‘ए हजुर…घर हाम्रो पोखरा’

पोखरा, २५ माघ /साँगीतिक समूह ‘नेपथ्य’ले पहिलोपटक खुला आकाशमुनि उसको उद्गमस्थल पोखरामा कन्सर्ट गर्नेभएको छ ।आगामी शनिवार फागुन ३ गतेको उक्त कन्सर्टका निम्ति तयार हुँदैगरेका मुख्य गायक अमृत गुरुङ त्यो मञ्चमा प्रस्तुत हुन छटपटी भइरहेको बताउँछन् । ‘स्वदेश र विदेशमा धेरैपटक मैले हजारौं दर्शकको घेरामा गाइसकेको छु,’ काठमाडौंको कालिकास्थानस्थित नेपालयमा रिहर्सल गर्न उपस्थित उनले भने, ‘पहिलोपटक पोखरामा त्यसैगरि प्रस्तुत हुनखोज्दा मानशिक रुपले मात्र होइन भावनात्मक रुपले पनि ठेलिएको महशुस हुँदैछ ।’

यतिबेला ‘नेपथ्य’ टोली दैनिकजसो नेपालयमा भेला भएर अभ्यासमा सरिक हुनेगरेको छ । ‘प्रायः ठूलो कार्यक्रम वा देसव्यापी भ्रमणका बेला हामी यसैगरि आफूलाई तयार पार्छौं,’ उनी भनिरहेका थिए, ‘साँगीतिक रुपले अभ्यस्त तुल्याउने मात्र नभएर यसले समूहलाई नै एकाकार पनि बनाउछ ।’ पोखरामा प्रस्तुत हुनका निम्ति किन ‘नेपथ्य’ भावनात्मक रुपले ठेलिन्छ ? यो प्रश्नको जवाफ दिनुअघि अमृत एकछिनसम्म मौन बसे । ‘अन्यत्र कार्यक्रम प्रस्तुत गर्दा त्यहाँ मेरा श्रोता मात्र हुनेगर्छन्,’ उनले मौनता तोड्दै भने, ‘पोखरामा चाहिँ मैले औंला समातेर हिँडेका अग्रज, मसँगै खेलेका साथीहरुदेखि मजस्तै माछापुछ्रे हेरेर हुर्केका भाइ बहिनीहरुको सामुन्ने उभिएको हुन्छु ।’

साँगीतिक समूह ‘नेपथ्य’का मुख्य गायक अमृत गुरुङ
साँगीतिक समूह ‘नेपथ्य’का मुख्य गायक अमृत गुरुङ

अमृतकै शब्दमा सामान्य अवस्थामा पनि उनी लामो समयसम्म पोखराबाट अलग बस्नै सक्दैनन् । महिनामा एकपटक अन्नपूर्णको काखले बोलाइहाल्छ । ‘संघर्षको क्रममा मैले पोखरा छाड्नु परे पनि मलाई जन्म दिने आमा, मेरो जन्म घर, मेरा सबै आफन्त नातागोतादेखि साथीभाइ सबै त्यतै छन्,’ उनी भन्छन्, ‘झन् केहि वर्षयता त म आफैंले स्याहार्न थालेको गोठको मायाले पनि तान्ने गरेको छ ।’ अमृतलाई गायकका रुपमा चिन्नेमध्ये निकै थोरैलाई थाहा छ, उनी पोखरेली किसान पनि हुन् ।  स्याङ्जा जाने राजमार्गको छेवैमा एउटा पहरो छ । पुम्दीभुम्दीको त्यसै पहरोमा अडिएको छ उनको पुख्र्यौली थलो कालाबाङ । हिजोआज मोटर पुग्न थालेको त्यो गाउँमै परम्परागत गुरुङ शैलीमा अडिएको उनको घर अहिले पनि उस्तै छ । अनि गाउँको ठीक मुनि राजमार्गसँगै जोडिएको छ मूलपानीस्थित उनको गोठ । पुर्खाले खनी खोस्री गर्दैआएको त्यो गोठलाई उनी आफ्नी बज्यैको चिनो ठान्छन् ।

साँगीतिक समूह ‘नेपथ्य’का मुख्य गायक अमृत गुरुङ
साँगीतिक समूह ‘नेपथ्य’का मुख्य गायक अमृत गुरुङ

