पोखरामा नेपाली खाना महोत्सव

पोखरा, ९ असार /रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले नेपाली खानाको एकदिने महोत्सव गर्ने भएको छ । पोखरामा पहिलो पटक नेपाली फुड फेष्टिबल– २०७६ आयोजना गर्न लागिएको रेवान पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

फेवाताल किनार बाराहीघाट चौरमा असार १३ गते महोत्सवको आयोजना गर्न लागेको रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए । ‘दाल, भात, तरकारी र टिमुरको अचार सहितको खाना संसारको कुनै अर्काे भान्छामा पाक्दैन’ उनले भने ‘नेपालमा पाक्छ र थकाली खानाको नामले चिनिन्छ । मुस्ताङको सिमीको स्वाद बेजोड हुन्छ ।’

उनले संसारकै सबैभन्दा अग्लो ठाउँमा फल्ने जुम्ली मार्सी धानको भातको समेत स्वाद लिन पाइने उनले बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाली खानाको प्रर्वद्धन, ब्रान्डिङ र बजारीकरण गर्ने उद्देश्यले नेपाल खाना महोत्सवको आयोजना गर्न लागेको रेवान पोखराका महासचिव गणेश थापाले जानकारी दिए ।

शुक्रबार ५ बजे देखी शुरु हुने महोत्सवमा साँगीतिक प्रस्तुती समेत रहने उनले बताए । महोत्सवलाई आगामी वर्षहरुमा निरन्तरता दिने रेवानले जानएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा हुन लागेको महोत्सवमा थकाली, नेवारी, गुरुङ र थारु जातिका खाना तथा केराका परिकारहरुको छुट्टाछुट्टै स्वाद लिन सकिने थापाको भनाई थियो ।

महोत्सवमा ५ वटा स्टल रहनेछन् । पत्रकार सम्मेलनमा रेवान पोखराका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली लगायतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...