पोखराका रात्रीकालीन व्यवसायी आन्दोलित

विजय नेपाल
पोखरा, २८ फागुन/कास्की प्रहरीले सुरक्षाको कारण देखाउँदै रात्रीकालीन व्यवसाय राति १० बजेपछि संचालन गर्न नपाइने भनेपछि व्यवसायी आन्दोलित भएका छन् । यस्तो निर्देशनले व्यवसाय नै धरासयी हुने भन्दै उनीहरुले निर्वाध रुपमा व्यवसाय संचालन गर्न पाउनुपर्ने माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइँदै । तस्विर ः विजय नेपाल
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइँदै । तस्विर ः विजय नेपाल

जिल्लामा हालै सरुवा भइ आएका कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले पोखरा र लेखनाथका विभिन्न रात्रीकालीन व्यवसाय राति १० सम्ममात्रै संचालन गर्न पाइने बताएका थिए । रात्रीकालीन व्यवसायअन्तर्गत डान्सबार, दोहोरी साँझ, गजल रेष्टुरेन्ट, लाइभ म्युजिक रेस्टुरेन्ट पर्दछन् । यसअघि राति ११ बजेसम्म यस्ता व्यवसाय संचालन हुँदैआएका थिए ।

व्यवसायीले आन्दोलनस्वरुप बिहीबार राति पोखरा र लेखनाथमा संचालित १६ दोहोरीसाँझ, १२ डान्सबार, १० लाइभ म्युजिक रेस्टुरेन्ट, ३ गजल रेस्टुरेन्ट बन्द गरी आन्दोलन सुरुवात गरेका हुन् । प्रहरीले सुरक्षाको कारण देखाउँदै रात्रीकालीन व्यवसाय बन्द गरेर घाटामा पार्न लागेको भन्दै व्यवसायीले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलाई भेटी गुनासो सुनाएका छन् ।

उक्त गुनासोमा प्रजिअ मैनालीले पोखरामा हुन लागेको सार्क विदेश मन्त्रीस्तरीय सम्मेलनको सुरक्षा व्यवस्था मजबुद बनाउनुपर्ने भएकोले यस्तो निर्णय आएको र ५ चैतपछि यसमा पुनर्विचार गर्न सकिने आश्वासन दिएको भेटमा सहभागी फेवा दोहोरी साँझ संचालक मनकुमार श्रेष्ठले बताए । पोखरा र लेखनाथमा संचालित विभिन्न दोहोरी साँझ, डान्सबार, गजल रेस्टुरेन्ट व्यवसायीले प्रजिअको भनाइमा सहमति जनाउँदै उक्त दिनसम्म १० बजे नै बन्द गरे पनि त्यसपछिका दिनमा पनि पुनर्विचार नगरिए आन्दोलन जारी रहने बताएका छन् ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले रात्रीकालीन व्यवसायले कुनै पनि आपराधिक क्रियाकलापमा पश्रय नदिएको दावी गरेका छन् । उनीहरुले प्रशासन लचिलो भए सुरक्षा व्यवस्थामा आफूहरु पनि सहयोगी बन्दै जाने बताएका छन् । यसबारेमा कास्की प्रहरीसँग जिज्ञासा राख्दा प्रहरी नायव उपरीक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले व्यवसाय संचालन गर्ने नाउँमा अन्यलाई असर पार्नु भएन । मध्यरातसम्म व्यवसाय संचालन गर्दा आपराधिक क्रियाकलाप हुने सम्भावना बढी हुने भएकोले यस्तो निर्णय गरिएको उनले बताए ।

त्यसो त केही दिन लेकसाइडबासीले कतिपय रात्रीकालीन व्यवसायका कारण ध्वनी प्रदुषण बढेको भन्दै न्यूनीकरणको माग गरेका थिए । कास्कीमा सरुवा भइ आउने जो कोही प्रहरी प्रमुखको प्राथमिकताको क्षेत्र शान्ति सुव्यवस्थाको परिभाषा यहाँको गुन्डागर्दी, अवैध यौनव्यवसाय नियन्त्रण एवं लेकसाइडका रात्रीकालीन व्यवसाय पर्ने गरेको छ । यद्यपि कुनै पनि प्रहरी प्रमुखले जनताले महसुल गर्ने गरी शान्तिसुव्यवस्था दिलाउन नसकेको पोखरेलीको गुनासो छ ।

कमेन्टहरु
Loading...