‘आजभोली खेती गरेर फाइदा हुने जमाना छैन,’ गोठको बारेमा उनी बोल्न थाले, ‘तै पनि त्यहाँ पुग्दा मेरी दिवंगत बज्यैसँग सबैभन्दा नजिक महशुस गर्ने भएकाले बाँझो रहन दिएको छैन ।’ गोठमै एउटा टहरो पनि छ । रोपाइँका निम्ति होस् वा आवश्यक सामग्री पु¥याउन गएका बेला होस्, गोठमा पुगेका बेला अमृत त्यसै टहरोमा सुत्छन् । ताजा तरकारीहरु टिप्छन्, रानीपौवास्थित घरदेखि सिर्जनाचोकस्थित बहिनीलगायतका आफन्तकहाँ पु¥याउँछन् र फेरि संगीत कर्मकै निम्ति काठमाडौं फर्किन्छन् । काठमाडौंको धुलो धुँवाले अनुहारमा मास्क लगाएर हिँड्नुपर्ने बाध्यता सबैलाई थोपरेको छ । यसरी मुख छोपिएर पैदलै यात्रा गर्नेहरुको जमातमा अमृत पनि पर्छन् । तरकारीका बजार होस वा किरानाको पसल, भान्छाको जोहो गर्दै हिँड्दा बेला बेलामा अनुहारबाट मास्क हट्छ ।

‘ओहो अमृत दाई…,’ उनलाई चिनिरहेका दर्शक सोध्न थाल्छन्, ‘अर्को कन्सर्ट कता छ ?’ यो कन्सर्ट जता पनि हुनसक्छ । नेपालकै कुनै ठाउँ, कुनै अन्तर्राष्ट्रिय संगीत उत्सव वा विदेशका भब्य भेन्यू । उदाहरणका निम्ति केहि महिनाअघि मात्र ‘नेपथ्य’ले आफूलाई विश्वकै प्रख्यात व्याण्ड प्रस्तुत हुँदैआएको वेम्बले एरेनामा उभ्याएको थियो । बेलायतमा आठहजार भन्दा बढी श्रोता दर्शकका अघिल्तिर । यसरी विदेशमा हजारौं दर्शकलाई उचालेपछि अमृतलाई प्रश्नहरुको ओइरो आइलाग्छ । ‘तपाईले यसरी गाउने उर्जा कहाँबाट प्राप्त गर्नुहुन्छ ?’ यसको श्रेय उनले आफु जन्मे हुर्केको परिवेशलाई नै दिँदैआएका छन् ।

साँगीतिक समूह ‘नेपथ्य’का मुख्य गायक अमृत गुरुङको गायकीमा झुम्दै दर्शकहरु
साँगीतिक समूह ‘नेपथ्य’का मुख्य गायक अमृत गुरुङको गायकीमा झुम्दै दर्शकहरु

‘म पोखरा छेवैको गाउँमा जन्मेको हुँ,’ उनी भन्छन्, ‘त्यसबाहेक पैदलै मुलुकका कुनाकाप्चा पुगेर मैले जुन जीवन र जगत देखेँ त्यसैले मलाई गाउन सिकाएको हो ।’ अमृतका अनुसार उनले देस विदेसमा धेरैपटक खुला कन्सर्ट गरे पनि पोखरामा आजसम्म त्यस्तो शौभाग्य जुरेको थिएन । ‘पहिलोपटक व्याण्डकै संस्थापक दिपक राणाको विहेमा हामीले कन्सर्ट आयोजना गरेका थियौं,’ पोखरामा ‘नेपथ्य’ले आफुलाई प्रस्तुत गरेको इतिहास कोट्याउदै उनी भन्छन्, ‘त्यसपछि पनि करिब ३–४ पटक सभागृहमै आयोजना भए ।’ यसपटकको कन्सर्ट भने अघिल्ला प्रस्तुतीभन्दा एकदमै बेग्लै हुने उनी बताउँछन् ।

त्यसो त स्टेजमा गाउँदा होस् वा खुला आकाशमुनि, जता प्रस्तुत गर्दा पनि टोलीको संरचनामा खासै फरक हुँदैन । सँधैजस्तै किबोर्डमा सुरज, ड्रमसेटमा ध्रुव, बेस गितारमा सुविन, गितारमा निरज र मादलमा शान्तिको साथ अमृतलाई रहनेछ । तर, केहि सय दर्शक नभइ हजारौं दर्शकका निम्ति प्रयोग भएका बत्ती, साउण्ड सिस्टम र मल्टिमिडियाको प्रयोगले फरक त पक्कै पार्ने उनको भनाइ छ । ‘यसरी ‘नेपथ्य’ले पहिलोपटक आफ्नै ठाउँमा खुला आकाशमुनि गाउन थालेको छ,’ उनी भन्छन्, ‘चारैतिर पर्खाल होइन, म जुन हिमाल हेरेर हुर्के त्यसको ठीक अगाडि उभिएर गाउँदैछु ।’

पोखराको प्रदर्शनी केन्द्रस्थित मैदानमा उफ्रिन आतुर अमृतको व्यग्रता कुराकानी अवधिभर महशुस गर्न सकिन्थ्यो । ‘घर हाम्रो पोखरा… भन्दै आएका छौं,’ फुल्दैगरेको कपाल र जुँगाको बीचमा अडिएको ‘गान्धी चश्मा’ सम्हाल्दै अन्तिममा उनैले प्रश्न गरे, ‘घर जानेबेलाको आनन्द कस्तो हुन्छ थाहा छ हैन ?’

कमेन्टहरु
Loading...