नेपालमा पानीजहाज चलाउन कार्यालय खोल्ने सरकारको निर्णय

काठमाडौं, ३ माघ /सरकारले पानी जहाज चलाउनका लागि कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरेको छ । मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाल पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले कार्यालयमा उपसचिवले नेतृत्व गर्ने गरि १६ जनाको दरबन्दी रहने जानकारी दिए । उनले कागजको पानीजहाज होइन साँच्चै पानीजहाज चलाउन कार्यालय स्थापना गर्ने बताए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानीजहाजको टिकट पाउने काउन्टर खुल्ने बताएका थिए ।

प्रतिनिधि सभाको बैठकलाई पुस २२ गते सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समयअघि पानीजहाज चलाउँछु भन्दा कागजका पानीजहाज बनाएर उडाउने अहिले फेरि खै पानीजहाजको टिकट कहाँ पाइन्छ भनेर सोध्न थालेको आफूले सुनेको बताएका थिए ।

यसअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओली पुस १६ गतेदेखि कोशीमा पानीजहाज चल्ने भएकाले त्यसमा यात्रा गर्न निम्तो दिएका थिए । पुस १६ गते पानीजहाज चल्ने नभएपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यंग र आलोचना गरिएका थिए ।

कमेन्टहरु
Loading...