आठौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङमा आर्मीको अग्रता कायमै

पोखरा, ८ बैशाख /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा भइरहेको प्याराग्लाइडिङ प्रतियोगितामा विभागीय टिम सेनाले स्वर्ण पदक नजिक पुगेका छन् । दुई दिन सम्मको प्रतिस्पर्धामा महिला तथा पुरुषतर्फ सेनाको अग्रता कायम रहेको छ ।

प्रतियोगितामा एक्युरेसी र क्रसकन्ट्रीमा महिला तथा पुरुषका प्रतियोगिता चलिरहेका छन् । सोमबार पदकको टुंगो लाग्ने छ । आइतबार एक्युरेसीतर्फ चारवटा चरण सकिँदा सम्म महिला तथा पुरुष दुवैतर्फ विभागीय टिम आर्मीले अग्रता लिएको छ । पुरुषतर्फ टिम एक्युरेसीमा १४५ अंकका साथ आर्मी पहिलो स्थानमा रहेको छ । ९५५ अंकका साथ प्रदेश–१ दोश्रो र १३१५ अंकका साथ गण्डकी प्रदेश तेश्रो स्थानमा रहेको छ ।

त्यस्तै इन्डिभिजुअल एक्युरेसीतर्फ पहिलो र दोश्रो स्थान पनि आर्मीले लिएको छ । ८ अंकका साथ आर्मीका सागर जलारी प्रथम स्थानमा छन् । ११ अंकका साथ सागर नेपाली दोश्रो र १९ अंकका साथ प्रदेश–१ का रोशन बस्नेत तेश्रो स्थानमा रहेका छन् ।

महिलातर्फ इन्डिभिजुअल एक्युरेसीमा पनि पहिलो स्थानमा आर्मी नै रहेको छ । आर्मीकी दुर्गामाया गुरुङ १७७ अंकका साथ प्रथम स्थानमा छिन् । गण्डकी प्रदेशकी सविता तामाङ २८७ अंकका साथ दोश्रो र गण्डकीकी प्रतिभा बोगटी ३७९ अंकका साथ तेश्रो स्थानमा रहेकी छिन् ।

टिम क्रसकन्ट्रीमा पुरुषतर्फ पनि आर्मी पहिलो स्थानमा छ । आर्मीले ५९३३ अंक बटुलेको छ । गण्डकी प्रदेश ५८९३ अंकका साथ दोश्रो स्थानमा र प्रदेश–३ ले ५६९५ अंक लिएर तेश्रो स्थानमा रहेको छ । पुरुषतर्फकै इन्डिभिजुअल क्रसकन्ट्रीतर्फ आर्मीका सुरज थापाले १७४६ अंक बटुलेर प्रथम स्थान ओगटेका छन् ।

१६११ अंकका साथ प्रदेश–३ का कृष्णबहादुर सुनुवार दोश्रो र १६०६ अंकका साथ आर्मीका बिशाल थापा तेश्रो स्थानमा रहेका छन् ।

महिलातर्फ इन्डिभिजुअल क्रसकन्ट्रीमा गण्डकीकी त्रिशा बमजनले ७७७ अंक बटुलेर प्रथम स्थान ओगटेकी छिन् । २८८ अंक लिएर प्रदेश –१ की सुस्मिता सुनुवार दोश्रो र २७९ अंकका साथ स्वस्तीका गुरुङ तेश्रो स्थानमा रहेकी छिन् ।

कमेन्टहरु
Loading...