँउबाट उडेको भन्ने खुलेको छैन । आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए । सराङकोटबाट उडेका उनी फेवातालमा खसेका थिए ।

 

कमेन्टहरु
Loading...