प्याराग्लाईडिङ दुर्घटना प्रकरणः प्याराग्लाईडिङका सञ्चालक र प्रशिक्षक विरुद्धमा किटानी जाहेरी

विभागका अधिकारीलाई समेत कारवाहीको माग
पोखरा, ३० असार /ब्लुस्काई फ्लाईड स्कुल प्रालिका सञ्चालक नारायणप्रसाद पराजुली र प्रशिक्षक दामोदर पराजुलीका विरुद्धमा जिल्ला प्रहरी कार्यालय कास्कीमा कारवाहीका लागि पीडित परिवारले शुक्रबार किटानी जाहेरी दिएका छन् । शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरीकोमा दिइएको उजुरीमा हवाई विभागका अधिकारी तथा पर्यटन विभागका अधिकारीको समेत मिलेमतो भएकोले सबैलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० का २५ वर्षीय प्रभात सुवेदीको प्याराग्लाईडिङ प्रशिक्षणका क्रममा असार ५ गते दिउँसो साढे २ बजे फेवातालमा खसेर ज्यान गएको थियो । यसै विषयलाई लिएर मृतक प्रभातका काका गजेन्द्र प्रसद च्वाईँले प्रहरीमा कारवाहीको माग गर्दै जाहेरी दिएका हुन् । तालिमका क्रममा रिजर्भ प्यारासुट खोलेरमात्र ग्लाईडर बन्द गर्न लगाउनु पर्नेमा प्यारासुट नखोली ग्लाईडर बन्द गर्न प्रशिक्षकले तल रेडियो सेटबाट सूचना दिएपछि सो दुर्घटना भएको दुर्घटनाका क्रममा लिइएको भिडियो रेकर्डमा प्रष्ट देखिने अभिभावक गजेन्द्रले बताए ।

अभिभावक गजेन्द्रले पत्रकार सम्मेलनमा भावुक हुँदै भने–‘दुर्घटना पश्चात् प्रभातको तत्कालै उद्दार हुन सकेको भए ऊ बाँच्ने थियो । न त्यहाँ चिकित्सक थिए, न त स्वास्थ्यकर्मी नै ।’ केही महिना पहिला दुर्घटना भएर एक जनाको ज्यान भएपछि ६ महिनाका लागि निलम्बनमा परेको उक्त संस्था आर्थिक चलखेलका कारण मापदण्ड पुरा नगरी पुनः सञ्चालनमा आएको उनको आरोप थियो । पीडित परिवारले प्रभात जस्तै अन्य होनहार युवाको अकालमा ज्यान नजाओस् भन्दै ब्लु स्काई प्याराग्लाईडिङका सञ्चालकहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै उक्त प्रशिक्षण केन्द्र सदाका लागि बन्द गर्नुपर्ने माग राखेका छन् ।

ब्लुस्काई फ्लाईड स्कुल प्रालिका सञ्चालक नारायणप्रसाद पराजुलीले आफुहरुले सबै प्रक्रिया पु¥याएर तालिम दिएको बताए । उनले अभ्यासका क्रममा सुवेदीले सेफ्टी प्यारासुट फालेर झर्नुपर्ने थियो तर पहिल्यै ब्याल्क आउट भए पछि दुर्घटना भएको पराजुलीले बताए । यो कोर्ष अन्तर्गत प्याराग्लाइडिङ उडानको क्रममा आकाशमा भईपरी आउने आपतकालिन अबस्थामा कसरी सुरक्षित अबतरण गराउने भन्ने प्रशिक्षण हुने उनले बताए ।

जस अनुसार सराङकोटबाट उडान भरेर विचमा पुगेपछि आपतकालिन अबस्थाका पूर्व आकलन गरी सोही अनुसार ग्लाइडरको सन्तुलन आफैले बिगार्ने काम गरिने बताए । त्यसपछि आपतकालिन अबतरणको लागि प्यारासुट खोलेर तालमा अबतरण गराइन्छ । यो अभ्यासका क्रममा तालमा मोटरबोट, र्याफ्टिङ डुङ्गा र कायक तथा उद्धारकर्मी पहिल्यै तैनाथ हुन्छन् । ग्लाइडरको सन्तुलन विगारेपछि प्यारासुट फाल्न ढिलाई भएका कारण उनी एक्कासी तालमा खसेको पराजुलीले बताए ।

ब्लु स्काई फ्लाईङ स्कुल मार्फत तीन दिने सेफ्टी कोर्षमा सहभागी प्रभात सुबेदीको अन्तिम दिनको अन्तिम उडानमा असार ५ गते ज्यान गएको थियो । तीन दिने कोर्ष अन्तर्गत कुल ९ वटा फ्लाइट पुर्याउनुपर्ने हुन्छ नवौ फ्लाइटको क्रममा उनी दुर्घटनामा परेका हुन् ।

कमेन्टहरु
Loading...